अलैचीका बोट मर्न थालेपछि किसान चिन्तित

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 5 mins

बागलुङ । बागलुङको ताराखोला गाउँपालिका-२ अर्गलमा वि.सं. २०७६ सालदेखि यहाँका कृषकले व्यवसायिक अलैची खेती गर्दै आएका छन् । सुरुमा अलैचीका विरुवा हुर्किदै गएपछि उत्साहित बनेका कृषक अहिले निराश बनेका छन् । अलैचीले फल दिने बेला सुकेर मर्न थालेपछि कृषक चिन्तित बनेका छन् । चार वर्ष अगाडि गाउँमा फाट्टफुट्ट अलैची खेती गरे पनि व्यवसायिक रुपमा भने गरिएको थिएन । गाउँपालिकाले पूर्वी नेपालबाट विरुवा लिएर अनुदानमा दिएपछि कृषक व्यवसायिक रुपमा अलैची खेती गर्न थालेका हुन् ।

असार महिनादेखि अलैची फूल्न थालेपछि बोट सुक्न थालेको हो । अहिलेसम्म सयौँ बोट सुकेर नष्ट भएका छन् । अपरिचित रोगबाट अलैची मर्न थालेपछि कृषकहरु सशंकित बनेका छन् । अघिल्लो वर्ष केही बोट सुक्ने समस्या देखिए पनि धेरै समस्या नआएको स्थानीय कुलबहादुर घर्ती मगरले जानकारी दिनुभयो । आफूले दुई रोपनी क्षेत्रफलमा स्थानीय जात र नौँ रोपनीमा भार्लाङ जातको गरि ११ रोपनी क्षेत्रफलमा अलैची लगाएको बताउनुभयो । त्यस मध्ये हालसम्म २० प्रतिशत बोट सुकेर नष्ट भएको उहाँले बताउनुभयो ।

ताराखोला गाउँपालिका-२ अर्गल गाउँका खोला किनारमा धेरै किसानले अलैची लगाएको भन्दै सबैको अलैचीको बोट सुक्दै गएको घर्ती मगरले बताउनुभयो । गाउँमा अलैची राम्रो हुने संभावना देखेपछि आफूले चार लाखमा जग्गा खरिद गरि विरुवा लिएर लगाएको भन्दै अहिले समस्या आएपछि लाखौको नोक्सान हुन थालेको उहाँको भनाइ छ । अलैचीमा समस्या देखिएपछि गाउँपालिकाको कृषि प्राविधिकलाई जानकारी गराएको घर्ती मगरले बताउनुहुन्छ ।

“गाउँमा पहिले स्थानीय जातको अलैची लगाएको थिएँ, त्यो निकै राम्रो भएको थियो, फल पनि राम्रो दिएको थियो, त्यही देखेर उन्नत जातको बिउ पूर्वबाट लिएर लगाइयो, केही समय राम्रो भएको थियो, अहिले समस्या आयो” घर्ती मगरले भन्नुभयो-“एघार रोपनी मध्य दुई रोपनीमा स्थानीय जातको र नौँ रोपनीमा बाहिरबाट ल्याएर लगाए, पोहोर सालनै केही बोट मरेका थिए, अहिले धेरैमा यो समस्या देखियो, गाउँमा अरु किसानले लगाएको अलैचीमा पनि यही समस्या छ, के भएर मरे ?, अब कसरी अरु बिरुवा बचाउने भन्ने चिन्ता छ ।”

ADVERTISEMENT

कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले ढुसीजन्य रोगका कारण अलैचीका बोट मर्न थालेको बताउनुभयो । उहाँले ताराखोला मात्रै नभएर अलैची खेती हुने जिल्लाको काठेखोला र बरेङमा पनि यो समस्या आएको बताउनुभयो । सुख्खाको कारणले अलैचीमा ढुसीजन्य रोग लाग्ने र बोट मर्ने भट्टराईको भनाई छ । यो रोगका कारण जिल्लामा पछिल्लो केही वर्ष यता उत्पादनमा कमी आउन थालेको उहाँ बताउनुहुन्छ ।

“किसानले अलैची बगैचा बनाउँदा सुख्खा ठाउँ चयन गर्नु हुँदैन, जहाँ चिस्यान छ, पानीको पर्याप्त उपलब्धता छ, त्यहाँ मात्रै यसको खेती गर्नु पर्ने हुन्छ, ताराखोलामा अहिले यो समस्या आयो, काठेखोला र बरेङमा पहिलेदेखि नै समस्या थियो,” प्रमुख भट्टराईले भन्नुभयो - “सुख्खाको कारण समस्या भएको हो, अब किसानले नियमित सिंचाइको व्यवस्था मिलाउनु पर्छ, सिंचाइको व्यवस्थापन भयो भने समस्या समाधान हुन्छ ।”

प्रमुख भट्टराईका अनुसार बागलुङमा एक सय हेक्टर जमिनमा खेती हुने गरेको छ । जिल्लामा हरेक वर्ष ३८ मेट्रिक टन उत्पादन हुने र किसानले राम्रो मूल्य पाएको उहाँको भनाइ छ । अलैची खेती गर्नु पूर्व यस सम्बन्धी सामान्य ज्ञान लिन जरुरी रहेको भट्टराई बताउनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?