सर्लाही । सर्लाहीको दक्षिण–पूर्वी भेगस्थित सीमावर्ती क्षेत्रमा पर्ने पर्सा गाउँपालिकाले निजी तथा सार्वजनिक जग्गामा वृक्षारोपण कार्यको सुरुवात गरेको छ ।
“सबसे बडा धन, बेटी और वनˮ भन्ने मूल नाराका साथ गाउँपालिकाले आजबाट पालिकाभित्रका वासिन्दालाई निःशुल्क रुपमा विरुवा बाँड्न सुरु गरेको हो । आज पहिलो दिन वडा नं १ बाट स्थानीय वासिन्दालाई अमेरिकन साल, अमलालगायत जातका विरुवा वितरण गरी यो अभियानको सुरुवात गरिएको सोही वडाका वडाध्यक्ष सतेन्द्र रायले जानकारी दिनुभयो ।
रायका अनुसार एक जना स्थानीय बराबर पाँचदेखि १० वटासम्म विरुवा बाँडिएको छ । वडा नं १ का करिव दुई सय परिवारले आज वडा कार्यालयमा आएर निःशुल्क रुपमा विरुवा लगेका छन् । गाउँपालिका अध्यक्ष धीरेन्द्र यादव (विस्पत), प्रमुख प्रशासकीय अधिकृत सुरेशकुमार यादवलगायत भएर स्थानीयलाई निःशुल्क विरुवा उपलब्ध गराउने कार्यको शुभारम्भ गर्नुभयो । अब क्रमैसँग छ वटै वडामा विरुवा बाँड्ने योजना रहेको पर्सा गाउँपालिकाले जनाएको छ ।
सागरनाथ वन विकास परियोजनासँग समन्वय गरी गाउँपालिकाले पहिलो पटक पालिकाभित्रका वासिन्दालाई निःशुल्क रुपमा विरुवा बाड्न सुरु गरेको हो ।
बोर्डर क्षेत्रमा पर्ने आफ्नो पालिकाभित्र जङ्गल क्षेत्र नपर्ने र पछिल्लो समय अन्य ठाउँमा भएकै वन समेत विनाश हुँदा जलवायुमा परिरहेको असरलाई मध्यनजर गरी गाउँपालिकाले रुख, विरुवाको संरक्षण गर्नु आवश्यक छ भन्ने सन्देश दिन यो कार्यक्रम ल्याएको अध्यक्ष विस्पतले बताउनुभयो ।






