भोजपुर । भोजपुर नगरपालिका वडा नम्वर १२ टक्सारमा रहेको बिमानस्थल जाने सडकको शुक्रवार सरसफाई गरिएको छ । भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेसहितकाे सहभागितामा सडक सरसफाई गरिएको हो ।
इलेक्ट्रोनिक्स ब्यवसायी संघ भोजपुरको आयोजनामा भएको सडक सरसफाई कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्रमुख शरत कुमार थापा क्षेत्री, सशस्त्र प्रहरी बल गुल्म नम्वर ५ का प्रमुख जगत बहादुर दुवाल, जनप्रतिनिधि, ब्यवसायी, नेपाल वायुसेवा निगमका कर्मचारीको सहभागिता रहेको थियो । भोजपुर बिमानस्थल देखि बजारसम्मको सडक सरसफाई गरिएको छ ।
हप्तामा एक दिन सबै मिलेर सामुयिक काम गर्दा जिल्लालाई पनि फाइदा हुने नेपाल बायु सेवा निगम भोजपुरका प्रमुख प्रकाश खड्काले बताउनुभयो । प्रमुख खड्काले भन्नुभयो, “काम गर्न युवा उमेर नै चाहिदैन, आफ्नो सोच बदलौ देश आफै बदलिन्छ ।” कालोपत्रे सडक भएर पनि सरसफाई भई नरहेको अवस्थामा आफुहरुको पहलमा सरसफाई कार्यक्रमको आयोजना गरिएको इलेक्ट्रोनिक्स ब्यवसायी कौशल श्रेष्ठले बताउनुभयो ।
यता भोजपुर उद्योग बाणिज्य संघ भोजपुर र धार्मिक सम्पदा संरक्षण समिति भोजपुरको आयोजनामा सिद्धकाली मन्दिर क्षेत्र सरसफाई तथा फुलका बिरुवा रोप्ने कार्यक्रम गरिएको छ । धार्मिक सम्पदाहरुको संरक्षण र सम्वर्द्धनका लागि यो अभियान निरन्तर जारी रहने धार्मिक सम्पदा संरक्षण समितिका अध्यक्ष डम्वर श्रेष्ठले बताउनुभयो ।
यस्तै, युवाहरुको संस्था बिहानी फुटवल क्लवको आयोजनामा भोजपुर सदरमुकाममा रहेको शहीद पार्कमा सरसफाई गरिनुका साथै नेपालको राष्ट्रिय झण्डा राखिएको छ । ‘आफ्नो ठाँउ आफै बनाऔ’ अभियान अन्तर्गत युवाहरु अहिले सामाजिक कार्यमा लागेको युवा बिकल श्रेष्ठले बताउनुभयो । बजारबासीबाट सदरमुकाम नजिकै रहेको बानेश्वर शिवालय मन्दिरको समेत सरसफाईसहित फुल रोप्ने कार्य गरेको स्थानीय दिपेन्द्र श्रेष्ठले बताउनुभयो ।






