हिमाचलमा बाढी र पहिरोका कारण ६१ जनाको मृत्यु

Read Time = 3 mins

नयाँदिल्ली । भारतको उत्तरी पहाडी राज्य हिमाचल प्रदेशमा भारी वर्षाका कारण आएको बाढी र पहिरोका कारण पछिल्लो दुई दिनमा मृत्यु हुनेको संख्या ६१ पुगेको छ । सिमलाको समर हिल क्षेत्रमा गएको भीषण पहिरोले क्षति पुर्‍याएपछि पछिल्लो दुई दिनमा जारी खोजी तथा उद्धार कार्यमा १२ जनाको शव फेला परेको छ भने नौजना अझै हराइरहेका छन् ।

भारी वर्षाका कारण काँगडा जिल्लामा बाँध भत्किने जोखिममा परेको छ । यसले तल्लो क्षेत्रमा बाढीको चिन्ता बढाएको छ । बाढीको जोखिममा परेका आठ सयभन्दा बढी मानिसलाई तल्लो इलाकाबाट सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ र कठिन भूगोलमा बाढीको पानीमा फसेका करिब ८० जनालाई उद्धार गरिएको छ ।

भारतीय वायु सेनाका डुंगा र हेलिकोप्टर कठिन भू-भागहरूमा प्रभावितको उद्धारका लागि सेवामा खटिएका छन् । हिमाचल राज्यको राजधानी सिमलाका साथै मण्डी, कुल्लु र काँगडा जिल्ला पनि सबैभन्दा बढी प्रभावित भएका छन् ।

ADVERTISEMENT

पछिल्लो समयसम्म करिब तीन सडक र राजमार्गको यातायात प्रभावित भएको छ । एक सय वर्षभन्दा पुरानो सिमला–कालका रेल मार्गको लिक केही स्थानमा उखेलिएको छ, पुलहरू भत्किएका छन् भने ट्रान्सफर्मर ढलेका वा बिग्रिएका छन् । धेरै खानेपानी परियोजना पनि प्रभावित भएका छन्, जसले गर्दा राज्यको सामान्य जनजीवन अस्तव्यस्त भएको छ ।

हिमाचल राज्य सरकारी अधिकारीले लगातारको वर्षाका कारण ७२० घर र २४१ पसल पूर्णरूपमा क्षतिग्रस्त भएको र करिब सात हजार १६१ घरमा आंशिक क्षति पुगेको पुष्टि गरेका छन् ।

राज्यका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुका अनुसार राज्यलाई एक सय अर्ब भारतीय रुपैयाँ (करिब १.२ अर्ब अमेरिकी डलर) बराबरको क्षति भएको थियो र प्रभावित क्षेत्रमा संरचना पुनः निर्माणका लागि कम्तीमा एक वर्ष लाग्ने बताइएको छ । रासस/सिन्हृवा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज