स्याङ्जा । स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिकामा स्थानीय पाठ्यक्रम प्रबोधीकरण सम्बन्धी गोष्ठी सम्पन्न भएको छ । स्थानीय पाठ्यक्रम निर्माणमा जुटिरहेको आँधीखोला गाउँपालिकामा आज गोष्ठी सम्पन्न भएको हो ।
उक्त प्रबोधीकरण गोष्ठीमा बोल्दै आँधीखोला गाउँपालिकाका उपाध्यक्ष सीता थापाले आँधीखोलाको सभ्यता र संस्कृति झल्कने गरी पाठ्यक्रम बनाउन लागिएको बताउँदै स्थानीय पाठ्यक्रमको ज्ञानले आजका बालबालिकाले आफ्नो गाउँठाउँको सही जानकारी प्राप्त गर्ने बताउनुभयो । ‘हाम्रा छोराछोरीहरुले आफ्नै गाउँठाउँका सम्पदा चिन्दैनन् तर विदेशका कति कुरा जान्दछन् । त्यसैले आँधीखोला चिनिने गरी पाठ्यक्रम निर्माण हुन लागेको छ ’ उहाँले भन्नुभयो ।
सो कार्यक्रममा साभ नेपालका अध्यक्ष लेखक डा.तुलसी प्रभासले माटोको अनुहार पाठ्यक्रमको ढाँचामा देखिने गरी पाठ्यक्रम बन्ने बताउनुभयो । उहाँले आँधीखोले सभ्यता र संस्कृतिको पहिचान र संवर्धनमा स्थानीय पाठ्यक्रम निर्माणले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । ‘साभ नेपालले ४० वटा स्थानीय पालिकाहरुमा स्थानीय पाठ्यक्रम निर्माणको सहजीकरण गरिरहेको छ । उहाँले भन्नुभयो, ‘हामीसँग विभिन्न पालिकामा पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण गरेर अनुभव प्राप्त गरेका विज्ञ लेखकहरु हुनुहुन्छ ।’
पाठ्यक्रमविद् विष्णु पराजुलीले स्थानीय पाठ्यक्रमले बालबालिकालाई आफ्नो भूगोल संस्कृति, समाज, परम्परा, सम्पदा तथा जीवनशैली चिनाउन सहयोग पुर्याउने बताउनुभयो ।
कार्यक्रममा बोल्दै आँधीखाेला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले स्थानीय पाठ्यक्रम निर्माणका निर्देशक मान्यताहरुभित्र रही आँधीखोलाका सम्पदा र संस्कृतिलाई चिनाउन गोष्ठी फलदायी भएको बताउनुभयो ।
कार्यक्रममा पालिकाभित्रका करिब ४० जना प्रतिनिधि शिक्षकहरुको उपस्थिति रहेको थियो भने विभिन्न विषय क्षेत्रमा अनुभव प्राप्त गरेका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
आँधीखोला गाउँपालिकाका समग्र विषयलाई पाठ्यक्रमले ९ वटा विषयक्षेत्रमा समेटेर बनाइएको संस्थाका अध्यक्ष प्रभासले बताउनुभयो । कार्यक्रममा शिक्षकहरुका अनुभवहरु तथा सहभागिहरुका धारणाहरु राख्दै छलफल तथा अन्तरक्रिया भएको गाउँपालिका शिक्षा शाखा प्रमुख लक्ष्मी सापकोटाले बताउनुभयो।
साभ नेपाल शिक्षा, अनुसन्धान तथा संस्कृतिको खोजमा काम गरिरहेको संस्था हो। यस संस्थामार्फत् देशभरका विभिन्न पालिकाहरुमा स्थानीय पाठ्यक्रम निर्माणदेखि संस्कृतिको अनुसन्धानका क्षेत्रमा काम भइरहेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts