कोदो रोप्ने बारीमा घाँस भरिदै

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 7 mins

म्याग्दी । खेतका फाँटमा धानका गाभा भरिन थालेका छन् । धान रोपि सकेर सिंचाइ गर्नका लागि खेतमा पुगेका किसानहरु खेतका गरामा धानसंगै उम्रिएका झार उखेल्न र खेतका आली थुनेर पानीको प्रवन्ध मिलाउन व्यस्त छन् । हरिया भएका धानका विरुवा डुवाउने गरी खेतका गरामा भरिएको पानीले फाँटको सौन्दर्य नै बेग्लै बनेको छ ।

धान खेतीका लागि यति महत्व दिएर मरिमेट्ने म्याग्दीका किसानहरुले नजिकको बारीमा भने कोदो खेती गरेका छैनन् । घर अगाडी र वरिपरिकै बारीमा कोदो रोपिएको छैन । कसैकसैले बारीका कान्ला र गरामा फलफूल खेती गरेका भए पनि अधिकाँशका बारीमा सिरु पmुलेको छ । बनमारा र अन्य झारले बारी ढाकेको छ ।

म्याग्दीका ग्रामिण भेगबाट समेत कोदो खेती हराउँदै गएको छ । कुनै समयको महत्वपूर्ण खाद्यान्न बाली कोदो अहिले शहरी क्षेत्रका बालबालिकाका लागि मात्रै होइन,ग्रामिण क्षेत्रका वयस्कहरुका लागि समेत दुर्लभ चिज जस्तै बन्दै गएको छ ।

कोदो फल्ने बारी थलिएको छ । बनमारा र बोकेझारले बारीमा साम्राज्य जमाएको बेनी नगरपालिका २ ज्यामरुककोटका हरि शर्माले बताउनुभयो । करिब दश वर्ष अघिसम्म १० मुरी कोदो उत्पादन हुने बारीमा अहिले मुस्किलले १० पाथी उत्पादन हुने गरेको उहाँले बताउनुभयो । “कोदो रोप्नै छोडे,कोदो रोप्ने बारीमा झारैझार छ,अनि कहाँवाट फलोस् कोदो ?” ५७ वर्षिय शर्माले भन्नुभयो । उहाँका अनुसार कोदो लगाउने जग्गा बाँझै पल्टिएको छ ।

काम गर्ने जनशक्ति नहुनु, खेताला खोजेर काम लगाए पनि धानको जस्तो मूल्य कोदोले नपाउँदा कोदो हराउँदै जान थालेको कृषकहरुले बताएका छन् । रघुगंगा गाउँपालिका ६ पाखापानीका बलबहादुर शेरपुजाको घरमा पनि खेती गर्ने मानिस छैनन् । उहाँको परिवारमा श्रीमती र एक छोरा र बुहारी छन् । छोराले बेनी बजारमा व्यापार गर्छन भने बुहारीले घरमा नै पसल । वर्षौँ पहिलेसम्म मुरीका मुरी कोदो फलाउने उहाँको घरमा पछिल्लो समय एक गेडा पनि छैन ।

कोदो फलाउने रहर भएर पनि बुढेसकालका खेती गर्न नसकेको उहाँले बताउनुभयो । “कोदो खाँदा के फाइदा हुन्छ भन्ने कुरा अहिलेकालाई थाहा छैन। कोदोले दिने बल धानको भातले कहाँ दिन्छ र ?” उहाँले सम्झिनुभयो, “हामी साना हुँदा कोदोको ढिँडो र तरकारीसँग एक पेट भरेपछि ड्याम्म ज्यान बन्थ्यो। दिनभर काम गर्न सकिन्थ्यो ।” अहिलेका युवाहरूले कोदोको महत्व नबुझेका कारण उनीहरूमा पाको पुस्ताको जस्तो बल नभएको र निरोगी पनि हुन नसकेको उहाँको भनाइ छ ।

ADVERTISEMENT

औषधीय गुण भएको तागतिलो खाद्यान्न मानिने कोदोको खेती गाउँघर तिर निकै कम हुँदै गएको मालिका गाउँपालिकाको ओखरबोटका ६४ वर्षिय भवीराज विकले बताउनुभयो ।

कोदोको खेती गर्ने चलन कम हुँदै गएपछि उत्पादन पनि ह्वात्तै घटेको छ । कोदोको उत्पादन घटेसंगै यसको उपभोग पनि गाउँघर तिर कम हुँदै गएको स्थानीयले बताएका छन् । भएको कोदो पनि रक्सी पार्न(घरेलु मदिरा उत्पादन गर्न) का लागि प्रयोग हुन थालेपछि रोटी,ढिँडो,पिठो बनाएर खाने चलन हराउँदै गएको अर्मनका कृषक श्यामलाल सापकोटाले बताउनुभयो ।

गाउँघरमा कोदोको प्रयोग कम हुँदै गएको भए पनि सहरका होटलहरुले भने कोदोको परिकारलाई नै आकर्षणको रूपमा राख्न थालेका छन्। होटेलमा आउने पाहुनाहरूले बजारमा बेच्न राखिएको चामल भन्दा गाउँमा उत्पादित कोदोको परिकार खोज्ने र मूल्य पनि बढी तिर्ने गरेका बेनीको होटल यतिकी संचालिका विमला गौचनले बताउनुभयो । त्यसैगरी गाउँगाउँमा संचालित होमस्टे (घरवास) मा पनि कोदोको परिकारलाई प्राथमिकतामा राख्ने गरेको पाइएको छ ।

कोदोलाई खानाको रूपमा प्रयोग गर्नुपर्ने ठाउँमा घरेलु मदिरा बनाउन प्रयोग हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीले घरेलु मदिरा उत्पादनमा कोदोको प्रयोगलाई रोक लगाएको छ ।

चिकित्सा विज्ञानले खाद्यान्नको रूपमा कोदोको प्रयोग गर्नु राम्रो हुने बताएको छ । चिनी र प्रोटिनको मात्रा कम हुने भएकाले सबै खालका मानिस र बिरामीहरूका लागि कोदो राम्रो मानिने चिकिस्कहरुको भनाइरहेको छ । कोदोमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्ट लगायतका तत्वहरु पाइने ज्यामरुककोट स्वास्थ्य चौकीका चिकित्सक खगराज निउरे बताउनुहुन्छ । तौल घटाउन, मुटु सम्बन्धी रोग नियन्त्रण गर्न, हाड बलियो बनाउन, स्वस्थ पेट बनाउन पनि कोदोलाई राम्रो मानिने उहाँको भनाइ छ ।

म्याग्दीको २० हजार ४८२ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमध्ये ५सय हेक्टरमा कोदो खेती हुने गरेको कृषि ज्ञान केन्द्र म्याग्दीको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?