बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ खण्डमा पर्ने करिब १४२ किलोमिटर मध्ये अधिकांश सडक कालोपत्रे भइसकेको छ । अब बागलुङ–घोडाबाँधे खण्डको करिब १५ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी छ । वर्षौ अगाडि कालोपत्रे भएको घोडाबाँधे–गलकोट खण्ड जीर्ण बनेपछि अहिले मर्मको काम भइ रहेको छ । निर्माण कम्पनीले अब केही दिनमै सक्ने गरि धमाधम काम गरि रहेको छ । तर मर्मत भएको केही ठाउँमा बीच भागमै कालोपत्रे उप्किएको छ ।
एक महिना नबित्दै कालोपत्रे उप्किपछि सर्वसाधारणले निर्माण कम्पनी र सरोकारवालामाथि लापरवाही गरेको आरोप लगाएका छन् । वि.सं. २०७९ असार २२ गते लोकमार्ग कार्यालयसँग सम्झौता गरि जोशी निर्माण कम्पनी काठमाडौँले काम गर्न थालेको थियो । निर्माण कम्पनीले कालोपत्रे गरेको लोकमार्गको नरठाँटी, काफलठूटा, झाँक्रीस्थान लगायतको ठाउँमा कालोपत्रे उप्किएको यात्रु तिलबहादुर खत्रीले बताउनुभयो । यस ठाउँमा कालोपत्रे भएको महिना दिनसमेत नपुगेको खत्रीको भनाइ छ । उहाँले काम गर्दागर्दै उप्किने सडकले यात्रु र चालक सुविधाको सट्टा सास्ती दिने बताउनुभयो ।
“के काम गरेको होला यस्तो, काम गर्दै छ, सडक उक्किदै छ, यस्तो पनि हुन्छ, सरोकारवाला निकायले पनि खाए होलान्, त्यही भएर सडकको अवस्था यस्तो हुँदा पनि तिनीहरुको आँखा यता जाँदैन,” खत्रीले भन्नुभयो – “यसको जिम्मेवार को हुने ?, लोकमार्ग कार्यालय हुने कि, ठेकेदार आफै हुने, गुणस्तरहीन काम भएको छ, यस्तो काम गरेर करोडौँ खान मिल्छ ?, खै सरकार बोलेको, यस्तो विकास हो ?, यसरी हुँदैन, यहाँ फेरि काम गर्नु पर्छ, सरकारको ध्यान जाओस् ।”
निर्माण कम्पनीको आगामी असोज २१ गतेसम्म काम गर्ने म्याद छ । सडक मर्मत गर्नका लागि जोशी निर्माण कम्पनीले १३ करोड ९९ लाख रुपैयाँमा जिम्मा लिएको थियो । मध्यपहाडी लोकमार्गका इन्जिनियर राजन पाण्डेले मर्मतको अधिकांश काम सरेको भन्दै अब एक करोड रुपैयाँ भुक्तानी लैजान बाँकी रहेको बताउनुभयो ।
उहाँले जेठमा कालोपत्रे भएको स्थानमा पहिरो र भल आएर भत्किएको भन्दै त्यसलाई पुनः मर्मत गर्ने बताउनुभयो । निर्माण कम्पनीले मर्मतको काम गरिरहेको हुँदा भत्किएको ठाउँलाई प्राथमिकतामा राखेर व्यवस्थित बनाउने उहाँ बताउनुहुन्छ । पाँच किलोमिटर कालोपत्रे गरेकोमा करिब ५० मिटर सडकमा उप्किने र भत्किने समस्या भएको उहाँको भनाइ छ ।
“अहिले जहाँ–जहाँ भत्किएको छ, त्यस ठाउँमा पहिले पनि भत्किने गरेको रहेछ, भौगोलिक नाजुकताका कारण यो समस्या आएको छ, जहाँ जेठामा कालोपत्रेभयो, कालोपत्रे गरेपछि ठूलो पानी आयो, भल पनि आयो र भत्कियो, त्यसलाई निर्माण कम्पनीले गर्नुपर्छ, अहिले काम विशेषले बाहिर छु, त्यहाँ छिट्टै आइहाल्छु,” इन्जिनियर पाण्डेले भन्नुभयो – “भत्किएको ठाउँमा म आएर हेर्छु र त्यसलाई पुनः कालपत्रे गर्नु पर्ने भए कालोपत्रे र नहुने भए ढलान गर्न लगाउँछु, निर्माण कम्पनी अहिले फिल्डमै रहेर काम गरि रहेको छ, त्यसले गर्दा काम गराउन गाह्रो छैन, निर्माण कम्पनीले पनि भत्किएको ठाउँमा पुनः काम गर्छु भनेको छ, धेरै समस्या हुँदैन, काम गर्दा कहिलेकाहीँ यस्तो समस्या पनि आउँछन् ।”







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts