काठमाडौं । साहित्यकार तथा सञ्चारकर्मी ‘जदौ’ दाहाल यज्ञनिधिको नाममा स्थापना भएको पुरस्कार साहित्यकार निनु चापागाईंलाई प्रदान गरिएको छ।
दाहाल यज्ञनिधिको पाँचौ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि इतिहासकार ज्ञानमणि नेपालले एक लाख ५० हजार राशिको पुरस्कार साहित्यकार चापागाईंलाई प्रदान गर्नुभएको हो ।
सोही अवसरमा दाहाल यज्ञनिधि बालप्रतिभा पुरस्कारबाट तीन जना छात्र छात्रा सम्मानित हुनुभएको छ। दरबार हास्कुलको कक्षा ८ मा उर्तिण हुँदा नेपाली विषयमा सबैभन्दा बढी जीपीए ल्याउने छात्रतर्फ निखिलकुमार साह (३.८० प्रतिशत) र छात्रतर्फ समान लुनिभा कार्की (३.३३प्रतिशत) सम्मानित भएका हुन्। २० हजार राशिको यो पुरस्कार संयुक्त रुपमा प्रदान गरिएको हो।
बिहीबार दाहाल यज्ञनिधिको व्यक्तित्व र कृतित्व केन्द्रित अन्तरक्रिया सम्पन्न भएको थियो। अन्तरक्रियामा प्राडा वद्रीविशाल भट्टराई, प्रमोद प्रधान, डा. रमेश शुभेच्छु र दिनेश लुइटेलले कार्यपत्र प्रस्तुत गर्नुभयो। कार्यक्रममा गायिका लोचन भट्टराईले दाहाल यज्ञनिधिको गीत गाउनुभएको थियो भने देवकुमारी लुइटेलले कविता वाचन गर्नुभयो ।
सदनका अध्यक्ष सुधा दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकार प्राडा. माधव पोखरेल, डा. विष्णु राई, प्रल्हाद पोखरेल, पत्रकार पुरुषोत्तम दाहालगायत नेपाली साहित्य र कला क्षेत्रका विशिष्ट व्यक्तित्वको सहभागिता थियो।
‘दाहाल यज्ञनिधि सुधा सदन’ नाममा ५१ लाख रूपैयाँको अक्षयकोशमा राखिएको छ। अक्षयकोशबाट प्राप्त हुने ब्याजबाट हरेक वर्ष एक जना विशिष्ट व्यक्तित्वलाई सम्मान गरिँदै आएको छ। बालप्रतिभाका रुपमा दुई प्रतिभालाई सम्मान गरिँदै आएको छ।
वि.सं. २०१० साल साउन ८ गते खोटाङमा जन्मिनुभएका नेपाली साहित्य र पत्रकारिता क्षेत्रका विशिष्ट प्रतिभा दाहाल यज्ञनिधिको २०७५ साउन २५ गते निधन भएको थियो। उहाँका ।‘जदौका निबन्ध’ २०६९), जदौका ३४ निबन्ध (२०७६), खुला आकाश, गीति एल्बम (२०७६), दाहाल यज्ञनिधिका कविता (२०७८), जदौ (२०७६) जीवनी र व्यक्तित्व केन्द्रित कृति प्रकाशित छन्।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts