नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा ठेकेदारको लापरबाहीका कारण सुस्ताबासीलाई अझै पीडा थपिएको छ । कतीपय सुस्ताबासीको नारायणी नदि वारि र पारी घर छ, नदि पारीको आफ्नै भूमि आउजाउ कि भारतीय बाटो प्रयोग गर्नु पर्छ कि त जोखिमपुर्ण यात्रा गर्नु पर्छ । २०७२ साल चैत्र ६ गते शिलान्यास भएर निर्माणाधीन अवस्थामै रहेको यहाँको झाेलुङ्गे पुल ठेकेदारको लापरबाहीका कारण हालसम्म पनि बनेर सम्पन्न हुन सकेन ।
'अहिले पुल बनेर यो बर्खामा त पुलबाट आवतजावत गर्न पाइन्छ कि भनेर त्यो पनि पाइएन'- सुस्ता ३ का रबिन्द्र जैसवालले भन्नुभयो । उहाँ मात्रै होइन अहिलेको बर्खामा पुलबाट आउजाउ गर्ने सुस्तावासीको सपना पुल बनेर नसकिदा यस पटक पनि अधुरै रहेको छ । पटक पटक समय थप गर्दा समेत सुस्ता गाँउपालिका स्थित नारायणी नदिमा निर्माण भईरहेको नेपालकै लामो झोलुङ्गे पुलको काम पुरा नहुँदा स्थानीयबासीहरु बाढीमा जोखिमपूर्ण डुङ्गाको यात्रा गर्न बाध्य छन् ।
गत असार मसान्त सम्म पुल निर्माण सक्नका लागि २०७८ साल चैत्रमा सरकारले थप समय उपलब्ध गराए पनि निर्माण सम्पन्न भएको छैन् । ०७२ साल चैत्र ६ गते शिलान्यास भएर २०७३ सालको पुसबाट सुरु भएको पुलको निर्माण कार्य तिन वर्ष भित्रै सकिनुपर्ने थियो तर पटक पटक म्याद थप गर्दा समेत पुलको काम पुरा हुन नसकेको गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले बताउनु भयो । उहाँले भन्नुभयाे- '२०७२ चैत ६ गते शिलान्यास भएको हो अझै काम सकिएन, बरु म्याद थपको कुरो आएको छ, पुल नबन्दा नागरिकले अझै कति दुख पाउने हुन ।'
नारायणीपारिका सुस्तावासीको सपनाको रुपमा रहेको पुलको १० वटा मुख्य पिल्लरको काम सकेर त्यसमाथि स्टीलका टावर बनाउने काम अन्तिम चरणमा छ । नारायणीमा पानीको सतह बढेकाले नदिको दुवै किनारा तर्फ बाँकि काम भईरहेको सस्पेन्सन वृज डिभिजन कार्यालय ललितपुरका ईन्जिनियर गोपाल बहादुर थापाले जानकारी दिनुभयो । अन्तिम चरणमा रहेको पुल निर्माणको काम सक्न ठेकेदारलाई फेरि समय उपलब्ध गराउन लागिएको छ । चार महिना थप समय दिएर काम सक्ने योजना अनुरूप म्याद थपको प्रक्रिया सुरु भएको थापाले जानकारी दिनुभयो ।
१ हजार ५ सय ७१ मिटर लम्बाइ र १ दशमलव ६ मिटर फराकिलो पुल निमार्णका लागि सुरुमा केभी पशुपति एण्ड कन्स्ट्रक्सनले जिम्मा लिएर काम नसकेपछि बिचमा त्रिशूली आश्रय जेभी कन्स्ट्रक्सनले २९ करोड ४० लाख रुपैयाँमा ठेक्का लिएको छ । डुङ्गाको जोखिमपूर्ण यात्रा गर्न बाध्य नारायणी पारीका सुस्तावासी, पुल निर्माण भए सहजै आउजाउ गर्न सक्नेछन् । सुस्ताका स्थानीय मुन्सी हरिजनले पुल नभएकै कारण नेपाल तर्फ नारायणी पारिका सुस्तावासीले सिधा सम्पर्क स्थापित गर्न नसक्दा सामान्य किनमेल र औषधी उपचारका लागि पनि भारतको बाटो हुँदै जानुपर्ने बाध्यता रहेको बताउनुभयो ।
भारतको बाटो हुँदै जाँदा पनि भारतीय सिमाबल प्रहरीले अनेकौँ बहाना गरेर दुख दिने गरेको उहाँको भनाई छ । सुस्ता पारीका नागरिक बर्षौ देखि राज्यको नजरबाट सीमान्तकृत हुँदै आएका छन् । न कुनै अस्पताल छ, सधैँ डुबानको समस्या, शुद्ध पिउनेपानीको अभाव, उचित शिक्षा दीक्षाको अभावमा उनीहरू जिउन बाध्य छन् । राज्यको नजर कहिल्यै सुस्तामा पुग्न नसक्दा उनीहरू सामान्य सेवासुबिधाबाट समेत बिमुख छन् । भारतीय पक्षबाट सधैँ अतिक्रमित सुस्तावासीले अनेकौँ बहानामा सधैँ सास्ती खेप्नु परेको छ ।
सीमा रक्षाका लागि जङ्गेपिलर झै उभिएर बसेका यहाँका नागरिक राज्यको नजरबाट सधैँ अपहेलित जस्तै भएर बसेका छन् । उसैमाथी समयमै पुल नबन्दा आफ्नै भूमि आउजाउ गर्न कि भारतीय बाटो प्रयोग गर्नु पर्ने कि त नारायणी नदिमा ज्यानको बाजि लगाएर डुङ्गाको जोखिमपूर्ण यात्रा गर्न उनीहरू बाध्य छन् ।

पुल बने एक पटक हेर्न जान मन थीयो आफु हुर्केको ठाउ बाहृखरी पढेको ठाउ , साथीहरु कसरी बसेका छन् ती खेतहरुमा के फलायका छन।जाहा हामीलाई बाढी पिडीत बनाएर तिरबेनी तिर लखेटेर जील्लै कटायको ठाउ।जुन जमीन ले हाम्रा बुबा अंकल हरुलाई लोभायको ठाउँमा,जुन जमीन कब्जा गर्न भला र फरसा खायको ठाउ?त्यो ढोग सोता कस्तो होला जाहा साथीहरु संग बल्छी मा माछा मारेको ठाउ?