काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेसनको निर्माण तत्काल सम्पन्न गर्नुपर्ने दबाबमा परेको छ । चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा अघि बढाइएको १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत्को निर्माण अन्तिम चरणमा पुगेपछि आयोजनाको विद्युत् जोडिने सबस्टेसन निर्माण सम्पन्न गर्न प्राधिकरणलाई दबाब परेको हो । मध्य भोटेकोशीको निर्माण दुई महिनाभित्र सम्पन्न गर्ने गरी अन्तिम चरणको काम भइरहेको प्राधिकरणले जनाएको छ । मध्य भोटेकोशीबाट उत्पादित विद्युत् २२० केभी प्रसारण लाइनमार्फत् बाह्रबिसे सबस्टेसनमा जोडिनेछ । आयोजनाले आफ्नो विद्युत्गृहबाट बाह्रबिसे सबस्टेसनसम्मको प्रसारण लाइनका टावर निर्माण गरिसकेको छ भने तार तान्ने काम भइरहेको छ ।
प्राधिकरणका अनुसार बाह्रबिसे सबस्टेसन निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी ग्वाङ्सी ट्रान्समिसन एण्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमको कमजोर कार्यसम्पादनका कारण सबस्टेसनको निर्माण ढिलाइ हुँदै आएको छ । प्राधिकरणले कार्यसम्पादनमा सुधार्न पटक-पटक दिएको निर्देशक निर्माण व्यवयासीले पालना नगर्दा सबस्टेसन निर्माण सम्पन्न हुने तालिका प्रभावित हुँदै आएको छ । प्राधिकरणले सबस्टेसनको निर्माण सम्पन्न नभएर मध्य भोटेकोशीको विद्युत् जोड्न नसकिएमा क्षतिपूर्ति भराउने चेतावनी दिँदै आएको छ ।
कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ, आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधानको उच्चस्तरीय टोलीले शनिबार सबस्टेसन निर्माणस्थलको अनुगमन भ्रमण गरेको छ । टोलीले आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग निर्माणमा देखिएका समस्या, उपकरण आपूर्तिको अवस्था, निर्माण सम्पन्न हुने तालिकालगायतका विषयमा छलफल गरेको थियो ।
अनुगमनका क्रममा कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘पावर ट्रान्सफर्मरलगायतका सबस्टेसन राखिने उपकरण निर्माणस्थलमा आइसकेका छन्, निर्माणमा ढिलाइ गर्नुपर्ने कुनै कारण नै छैन, निर्माणमा हाम्रोतर्फबाट सहजीकरण गर्न तयार छौँ, तीन महिनाभित्रमा जसरी पनि निर्माण सम्पन्न गर्नुपर्छ, नत्र मध्य भोटेकोशीको विद्युत् खेर फाल्नुपर्ने पीडादायी अवस्था आउन सक्छ, त्यसैले यसलाई ध्यान दिएर सबैले काम गरौँ ।’
कम्पनीले सबस्टेसनमा रहने पावर ट्रान्सफर्मरलगायतका उपकरण ल्याइसकेको छ भने ट्रान्सफर्मर रहने स्थान, नियन्त्रण कक्ष भवन निर्माणाधीन छन् । सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभिए र १३२/११ केभी, ५ एमभिएका पावर ट्रान्सफर्मर रहनेछन् । बाह्रबिसेमै ४०० केभीको अर्को सबस्टेसन पनि निर्माणाधीन छ । प्राधिकरणले मध्य भोटेकोशीको विद्युत् प्रवाहका लागि अस्थायी रूपमा वैकल्पिक व्यवस्था गरेको छ तर त्यसका लागि पनि बाह्रबिसे सबस्टेसनको निर्माण अनिवार्य छ । २२ मेगावाटको माथिल्लो चाकु ए जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी शिवश्री हाइड्रोपावरले निर्माण गरेको १३२ केभी सिंगल सर्किट प्रसारण लाइनलाई डबल बनाउन लागिएको छ । शिवश्री हाइड्रोपावरले लामोसाँघु सबस्टेसनबाट बाह्रबिसेसम्म बनाउनुपर्ने उक्त लाइनको कामसमेत सुरु हुन सकेको छैन ।
कम्पनीबाट करिब १० किलोमिटरमध्ये सात किलोमिटर तार तान्नुपर्नेछ भने बाह्रबिसे बजार नजिकबाट सबस्टेसनसम्म करिब तीन किलोमिटर चार सर्किट (मल्टी सर्किट) प्रसारण लाइन बनाउनुपर्नेछ । तर, कम्पनीले हालसम्म उक्त काम सुरु नै गरेको छैन । तामाकोशी तथा सुनकोशी नदी र ती नदीका सहायक खोलानालाको जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न तामाकोशी-काठमाडौं प्रसारण लाइन र सबस्टेसन निर्माण सुरु गरिएको हो । एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा प्रसारण लाइन तथा सबस्टेसनको निर्माण भइरहेको छ ।
तामाकोशी-काठमाडौं २२०-४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट बाह्रबिसेसम्म ४४ किलोमिटर प्रसारण लाइन निर्माणाधीन छ । त्यस्तै, बाह्रबिसेबाट काठमाडौंको लप्सीफेदीसम्मको ४६ किलोमिटर ४०० केभी डबल सर्किट तथा लप्सीफेदीबाट भक्तपुरको चाँगुनारायणसम्मको १४ किलोमिटर १३२ केभी प्रसारण लाइन पनि निर्माणाधीन छन् । लप्सीफेदीमा ४००-२२० र १३२-११ केभी सबस्टेसन स्थानीय बासिन्दाको अवरोधका कारण निर्माण प्रभावित भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच