-अनिल पोखरेल
राजविराज । सप्तरीको राजविराजस्थित सामाजिक विकास इकाईका सबइन्जिनियर अजय कुमार साफी घुस काण्डमा फसेका छन् । उनले लिएको घुस रकम अख्तियारको टोलीलाई देखेपछि फालेर भागेका हुन् ।
भवन निर्माणको भुक्तानी दिन घुस मागिरहेको सूचना पछि अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले बिहीबार छापा मारेको थियाे । उपभोक्ता समितिले सम्पन्न गरेको कार्यको भुक्तानी दिनका लागि कर्मचारीले घुस मागेको आरोप लागेको छ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाका अनुसार अख्तियारको टोली पुगेपछि कार्यालयमा रहेका एक जना कर्मचारी ५० हजारको चेक र १५ हजार नगद फालेर भागेका थिए ।
सिरहाको नवराजपुर गाउँपालिका १ स्थित विद्यालयमा भवन निर्माण गरेको रकम निकासाका लागि उपभोक्तासँग सबइन्जिनियर साफीले ९० हजार रुपैयाँ घुस मागेका थिए । तर उपभोक्ताले ७५ हजार घुस दिन तयार भएपछि सबइन्जिनियर साफीले बोलाएर १५ हजार रुपैयाँ नगद र ६० हजारको चेक बुझेका थिए ।
ती कर्मचारीले फालेको १५ हजार रुपैयाँ नगद र ५५ हजार रुपैयाँको चेक बरामद भएको छ,’ प्रमुख जिल्ला अधिकारी थापाले भन्नुभयाे । ‘कार्यालय खुला रहे पनि कोही कर्मचारी नरहेको पाइएको छ भने कार्यालय प्रमुखको मोबाइलमा पनि सम्पर्क हुन सकेन।’ थप अनुसन्धान अघि बढाइएको उहाँले बताउनु भयो ।
घुस रकम र चेक बुझेलगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोली पुगेपछि सबइन्जिनियर साफी भागेका हुन् । उनले उपभोक्ताबाट बुझेको रकम र चेक फोहोर फाल्ने ठाउँमा फ्याँकेर भागेको अख्तियारका एक अधिकारीले जानकारी दिए ।






