म्याग्दी । म्याग्दीका छ वटै स्थानीयतहहरुले खेल क्षेत्रको प्रवर्द्धन गर्न ‘एक गाउँ एक खेल मैदान’ अभियान थालेपछि गाउँगाउँमा खेल मैदान निर्माण हुनुका साथै टोलटोलमा खेल प्रतिको आकर्षण बढेको छ ।
सदरमुकाम नजिकमा मात्रै होइन जिल्लाका ग्रामीण क्षेत्रहरुका टोलटोलमा समेत खेलाडीहरु उत्पादन भइरहेका स्थानीय तहका जनप्रतिनिधिहरुले बताएका छन् ।
जिल्लाको बेनीनगरपालिकासहित धौलागिरि, अन्नपूर्ण, मालिका, रघुगङ्गा र मङ्गला गाउँपालिकाले वडावडामा खेल मैदान निर्माण गरिएको छ । कतिपय वडामा स्थानीय युवा क्लब र विदेशमा रहेका गाउँका युवाको सहयोगमा खेल मैदान निर्माण भएका छन् ।
प्रदेश सरकार र स्थानीयतहको लगानीमा पनि म्याग्दीमा खेल मैदान निर्माण भएका हुन् । फराकिला मैदानमा गाउँमा महिनै पिच्छे खेल प्रतियोगिता आयोजना हुन थालेपछि खेलाडीको प्रतिभा प्रष्फुटित हुनुका साथै उनीहरुको खेलप्रतिको रुचि बढेको मालिका गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष मिम पुनले बताउनुभयो ।
त्यसैगरी बेनी बजारमा निर्माणाधीन म्याग्दीको ‘बेनी मिनि रङ्गशाला’ निर्माण दुई वर्षपछि सम्पन्न भएर सञ्चालनमा आएको छ । बेनीको खुलामञ्चलाई विस्तार र स्तरोन्नति गर्न सञ्चालित योजना यसअघिका दुई आर्थिक वर्षमा बजेट अभावका कारण अधुरो बनेको थियो ।
बेनीनगरपालिका-७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठले अधुरो खेलमैदानको प्यारापिट विस्तार, पर्खाल निर्माण र फिलिङ गर्ने काम सम्पन्न भएको जानकारी दिनुभयो ।
“बेनी नगरपालिकाले विनियोजन गरेको ५० लाख बजेट ठेक्का र गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयबाट आएको आठ लाख बजेटको काम उपभोक्ता समितिमार्फत सम्पन्न गरिएको हो”, उहाँले भन्नुभयो “ठेक्का प्रतिस्पर्धामा हुँदा घटेको १४ लाख बजेट बाट पनि थप कामगर्न पहल गरेका छौं।”
त्यसैगरी बेनी नगरपालिका-२ ज्यामरुककोटको बगरफाँट, भकुण्डे, सानालेख, फापरखेत र गौश्वारामा पनि खेल मैदान निर्माण भएका बेनीनगरपालिका-२ का वडाध्यक्ष यामबहादुर कार्कीले जानकारी दिनुभयो । “हाम्रो वडामा खेल मैदानको कमी छैन, स्थानीय युवाको पहल, विद्यालयमा आउने बजेट, वडाको बजेट र वैदेशिक रोजगारीमा गएका युवाको आर्थिक सहयोगमा वडामा पाँच वटा खेल मैदान निर्माण भएका छन्” वडाध्यक्ष कार्कीले भन्नुभयो ।
त्यसैगरी पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका-५ अर्मनको पिपलबोट स्थित कैलाश फाँटमा म्याग्दी नदी किनारको बगर सम्माएर पालिकास्तरीय खेलमैदान बनाइएको छ । म्याग्दी नदी किनारको बगरमा तटबन्ध सम्माएर खेलमैदान निर्माण गरिएको हो । खेलमैदानको लम्बाइ एक सय २० मिटर र चौडाइ ७१ मिटर छ ।
यस खेल मैदानलाई स्तरोन्नति गरी गाउँपालिकास्तरको खेलमैदान बनाउने तयारी भइरहेको उपभोक्ता समितिका अध्यक्ष श्यामसुन्दर कँडेलले बताउनुभयो । प्यारापिट, घेराबार निर्माण र बीचमा रहेको विद्युत्को पोल विस्थापित गरेपछि खेलमैदान सञ्चालनमा ल्याउन सकिने कँडेलले जानकारी दिनुभयो ।
खेलमैदान निर्माणका लागि गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले एक स्थानीयतह, एक खेलमैदान कार्यक्रममार्फत १५ लाख विनियोजन गरेको थियो ।
मन्त्रालयले उपलब्ध गराएको अनुदानबाट बगर सम्माउनुका साथै म्याग्दी नदीको किनारमा १२० मिटर लामो ग्याबियन पर्खाल निर्माण गरिएको कँडेलले बताउनुभयो ।
यसैगरी जिल्लाका छवटै स्थानीयतहका वडामा खेल मैदान निर्माणले गतिलिन थालेपछि खेलाडीमा उत्साह थपिएको छ । म्याग्दीका फुटबल खेलाडी टेकबहादुर हुमेनले खेल मैदान निर्माण हुन थालेपछि आफूहरुमा उत्साह थपिएको बताउनुभयो । गाउँ नै पिच्छे खेल मैदान निर्माण गर्ने नीतिले शारीरिक तन्दरुस्ती राख्न युवालाई फाइदा पुग्ने बेनीनगरपालिका-६ का कृष्णसिंह बानियाँले बताउनुभयो ।
उता पश्चिम म्याग्दीको मालिका गाउँपालिकाका ग्रामीण क्षेत्रहरुमा पछिल्लो समय भलिबलको क्रेज बढेर गएको दरवाङका खेल प्रशिक्षक तेन्जिङ लामाले बताउनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements