स्याङ्जा । स्याङ्जा जिल्लाको सदरमुकाममा रहेको त्रिभुवन आदर्श बहुमुखी क्याम्पसका स्नातकोत्तर तहमा पढ्ने विद्यार्थीहरू अध्ययन भ्रञमणको सिलसिलामा पाल्पा जिल्लाको ताजमहल दृश्यावलोकन गरिरहेका थिए । करिब ३० जनाको संख्यामा रहेका विद्यार्थी, शिक्षक र व्यवस्थापन समितिका सदस्यले समेत रानीमहलको अध्ययन गरिरहेका थिए । कोही भन्दै थिए, ‘राजा खड्गशमशेरले यस्तो दुर्गम ठाउँमा आएर कसरी यस्तो भवन बनाए होलान् ?’ कसैले कालीगण्डकीको चट्टानमा कसरी त्यो जमानामा यस्तो भवन बनेको होला ? कतिले यस्तो अद्भूत संरचना बनाउने कालिगढ को होलान् ?’ जस्ता जिज्ञासा प्रकट गरिरहेका थिए ।
स्नातकोत्तर चौथो सेमिस्टरमा पढ्ने विद्यार्थी करुणा पौडेलले भन्नुभयो, ‘साँच्चै आउनुपर्ने ठाउँ रहेछ । धन्न आइएछ । इतिहासको महत्वपूर्ण कुरा थाहा भयो । राजा खड्गशमशेरको पाल्पाको बसाइँ, सत्ताको कारण दाजुभाइ र परिवारमा समेत कतिसम्म झगडा हुँदोरहेछ भन्ने कुरा यहाँ आएर बुझियो । कालीगण्डकी र यो महलको इतिहासबाट हामीलाई धेरै ज्ञान मिलेको छ ।’ वास्तवमा उहाँको कुरामा सत्यता थियो । त्यहाँ आएका थुप्रै विद्यार्थीमात्र होइन, अध्ययनका लागि आएका शिक्षार्थी, प्रेमका लागि आएका प्रेमीहरू, ध्यानका लागि आउने योगीदेखि दृश्यावलोकन गरेर मजा लुट्ने प्रकृति प्रेमीले समेत एकसाथ तृष्णा मेट्न सक्ने अद्भूत क्षमता छ-रानीमहलमा ।
एम.बि.एस प्रथम सेमिष्टरमा पढ्ने विद्यार्थी कुसुम गिरीलाई कालीगण्डकीको कञ्चन पानी तथा पानीमाथि शान्त तरिकाले बगिरहेको स्टिम्मरले तरङ्गित बनाइरहेको थियो । उहाँले भन्दै हुनुहुन्थ्यो, ‘साँच्चै यो ठाउँ जीवनमा एकपटक आउनै पर्ने ठाउँ रहेछ । यस्ता ऐतिहासिक तथा प्राकृतिक सम्पदाहरूको जगेर्ना गर्नु आवश्यक छ ।’
पाल्पा जिल्लाको सदरमुकाम तानसेनदेखि १३ किलोमिटर उत्तर कालीगण्डकी तिरमा भिरालो चट्टानमाथि स्वर्गकी अप्सराझैं देखिने रानीमहललाई धेरैले भारतको ताजमहलसँग पनि तुलना गर्छन् साथै यसलाई ‘नेपाली ताजमहल’ को संज्ञा दिन्छन् । इतिहास अनुसार धीरशमशेरका १७ भाइ छोरामध्येका एक वीरशमशेर प्रधानमन्त्री हुँदा उहाँका भाइ खड्गशमशेरलाई कमाण्डर इन चिफ भएको २८ महिनापछि पदच्युत गरियो । उहाँलाई पाल्पामा निर्वासित गरियो । विसं १९४५ मा उहाँलाई रूपन्देही, कपिलवस्तु, बाग्लुङ र पर्वतलगायत क्षेत्रका जिम्मेवारीका साथ पाल्पाको गौंडामा पश्चिम कमाण्डर जर्नलका रूपमा बस्ने अनुमति दिइएको थियो ।
त्यसै क्रममा विसं १९४५ मा आफ्नी अत्यन्त प्रिय रानी तेजकुमारी देवीको मृत्यु भयो । रानीको मृत्युभन्दा अगाडि नै रानीसँग गरेको वाचाअनुसार राजा खड्गशमशेरले रानीको मृत्युपछि उहाँको स्मृतिमा भारतको आग्रामा रहेको ताजमहल जस्तै बगैँचासहितको दरबार निर्माण गर्ने योजना अनुसारको काम सुरु गर्नुभयो । आफ्नी रानीको स्मृतिामा भारतबाट इन्जिनियरहरू झिकाइ पाँच वर्ष लगाएर यो महलको विसं १९५४ मा निर्माण सम्पन्न गरिएको थियो ।
यो दरबार ५-१५-०-२ क्षेत्रफलमा रहेको छ । यो भिरालो चट्टानमाथि कालीगण्डकीको तिरमा प्रकृतिको सुन्दर प्रयोग गरेर निर्माण गरिएको छ । कालीगण्डकीको चट्टानसँग यसलाई छुट्टि नै नसक्ने गरी प्रकृति र मानवीय कलाको सुन्दर प्रयोग गरी बनाइएको छ । वास्तवमा यो दरबारको सुन्दरता अद्वितीय छ । तत्कालीन समयमा दरबारमा खड्ग शमशेर लेखिएको इँटा प्रयोग गरिएको छ । महलको आँगनमा पोखरी निर्माण गरिएको छ । कालीगण्डकीतिर हावा घर निर्माण गरिएको छ । तिन तले दरबार परिसरमा घोडाका तबेला, पाले घर र मन्दिर छन् । यस दरबारमा प्रयोग भएका किला काँटी तथा प्रायः सम्पूर्ण सामान विदेशबाट झिकाइएको थियो । यसको जस्ताको ताजलाई २०४२ सालको हुरीले फुकालेर भुइँमा फालिदिएपछि यो महलको सुन्दरता बिग्रिएको थियो ।
रानीमहल रहेको ठाउँमा आजभोलि हरिशयनी र हरिबोधनी एकादशी, शिवरात्री र बैकुण्ठे चतुर्दशीमा मेला लाग्छ । त्यस भेगका मान्छेहरूको दाहसंस्कार गर्ने घाट पनि त्यही हो । यता स्याङ्जातिरबाट कालीगण्डकी माथि रहेको २२२ फिट लामो झोलुगें पुल तरेर आउने जाने बटुवा, तीर्थयात्री र मलामीहरूका लागि यो रानीमहल एउटा विश्रामस्थल मानिन्छ ।
भनिन्छ, राज खड्गशमशेरले मुगल सम्राट शाहजहाँले ताज महलमा आफ्नी रानी मुमताजको प्रतिबिम्ब देखे जस्तैगरी यस महलको विश्रामघरमा बसेर कालीगण्डकीको चिसो हावासँग बहलिएर रानीको काल्पनिक प्रतिबिम्बसँग ध्यानमा बसेर गफ गर्ने गर्नुहुन्थ्यो । मध्यरातमा उहाँ नुहाइधुवाइ गरेर पश्चिमपट्टिको कालीगण्डकीको भुमरी परेको ठाउँको नजिकको बुर्जामा उभिएर कालीगण्डकीलाई एकटक लगाएर हेरिरहनुहुन्थ्यो । कालीगण्डकीको सुसाइ र आवाजमा उहाँले आफ्नी रानीको बोली प्रतिध्वनित भएको पाउनुहुन्थयो भन्ने गरिन्छ ।
इतिहासको नियम निकै कठोर हुन्छ । प्रधानमन्त्रीको रोलक्रमबाट हटाइनुभएका खड्ग शमशेरको पालो फेरि कहिल्यै आएन । वीर शमशेरको निधनपछि देवशमशेर प्रधानमन्त्री बन्नुभयो तर उहाँलाई चार महिना पनि प्रधानमन्त्री बन्न दिइएन । बरु उल्टो राजा खड्ग शमशेरलाई काठमाडौं हमला गर्न लागेको भन्ने झुटो आरोप लगाई चन्द्रशमशेरले शैन्य शक्ति प्रयोग गरी उहाँलाई त्यहाँबाट पनि धपाए । राजा खड्गशमशेरले यसपछि बाँकी जिन्दगी बनारसमा बिताएको पाइन्छ । बनारसमै १९७८ साल पुस ८ गतेका दिन उहाँले विश्वमा अमर प्रेमको कथासहितको प्रतीक चिहृन ‘रानीमहल’ छाडेर जानुभयो । उहाँले इतिहास, प्रकृति र मान्छेको त्रिआयामिक ‘फिक्सन’ रानीमहलमा निर्माण गरेर इतिहासविद्, पुरातत्वका अध्येता तथा साहित्य लेख्नेहरूका लागि एउटा खुला विश्वविद्यालय दिएर जानुभएको छ । उहाँ गए पनि उहाँले छोडेको अमर प्रेमको ‘डिस्कोर्स’ ले बुद्धको भूमि नेपालमा प्रेम, अहिंसा र शान्तिको सन्देश युगौंसम्म छोडिरहनेछ । यसरी कालीगण्डकीको पवित्र किनारमा राजा खड्गशमशेर र रानी तेजकुमारीको अमर प्रेमको आख्यानका माध्यमबाट विश्वलाई नै शान्ति र प्रेमको सन्देश प्रवाहित गर्ने प्रकृति र मानव निर्मित संरचनाको अद्वितीय तथा बेजोड नमुनाका रुपमा कालीगण्डकीको तिरमा उभिएको रानीमहलको शिर सगरमाथा जस्तै उचो बनिरहोस् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच