गीतकार संघको विशेष सांगीतिक कार्यक्रममा गुञ्जिए स्रष्टाहरू

सात लाख रुपैयाँ उपचार कोषलाई सहयोग गर्ने वचनबद्धता

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । गीतकार संघ नेपालको विशेष सांगीतिक कार्यक्रममा स्रष्टाहरू गुञ्जिएका छन् । गीतकारको उपचार कोषलाई सहयोगार्थ संघले शुक्रबार सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)मा विशेष सांगीतिक कार्यक्रम सम्पन्न गरेको हो । नेपाली गीति लेखनलाई यहाँसम्म ल्याउने र अगाडि बढाउन गीतकार संघ नेपालले राष्ट्रिय स्रष्टा सम्मानबाट सम्मानित गीतकारहरूको गीत प्रत्यक्ष बाजामा प्रस्तुत गरिएको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको प्रमुख आतिथ्यता भएको कार्यक्रममा गीतकारहरू रत्न शमशेर थापा, कालीप्रसाद रिजाल, किरण खरेल, यादव खरेल, भैरवनाथ रिमाल ‘कदम’ नगेन्द्र थापा, राजेन्द्र थापा, प्रेम विनोद नन्दन, विश्व वल्लभ, शिवशंकर थापा, र दुर्गालाल श्रेष्ठका सदाबहार गीतहरू प्रस्तुत गरिएको थियो ।

‘जाग लम्क चम्क’, बोलको गीत दुर्गा परियार, सुनिल राई, रूपक चौधरी, मनामा बिराई, कैलाश विकले प्रस्तुत गर्नुभएको थियो भने ‘बनै खायो डढेलोले’ बोलको गीत उदय सोताङले प्रस्तुत गर्नुभएको थियो । यम बराल ‘भन्थिन मेरी उनी’ बोलको गीत गाउनुभएको थियो ।

त्यसैगरी ‘वसन्त नै बस्न खोज्छ यहाँ’ बोलको गीत मनामा बिराईले प्रस्तुत गर्नुभएको थियो भने तारा थापाले ‘गैरी खेतको’ बोलको गीत प्रस्तुत गर्नुभएको थियो । ‘उदास मेरो’ बोलको गीत तारा श्रीष मगरले प्रस्तुत गर्दा सुजाता बर्माले ‘पोहोर साल खुसी’ गाउनुभएको थियो । रूपक चौधरीले ‘चिनारी हाम्रो धेरै पुरानो’ गीत प्रस्तुत गर्दा ‘जुन फूल मैले’ गीत सञ्जय तुम्रुकले गाउनुभएको थियो । त्यस्तै, सञ्जय र तारा थापाले ‘ज्यानको माया’ गीत प्रस्तुत गर्नुभएको थियो भने दुर्गा परियारले भाग्यले खुसी बोलको गीत गाउनुभएको थियो । श्रेयसी चेम्जोङले ‘फूलको आँखामा’ गीत प्रस्तुत गाउनुभएको थियो ।

अशोककुमार राईले संगीत संयोजन गरेको कार्यक्रममा शिलाबहादुर मोक्तानले एकर्डिएन, मनोहर सुनाम, केशव सुनाम, मोहन कार्की ढली, रविन कार्की ढलीले भ्वाइलिन, गोपाल देव गौतमले बाँसुरी, दीपक थापाले रिदम गितार, देव राईले बेस गितार, भरत बुढाथोकीले तबला, पोषण घर्तीले मादल, नरेश प्रजापतिले ढोलक, शशी विक्रमले ड्रम प्याड र राहुल भुजेलले किबोर्ड सम्हाल्नु भएको थियो । उक्त कार्यक्रममा विभिन्न व्यक्तिद्वारा करिब सात लाख रुपैयाँ कोषलाई सहयोग गर्ने वचनबद्धता गरिएको संघले जनाएको छ ।

ADVERTISEMENT

संस्कृति मन्त्री किरातीले आफ्नो बुबाको पेन्सन ६० हजारमा आफ्नो एक महिनाको तलब ४० हजार थपेर उपचार कोषलाई एक लाख सहयोग गर्ने घोषणा गर्नुभएको थियो भने गायक कृष्ण कँडेलले इन्द्रेणीका तर्फबाट तीन लाख सहयोग कोषलाई सहयोग गर्ने घोषणा गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री किरातीले स्रष्टा सर्जकको हित र प्रतिलिपि अधिकार ऐनको पूर्ण कार्यान्वयनका लागि आफूले मन्त्रालयको तर्फबाट गर्नुपर्ने कार्य गर्न तत्पर रहेको बताउनुभएको थियो । स्रष्टा सर्जकहरूको बौद्धिक सम्पत्तिको संरक्षण गर्नु राज्यको दायित्वभित्र पर्ने मन्त्री किरातीको भनाइ थियो ।

कार्यक्रमको उद्देश्यबारे संघका अध्यक्ष वसन्त वित्यासी थापाले प्रकाश पार्दै स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको उद्घोषण हरिराम पौडेलले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?