पर्याप्त वर्षा नहुँदा खेत बाँझै : पानीको अभावले राती रोपाइँ

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 6 mins

म्याग्दी । म्याग्दीमा विगतका वर्षमा असार अन्तिम सातासम्म रोपाइँ भइसकेको हुन्थ्यो । तर यस वर्ष साउन दोस्रो सातासम्म पनि म्याग्दीका २० प्रतिशत भन्दा बढी खेतमा अझै रोपाइँ हुन सकेको छैन । पानी पर्याप्त मात्रामा नपर्दा खानेपानी र टाढाको सिंचाइ कुलोको पानी कुल्याएर राती पालो लगाई रोपाइँ गर्न थालिएकोे छ । पानीका कारण रोपाइँ गर्न ढिला भए पछि रातमा रोपाइँ गरिएको हो ।

जिल्लाको बेनी नगरपालिका वडा नं २ बगरफाँटको कुरुङ्दी र गुठीमा राती रोपाइँ गर्न वाध्य भएको कृषकहरुले बताएका छन् । पानी पर्याप्त नपर्दा खेतीयोग्य जमिनमा नै धान रोप्न नसकिएकोले राती पालो कुरेर रोपाइँ गरिएको स्थानीय यामकुमारी शर्माले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “यस वर्ष त रोपाइँ नै ढिला भयो, विगतमा असारको चौंथो सातासम्ममा रोपाइँ सकिन्थ्यो, अहिले साउनको दोस्रो सातमा बल्ल खेत रोप्यौं,त्यही पनि राती बिजुली बालेर ।” जिल्लामा साउन दोस्रोसाता वितिसक्न लाग्दा पनि अझै रोपाइँ सकिएको छैन ।

रोपाइँ गर्ने बेलामा पानी नपर्दा किसानलाई सास्ती नै सास्ती छ । पानीको जोहो होला र अनी धान रोपौँला भनेर पालो पर्खेर बसेका किसान पानी नपर्दा रुनु न हाँस्नुको अवस्थामा पुगेका छन् । सिंचाइ नहुने ठाउँमा अझै रोपाइँ भएको छैन ।

पानीको अभावमा रोपाइँ नहुँदा व्याडमा विऊ छिप्पिएर कामै नलाग्ने अवस्थामा पुगेको ज्यामरुककोटका किसान टेकबहादुर कार्कीले बताउनुभयो । बेनी नगरपालिका-६ का किसान तीर्थ पौडेलले पानी अभावले आधा खेतमा मात्रै रोपाइँ गरिएको बताउनुभयो । “बल्लतत्ल आधी खेतमा रोपाइँ सकियो, यसपाली राम्रो उब्जनी हुँदैन भन्ने डर छ”, उहाँले भन्नुभयो ।

एकातिर पानीको अभावले किसानहरुले रोपाइँ गर्न पाएका छैनन् भने अर्कोतिर रोपाइँ भएको खेतमा समेत सिंचाइ नहुँदा धाँजा फाट्न लागेको छ । कुवा, पधेँरो, खोला र खोल्सीको पानीले रोपाइँ गरिएको भए पनि रोपोमा सिंचाइ गर्ने पानी नहुँदा धाँजा फाटेको छ भने रोपिनसक्दै रोग र किराको समेत प्रकोप देखिएको यहाँका किसानले बताएका छन् ।

अझै एक साता यस्तै अवस्था रहिरहने हो भने धान फल्ने खेत बाँझै हुने मालिका गाउँपालिका-६ का तीर्थबहादुर सिउथानीले वताउनुभयो “यस वर्ष पानी नपर्दा खेतीयोग्य जमिन बाँझिदैछन्”, उहाँले भन्नुभयो ।

ADVERTISEMENT

कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले समयमा पर्याप्त वर्षा नहुँदा खेतीयोग्य जमिन बाँझिने क्रम बढेको जानकारी दिनुभयो । “समयमा वर्षा भएको भए सबै खेतमा रोपाइँ हुने थियो, यस वर्ष किसानहरुलाई धान रोपाइँ गर्न सास्ती भएको छ”, उहाँले भन्नुभयो- “विगतका वर्षमा असार मसान्तमा अधिकांश खेतमा धान रोपाइँ सकिन्थ्यो, तर यस वर्ष किसान वर्षाको पर्खाइमा छन् ।”

यस वर्ष साउन १० गतेसम्ममा ८० प्रतिशतमात्रै रोपाइँ सकिएको प्रमुख सिग्देलले जानकारी दिनुभयो । वर्षा नहुँदा खेती हुने फाँटमै पानी नपुगेर रोपाइँ नभएको पाइएको उहाँले बताउनुभयो ।

म्याग्दी जिल्लामा कुल ३० हजार ८ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा त्यसमध्ये जम्मा १९ हजार ४ सय ९८ हेक्टरमा मात्रै खेती गरिएको छ । ११ हजार ३ सय ९८ हेक्टरको जमिन बाँझो रहनुका साथै जग्गा प्लटिङमा परिणत भएको छ ।

खेती गरिएको जमिनमध्ये ६ हजार १३ हेक्टर अर्थात् ३० दशमलव ८ प्रतिशत मात्रै सिञ्चित जमिन रहेको छ । यसमध्ये १६ सय ८० हेक्टरमा बाह्रै महिना सिँचाइ हुन्छ भने ४ हजार ३ सय ३३ हेक्टरको जमिनमा मौसमी सिँचाइ हुने गरेको छ ।

एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीको प्रायजसो क्षेत्रमा धान खेती हुने गरेको छ । जिल्लाको रत्नेचौर, ज्यामरुककोट, अर्थुङ्गे, पुलाचौर, सिङ्गा, बराङ्जा, बाबियाचौर, कुहुँ, अर्मन, दरबाङ, ताकम, घतान, पात्लेखेत, पिप्ले, भगवती, शिख, घार, भूरुङ-तातोपानी, नारच्याङ, दानालगायत क्षेत्रमा धान खेती हुँदै आएको छ । यी क्षेत्रहरु धान उत्पादनको हिसाबले पकेट क्षेत्र मानिन्छन् । धवलागिरि गाउँपालिकाको गुर्जा र लुलाङमा अत्यधिक चिसोका कारण धान उत्पादन हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?