रुद्री र राज्य :

Read Time = 13 mins

✍️ तिलकप्रसाद लुइँटेल

सहस्तोमाः सहछन्दस आवृतः सहप्रमाऋषयः सप्तदैव्याः ।
पूर्वेषाम्पन्थामनुदृश्यधीराअन्वालेभिरेरथ्योनरश्मीन् । १.४ ।
सात दैव्यहरूले स्तोमसहित, छन्दसहित, प्रमाणसहित विस्तृत मार्ग अन्वेषण गरे । पहिलेका विद्वान् ऋषिहरू त्यस मार्गलाई अनुसरण गर्दै लगाम लिएका रथीहरू जसरी हिँड्न थाले ।

अष्टाध्यायी रुद्रीको पहिलो अध्यायको चौथो मन्त्र यही हो । यजुर्वेद संहिताको ३४औं अध्यायको ४९औं मन्त्र पनि यही हो । वेदमा यस मन्त्रका ऋषि यज्ञ प्राजापत्य हुन् भन्ने छ । यज्ञ दैवी कर्म हुँदै हो, साथै सबै अन्य सत्कर्म पनि यज्ञ नै हुन् । प्रजापतिका सन्तानलाई प्राजापत्य भन्न मिल्छ । कर्मसँगै कर्ताको उपस्थिति भएपछि मात्रै कर्म चिनिन्छ । उनै यज्ञ प्राजापत्य ऋषिबाट यस मन्त्रको साक्षात्कार र उच्चारण भएको मानिन्छ । यस मन्त्रका देवता ऋषिसृष्टि हुन् भनिएको छ । मन्त्रका ऋषि नै यज्ञ प्राजापत्य हुनाले यज्ञबाट कर्मको बोध हुन्छ र कर्मका लागि कर्ता आवश्यक हुन्छ भन्ने स्पष्ट नै छ ।

ऋषिसृष्टि भन्ने नाम भएका कारण ती ऋषिको कर्म पनि सृष्टि नै हो भन्ने अनुमान गर्न सकिन्छ । यस मन्त्रमा स्तोम, छन्द, सात दैव्यले देखाएको प्रामाणिक र विस्तृत बाटो र पूर्वज ऋषिहरूले त्यसको अनुसरण गरेको चर्चा रहेको छ । यस मन्त्रको छन्द त्रिष्टुप् हो । त्रिष्टुप् छन्दलाई तीन ताप शमन गर्ने मानिएको छ । त्रिष्टुप् छन्दमा ११ अक्षरका दरले चार पङ्क्ति हुन्छन् र जम्मा ४४ अक्षर हुन्छन् ।
मन्त्रमा सात दैव्यहरूको चर्चा आएको छ । सात संख्यावाचक शब्द वेदले उल्लेख गर्दा अङ्कगणितको सङ्केत वेदमा देखियो । बार सातवटा छन् र तिनका नाम मानिसले राखेका होलान् । मौलिक रङ सातवटा भन्ने मानिसले नै पत्ता लगाएका होलान् । यी रङहरू सूर्यको किरणमा छन् भन्ने पनि मानिसले नै पत्ता लगाएका होलान् तर ती रङ मानिसले बनाएका होइनन् र कसले बनायो भन्ने वैज्ञानिक भेटिएका छन् कि छैनन् त्यो थाहा भएन । तर यसरी वभिन्न सन्दर्भमा मेल खाने गरी वेदमा सात सङ्ख्याको प्रसङ्ग आउँछ । व्यावहारिक रूपमा मेल खाने गरी चर्चा हुनुले वैज्ञानिकता दर्साउँछ । व्यवहारले सिद्ध भएपछि त्यसलाई नै वैज्ञानिक मान्न सकिन्छ । विज्ञान मानिसका लागि हो, अतः व्यवहारमै नआउने विज्ञान हुन सक्दैन ।

इन्द्रलाई शासक, ब्रहृमालाई सर्जक, व्यासलाई सविस्तार प्रस्तोता भन्ने हो भने सप्तर्षिलाई चिन्तकर्ताको समूह अर्थात् सात सदस्यीय विशेषज्ञको टोली मान्न पनि सकिएला । मन्त्रले दैव्य भनेको छ । दैवज्ञ भनेर ज्योतिषि वा भविष्यवक्तालाई पनि भनिन्छ ।

यहाँ प्रसंग सात दैव्यहरूको छ । दैव्य भनेको दिव्य वा रहस्यमय कुरा जान्ने हो । अहिलेको बुझाइमा रहस्यमय कुराको अन्वेषण गर्ने भनेका चिन्तक, दार्शनिक, वैज्ञानिकहरू हुन् । शास्त्रज्ञहरूमा सप्तर्षि भनेर चर्चा गरिएका यिनीहरू नै हुन् भन्ने मानिन्छ । हरेक सृष्टिकल्पमा ब्रहृमा, इन्द्र, सप्तर्षि, व्यास आदि फेरिन्छन् भन्ने पनि पुराणहरूमा पाइन्छ । यी ब्रहृमा, सप्तर्षि आदि नाम वा पद प्रतीकात्मक अर्थमा प्रयोग भएका पनि हुन सक्छन् ।

इन्द्रलाई शासक, ब्रहृमालाई सर्जक, व्यासलाई सविस्तार प्रस्तोता भन्ने हो भने सप्तर्षिलाई चिन्तकर्ताको समूह अर्थात् सात सदस्यीय विशेषज्ञको टोली मान्न पनि सकिएला । मन्त्रले दैव्य भनेको छ । दैवज्ञ भनेर ज्योतिषि वा भविष्यवक्तालाई पनि भनिन्छ । भविष्यवाणी गर्नका लागि उच्च अध्ययन, विधि, विश्लेषणको क्षमता, अनुभव, सम्भावनाको सही निष्कर्ष निकाल्न सक्ने क्षमता आदि विविध विशेषता भएपछि मात्रै सम्भव हुन्छ ।

मन्त्रमा सप्तदैव्यले स्तोम सहित, छन्द सहित, प्रमाण सहित विस्तृत मार्ग अन्वेषण गरे भन्ने उल्लेख भएको छ । स्तोम भनेको यज्ञ वा यज्ञीय विधि हो । देवतासम्बन्धी यज्ञहरू पनि श्रौतयज्ञ, स्मार्तयज्ञ भनी विविध थरी हुन्छन् र यिनको विधि पनि आ-आफ्नै छ । लोकहितका लागि गरिने पवित्र कर्मलाई पनि यज्ञ भनेको पाइन्छ । त्यसो हुनाले ती सात दैव्य वा मार्गनिर्देशकका समूहले जुन कर्म गरे त्यो विधिसम्मत थियो, त्यही यज्ञ भयो वा यज्ञीय विधि भयो भन्न सकिन्छ । पछिल्लो पुस्तामा समेत जुन कुरा चलनमा जीवन्त रहन्छ, त्यसको सुस्पष्ट नियम हुन्छ ।

ADVERTISEMENT

त्यसैले मन्त्रमा छन्दसहितको पनि भनिएको छ । उदाहरणका लागि पतिपत्नी बनेर पारिवारिक जीवन निर्वाह गर्नेलाई पनि विवाहित भनिन्छ र विवाहका पाइलैपिच्छेका सबै नियम पूरा गरेर पतिपत्नी बन्नुलाई पनि विवाहित नै भनिन्छ । प्रचलन दीर्घकालका लागि टिकाउ बनाउन नियमको भूमिका रहन्छ । ती सप्तदैव्यले विधि पनि तयार गरे, विधिलाई व्यवस्थित गर्ने नियम पनि बनाए । ती विधि र ती नियम अनुसार जुन मार्ग बनाए त्यो सफल भयो । जुन सफल हुन्छ, प्रामाणिक पनि त्यही हो । प्रयोग गरेर प्रमाणित हुन्छ र प्रमाणित भएपछि दीर्घकाल चल्छ ।

मन्त्रका अनुसार विधाताले यसरी संसारको सृष्टि गरेका हुन् भनेर अर्थ लगाइएको छ । शास्त्रमा अप्रामाणिक नहुने र शास्त्रवेत्ता धेरै विद्वान्हरूले अर्थ लगाएका हुनाले त्यो अर्थ मान्य छ । साथै राज्यमा कुनै नयाँ योजना बनाउनुपर्दा पनि सम्बन्धित विषयका विज्ञका समूहबाट अध्ययन, अनुसन्धान, अन्वेषण गरेर त्यसको रणनीति र कार्यनीति तयार गर्न लगाएपछि उनीहरूले बनाएको नीतिको निर्देशनलाई सविस्तार व्याख्या विश्लेषण भएर राज्यका तर्फबाट अनुमोदन भयो भने मात्रै सम्बन्धित क्षेत्रका दक्ष जनशक्तिले पहिले बनाएको खाका अनुसार काम गरेर परियोजना पूरा गर्छन् ।

वेदमा उल्लिखित कुरो जुन रूपमा आएको छ, आजको राज्य व्यवस्था पनि उस्तै देखिन्छ । हाम्रो मात्रै होइन, वेदसँग पहिलेदेखिको सम्बन्ध नगाँसिएका राज्यहरूका पनि विभिन्न क्षेत्रका कामकाज सायद आज यसै रूपमा हुने गर्छन् ।

यसरी हेर्दा यस मन्त्रमा देवपूजाको विधानसँगै लोकव्यवहारका निमित्त पनि सङ्केत गरेको देखिन्छ । अर्थात् वेदमा उल्लिखित कुरो जुन रूपमा आएको छ, आजको राज्य व्यवस्था पनि उस्तै देखिन्छ । हाम्रो मात्रै होइन, वेदसँग पहिलेदेखिको सम्बन्ध नगाँसिएका राज्यहरूका पनि विभिन्न क्षेत्रका कामकाज सायद आज यसै रूपमा हुने गर्छन् ।

मन्त्रमा पहिलेका विद्वान् ऋषिहरूले त्यस प्रकारको विधिसम्मत, व्यवस्थित, प्रक्रियागत र सुविस्तृत मार्गलाई अनुसरण गरेको कुरा उल्लेख छ । ऋषिहरू वेदका मन्त्रद्रष्टा हुन् वेदमन्त्रलाई अकाट्य दैवी वाणी मानिएको छ । ऋषिहरूले तिनै दिव्य वाणीहरू साक्षात्कार गरेका हुन् भन्ने पनि मानिएकै कुरा हो । अध्ययन, साधना र चिन्तन मननको चरम अवस्थामा नपुगीकन कुनै क्षेत्रको पनि निर्णायक टुंगामा पुगेर सर्वमान्य पथ स्थापना गर्न सकिँदैन ।

त्यसो हुनाले उनीहरू यी सबै पक्षमा परिपक्व र परिपुष्ट थिए भन्ने स्पष्ट हुन्छ । त्यसरी मार्ग स्थापित गर्ने ऋषिहरूले संसारमा सृष्टिको प्रयोजनका लागि मार्ग स्थापना गरेका हुन् भने त्यही मार्ग लोकजीवनका लागि पनि स्थापना गरेका हुन् । लोकजीवनका लागि विधिको सुस्पष्ट र विस्तृत मार्ग स्थापना गरिएका कुराले वेदलाई केवल पारलौकिक मुक्तिको शास्त्र मात्रै मान्नुभन्दा यस लोकको सुखी जीवनको मार्ग पनि भन्न सकिन्छ । लौकिक जीवनको वृत्ति पनि लौकिक नै हुन्छ । लौकिक जीवनको नियन्त्रक वा शासक राज्य हो । त्यसैले सुन्दर राज्यको व्यवस्था पनि वेदले गरेको छ ।

सात दैव्यले देखाएका बाटामा लगाम लिएका रथीहरू जसरी नै हिँड्न थालिएको कुरो मन्त्रले बताएको स्मरणीय छ । यसमा माथिको प्रसङ्ग पनि थोरै गाँस्न मिल्छ । मन्त्र साक्षात्कार गर्ने गरी शिक्षा आर्जन गर्न राज्य व्यवस्था नभईकन वनमा नै एक्लै बसेर साध्य हुन्छ जस्तो पनि लाग्दैन । फेरि उदाहरणमा रथहरूको लहरलाई लगामले नियन्त्रण गर्दै हिँडेको कुरा पनि देखिएको छ । परमात्माको आराधना गर्नकै लागि रथीहरूले बाटो पहिल्याए जसरी ज्ञानमार्गमा हिँडेको मान्दै आइएको छ भने उसरी नै लोकजीवनको यात्रामा पनि विधिसम्मत तरिकाले हिँडे भन्न पनि मिल्दो नै देखिन्छ ।

किनभने लोकयात्रा नभई जीवन हुँदैन र जीवन नभए भगवान्को उपासना पनि सम्भव हुँदैन । लोकजीवन सामाजिक नै हुन्छ र राज्यको व्यवस्थाले व्यवस्थित गराएकै पनि हुन्छ । सृष्टि भएपछिका व्यवहारकै कुरा हो भन्ने पनि मन्त्रमा रहेका रथ, लगाम, बाटो आदिबाट अनुमान गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?