गुल्मी । गुल्मीमा बंगालो र गोठमा आगलागी हुँदा १२ लाख भन्दा बढीको क्षति भएको छ । मंगलबार जिल्लाको मदाने गाउँपालिका-१ अग्लुङका दुर्गा बि।क। को टिनले छाएको २ तले बंगालो र खरले छाएको २ तले गोठमा आगलागी भएको हो ।
केही समयदेखि डिप्रेशनमा रहेकी बिककी बहिनी सोही स्थानको निन्नुखर्क घर भई बिगत ५ बर्षदेखि माइती घरमा बस्दै आएकि ३२ वर्षीया मिना बिकले आगो लगाउँदा बंगालो, गोठ पूर्ण रुपमा जली क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
घरमा रहेको नगद तीन लाख पचास हजार, साढे तीन तोला सुनका गरगहना र अन्य गरी करिब १२ लाख बराबरको क्षति भएको प्रहरी रिपोर्टमा उल्लेख छ । आगो राति २:०० बजे नै पूर्ण रुपमा नियन्त्रणमा आएको छ । आगो लगाई बहिनी मिना घरबाट हिडेको बताईएको छ ।
घटना थाहा पाए लगत्तै इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरिक्षक कुशल सिंह ठकुरीको कमाण्डमा चार जनाको टोली घटनास्थलमा गएको छ । घटनास्थल प्रहरी कार्यालयबाट करिब १८ किलोमिटर उत्तर पर्छ । घटनाका विषयमा विस्तृत विवरण आउन बाँकी छ ।






