काठमाडौं । सत्तारूढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज (बुधबार)देखि सुरु हुँदै छ । काठमाडौंको प्रज्ञा भवनमा आजदेखि केन्द्रीय समिति बैठक सुरु हुन लागेको हो । माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायका अनुसार बैठक बुधबार बिहान ११ बजेबाट सुरु हुनेछ । उपाध्यायका अनुसार बैठकमा ३८५ पूर्ण केन्द्रीय सदस्य, १९८ वैकल्पिक सदस्य, विभिन्न तीनवटा आयोगका ७५ जना, प्रदेशबाट १०० जना पदाधिकारी र अन्य गरी ८०७ जना बढी सहभागी हुँदै छन् ।
बैठकका लागि सोमबार बसेको पदाधिकारी बैठक केही एजेण्डा तय गरिसकेको छ । बैठकले नेताहरूको जिम्मेवारी बाँडफाँट, संगठन विस्तारका लागि तीनमहिने अभियान घोषणा, विशेष महाधिवेशन र विधान महाधिवेशन तथा समसामयिक विषयअन्तर्गत सरकार, सदनलाई पनि एजेण्डाका रूपमा तय गरेको छ ।
माओवादीको केन्द्रीय समिति बैठक १३ महिनापछि बस्न लागेको हो । यसअघि माओवादीले २०७९ असार १९ गतेदेखि केन्द्रीय समिति बैठक राखेको थियो । २०७८ पुसमा भएको महाधिवेशनपछि पहिलोपटक बसेको त्यस बैठकले महासचिवमा देव गुरुङलाई चयन गरेको थियो ।
पहिलोपटक केन्द्रीय समिति बैठक ‘लाइभ’
केन्द्रीय समिति बैठक ‘लाइभ’ (प्रत्यक्ष प्रसारण) गर्ने निर्णय गरेपछि धेरैजसो नेताले असन्तुष्टि जनाएका छन् । सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय समिति बैठक ‘लाइभ’ गर्ने प्रस्ताव गर्नुभएको थियो । उहाँको प्रस्तावलाई पदाधिकारी बैठकले अनुमोदन गरेको थियो । माओवादी केन्द्रले पहिलोपटक केन्द्रीय समिति बैठक ‘लाइभ’ गर्न लागेको हो । यसअघि सत्तारूढ दल कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक पहिलोपटक ‘लाइभ’ गरेको थियो । त्यसकै सिको गर्दै माओवादी केन्द्र पनि केन्द्रीय समिति बैठक ‘लाइभ’ गर्ने तयारीमा जुटेको छ ।
तर, कम्युनिष्ट पार्टीको महत्वपूर्ण बैठक मानिने केन्द्रीय समिति बैठक सार्वजनिक गर्नु उपयुक्त नभएको नेताहरूले टिप्पणी गरेका छन् । प्रविधिको प्रयोग गर्नु सकारात्मक भए पनि अहिलेको अवस्थामा पार्टीको आन्तरिक विषय बाहिर ल्याउन उपयुक्त नभएको नेताहरूको तर्क छ ।
‘लाइभ’ गर्ने विषयमा पोलिटब्युरो सदस्य रामप्रसाद सापकोटा दीपशिखाले सामाजिक सञ्जालमा ‘स्टाटस’ राख्दै पार्टी बैठक घर, परिवार र जीवन भएकाले परिवारका अन्तरंग छलफल ‘लाइभ’ गर्न नहुने उल्लेख गर्नुभएको छ । उहाँले ढुक्कसँग बोल्न र आनन्दसँग सुन्न पाउनुपर्ने बताउनुभएको छ । उहाँले लेख्नुभएको छ, ‘पार्टी बैठक लाइभ हुनु हुँदैन, पार्टी कमिटी घर हो, परिवार हो, जीवन हो । जीवन, घर, परिवारका अन्तरंग छलफल लाइभ गर्ने विषय होइनन्, ढुक्कसँग बोल्न पाउनुपर्छ, आनन्दसँग सुन्न पाउनुपर्छ ।’
यस विषयमा धेरै नेताहरूले असन्तुष्टि जनाए पनि ‘लाइभ’ हुने महासचिव देव गुरुङले बताउनुभयो । ‘लाइभ गर्ने विषयमा प्रावधिक टोलीहरूले गृहकार्य गरिरहेको भन्दै उहाँले भन्नुभयो ‘यो रोकिँदैन । अध्यक्षज्यूको फेसबुक पेजबाट लाइभ हुने टुंगो लागिसकेको छ । त्यसका लागि प्राविधिकले काम अगाडि बढाएका छन् ।’ महासचिव गुरुङका अनुसार बैठक पाँच दिन चल्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच