अनुरागभित्रका रागहरूमा रुमलिँदा

Read Time = 19 mins

✍️ खेमनाथ दाहाल

आदि :
वर्तमानमा मेरो हातमा प्रवासी नेपालीका कविता कृति पर्दा प्रायश : त्यसको पठनले मलाई साहित्यानुरागी बनाउँछ र म आनन्द विभोर हुन पुग्दछु त्यसको ठीकविपरीत देशभित्र रचना भएका कविता कृति हातमा पर्दा राजनीतिको चेलोझैँ युद्ध, क्रान्ति र विद्रोहको पाठ पढिरहेको अनुभूति गर्दछु  । यसैले बेला बेला म कवितालाई परिभाषित गर्न हिचकिचाउँछु र इतिहासको सहारा लिन पुग्दछु । इतिहासलाई केलाउने क्रममा रामायण, महाभारतदेखि शाकुन्तल महाकाव्यसम्म आइपुग्दा कवि स्रष्टाका नाताले सूर्य नपुग्ने स्थानसम्ममा विचरण गर्ने प्रतिभा पनि अन्ततः युगचेतनाको प्रवोधक भएर काल, मौसम र त्यसको सेरोफेरोको वातारणमा प्रभावित हुँदोरहेछ, यही सत्यलाई पुनः अंगीकार गर्न पुग्दछु ।

वर्तमानमा देश अराजनीतिमय भएको छ । भ्रष्टाचारले तप्त छ । त्यसैले कविमन पनि व्यथित हुने अवस्थामा छ । ‘लासा जान कुत्तिको बाटो’ भनेझैँ म अहिले साहित्यिक भूमिका लेख्न बसेर राजनीतिक व्यथा पोख्तैछु, यहाँ यस्तै विसंगति व्याप्त भएको छ । अहिलेको अवस्थामा यस देशको कवि मन न त विश्वनाथको ‘रसात्मक वाक्य नै काव्य हो’ भन्ने परिभाषालाई अंगीकार गर्ने अवस्थामा छ न त ‘सुन्दर अर्थयुक्त पदावली नै काव्य हो’ भन्ने दण्डीको भनाइलाई अवलम्बन गर्ने अवस्थामा छ । म देख्छु मेराअगाडि कविमन कलम होइन बन्दुक बोकेर विद्रोहीझैँ खडा छ । यसो भनिरहँदा म डराउँछु कतै कविमन विद्रोहको प्रतिकूल परिणाम निरो भयो भने ?

अनु शाहका डायस्पोरिक चेतनायुक्त कविता पढ्दै गर्दा मलाई कताकता कविताका परिभाषाहरू पुनः स्मरण भएको अनुभूत गरिरहेको छ । डायस्पोरिक युग चेतना प्रवोधक यस प्रकारका वाचाल सुन्दर कविताहरू नेपाली साहित्याकाशको भण्डारमा बढेकोमा गर्व महसुस भइरहेको छ ।

तर, जब डायस्पोरिक नेपाली कविता कृतिहरू मेरो हातमा पर्दछन्, मेरो कविमन त्यहाँ विश्वनाथ, दण्डी र भामहदेखि मैथ्यु अर्नाडसम्मको स्पदन पाउँछ र पुनः आफ्नो लयमा फर्किएर कलम पकड्न पुग्छ । अहिले सूर्य चन्दजीमार्फत अनु शाहको अनुराग कवितासंग्रहको पाण्डुलिपिमाथि भूमिका लेख्ने सन्दर्भमा म लयमा फर्किएको अनुभूत गर्दै राजनीतिको तप्तताबाट केहीक्षण राहत पाएको महसुस गरिरहेको छु । अनु शाहका डायस्पोरिक चेतनायुक्त कविता पढ्दै गर्दा मलाई कताकता कविताका परिभाषाहरू पुनः स्मरण भएको अनुभूत गरिरहेको छ । डायस्पोरिक युग चेतना प्रवोधक यस प्रकारका वाचाल सुन्दर कविताहरू नेपाली साहित्याकाशको भण्डारमा बढेकोमा गर्व महसुस भइरहेको छ ।

कृतिकारको परिचय :
लालविक्रम शाह तथा दयादेवी शाहकी प्रथम सन्तानका रूपमा काउमाडौंको सीतापाइलामा जन्मिएकी अनुराधा (अनु) शाह कृतिकारका रूपमा साहित्य संसारमा नौलो देखिए पनि नेपाली गीत, संगीत तथा कला क्षेत्रमा सुपरिचित नाम हो । बाल्यकालदेखि नै विभिन्न रंगमञ्चमा रङ्गिएकी शाहले रेडियो नेपाल, राष्ट्रिय नाचघरजस्ता तत्कालका ख्यातिप्राप्त संस्थाहरू मार्फत आफ्नो कला प्रदर्शन गर्दै एक कुशल गीतकार, मोडलका अतिरिक्त योग्य पत्रकारको रूपमा समेत आफूलाई नेपालीको मनमा स्थापित गरिसकेकी छन्  । दुई सयभन्दा बढी गीतहरू रेकर्ड गराएर प्रतिष्ठा कमाएकी अनुका आफूले निर्माण गरेका दुई दर्जनभन्दा बढी म्युजिक भिडियोेले उनको व्यक्तित्वमा अझै सुनमा सुगन्ध थपेका छन्, उनको क्षमतालाई प्रदीप्त बनाएका छन् ।

बहुप्रतिभाकी धनी अनुले नेपाली भाषाका अलावा हिन्दी, अंग्रेजी, नेवारी र मैथिली भाषामा समेत रचना गरेर प्रकाशमा ल्याएकी छन् भने अंग्रेजी भाषामा शाहद्वारा रचित ‘कम टेक माई हृयान्ड हृवेन आई एम फिलिङ डाउन’ शीर्षकको गीत गायिका शीतल मोक्तानको स्वरमधुरिमा नयाँ पुस्ताको प्रिय गीत बनेको छ र प्रसिद्धि चुमेको छ । अनुको यस प्रकारका रचनाहरूले योग्यताका कसीमा उनको उचाइ थपेको छ भन्दा अतिशयोक्ति नहोला ।

बोस्टनमा स्थायी बसोवास गरिरहेकी मनोविज्ञानशास्त्री अनुले मनोविज्ञानमा अमेरिकाको नर्थ इस्टर्न विश्वविद्यालयबाट स्नातकोत्तर गरेकी छन् र शिक्षण पेशामा आबद्ध छिन् । उनी एकातिर मूलतः शिक्षण पेशामा आबद्ध रहेर विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय संघ-संस्थाहरूः गीतकार संघ (नेपाल), अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), ज्योति साहित्य प्रतिष्ठानजस्ता प्रतिष्ठित संस्थाहरूका आजीवन सदस्यका रूपमा सक्रिय छिन्  । प्रवासी भएर बोस्टनमा बसे पनि मातृभूमि नेपालका विभिन्न सामाजिक संघ-संस्थाहरूमा आबद्ध भएर अनाथ असहायहरूको दुःखमा मलम लगाउन यत्न गर्ने शाह सामाजिक क्रियाकलापमा समेत अग्रिणी भूमिकामा देखा पर्ने गर्दछिन् । भीमदत्त चलचित्रमा सह–निर्माताका रूपमा प्रवेश गरेर अन्ततः निर्माता भएर उनले निर्माण गरेका सुक्का मानो र उफ् यो मन दुई चलचित्रहरू भने अद्यापि प्रदर्शनको पर्खाइमा छन् ।

अञ्जुली, अनुराधा, जे मन लाग्छ गरे हुन्छ र पानीको फोकाजस्ता सफल एकल गीति एल्वममार्फत नेपाली कला साहित्यलाई योगदान दिन सफल शाह पनि अन्ततः घुमीफिरी साहित्यको मूलधारमा अनुराग कवितासंग्रह लिएर प्रवेश गरेकी छिन् । एक नारी हुन सजिलो होला तर एक सफल नारी हुन विश्व रंगमञ्चमा नै निकै कठिन काम हो  । मानवतावाद, महिला अधिकारवाद र समानताका जतिसुकै कुरा गरे पनि विभेदको आहालबाट उब्जिएको यो विश्व समाज अझै विभेदता मुक्त छैन तथापि शाहजस्ता योद्धा नारीहरूको उदयले थप आशा अवश्य पलाउने छ । तसर्थ उनको नेपाली साहित्य आकाशमा हुने उदय पनि अर्थपूर्ण हुने अपेक्षा गर्नु वाञ्छनीय हुनेछ ।

अनुरागका कविताभित्र :
अनुराग कवितासंग्रह कवि अनुराधा शाहको प्राञ्जल र सरल भाषाका अतिरिक्त डायस्पोरिक चेतनायुक्त कृति हो । यो कृति एकहत्तर कविता गुच्छहरूको पुञ्जका रूपमा प्रकट भएको छ । वर्तमानमा नेपाली अवसरको खोजीमा विश्वका कुनाकुनामा पुगेका छन् । एक प्रकारले यसरी पलायन हुने कर्म आज नेपाली समाजमा परम्पराका रूपमा विकसित भइरहेको छ । यही परम्परालाई टेकेर अमेरिका पुगेकी अनु शाह पनि डायस्पोरिक समाजकी अंग भएकी छन् र आप्रवासनको विविध पक्षलाई यस कृतिमार्फत उजागर गरेकी छिन् । सम्पूर्ण कृतिको अध्ययन गर्दा धेरै ठाउँमा आत्मवृत्तान्तका रूपमा प्रकट यो कृति मूलतः आफ्नो जन्मभूमिबाट बाहिरिएको मानिस असमान्य परिस्थितिबाहेक अन्य अवस्थामा कायाले मात्र प्रवासी हुन सक्तछ भन्ने सत्य कथ्यलाई प्रमाणित गर्दछ  ।

ADVERTISEMENT

हो, प्रवासमा जति वर्ष बिताए पनि मानिस आफ्नो जन्मभूमिसँग जोडिएको नागरिक बन्दछ  । त्यसैले एक नेपाली अमेरिकी नागरिक भए पनि ऊ नेपाली अमेरिकी भनेर जानिन्छ । मानिस जहाँजता पुगे पनि केवल भौतिक रूपले मात्र अर्को देशको नागरिक बन्छ र मनमा मातृभूमिको तृष्णामा छट्पटिरहन्छ र अन्त्यमा यही सत्य नै कृति अनुरागका सुस्केरा भएर निस्कन्छ । प्रवास पुगेर जब मानिस अनुझैँ विभिन्न रूपमा आफ्नो पहिचान खोज्न थाल्दछ तब उसले जीवनको सत्य बुझ्दछ । यस कृतिमा ‘को हुँ म ?’ कवितामा आफ्नो पहिचान कहिले अँध्यारोमा आफैंलाई तर्साउने छाया, कहिले कुहिरोसँग लुकामारी खेल्ने काया, कतै देवकोटाकी चारु, कतै प्रेमाशाहको पहेलो गुलाफ कतै

वर्डस वर्थकी लुसी ग्रे त कतै मल्लको अनुराधाको रूपमा अनुले आफूलाई खोजेझैँ प्रवासमा हरेकले आफूलाई खोजेको हुन्छ यो सत्यलाई उनले प्रष्ट उजागर गरेकी छन् ।

कवि अनुले आफ्ना कृतिको सुरुवात ‘आमा’ कविताबाट गरेकी छन् । यसबाटै अनुका कृतिभित्रका कविताहरूको संवेदनशीलताको पूर्वानुमान गर्न सकिन्छ । जगत्मा जन्मदिने आमाभन्दा प्यारो के हुन्छ र ? संसारमा जन्मदेखि मृत्युपर्यन्त प्राणीमात्रले सम्झने साझा र पवित्र शब्द आमा नै हो । यस कवितामा स्कन्दपुराणमा उल्लेखित यस संसारमा आमासमान छाया, गति, त्राण र प्रपा दिने अर्को कोही हुन सक्तैन भन्ने उक्तिलाई अनुले आफ्ना रचनामार्फत अझ उजागर गरेकी छिन् । उनले आमालाई जगत्जननी, ममताकी खानी, निर्मल, मनकी रानी आदि विविध शब्दावलीले अलंकृत गर्दै प्रवासबाट आमाको स्मरणमात्र गरेकी छैनन् जनम जनमतक तिम्रै सन्ततिको रूपमा जन्मेर दूधको भारा र ममताको मूल्य चुकाउन पाउँ भन्ने अभिलाषासमेत प्रकट गरेकी छिन् ।

प्रेमको परिभाषा खोज्दै गर्दा राजा भर्तृहरि र उनको नीतिशतकसम्म पुगिन्छ जहाँ पुगेर पनि पूर्णतः तृप्ति प्राप्त गर्न सकिँदैन । एक थरी विद्वान्हरू प्रेम र यौनको अनन्य सम्बन्ध व्याख्या गर्दछन् भने योगी यौनरहित प्रेममा विश्वास गर्दै यसलाई मुक्ति र मोक्षको मार्ग भन्छन् ।

आफन्तबाट जति टाढा गइन्छ उति नै सम्झना र मायाले सताउँछ । आमाको ममताको व्यापकता अनन्त छ । अभिभावकदेखि सेवकसम्मको अभिभारा सम्हाल्ने आमाको व्याख्या गर्न खोज्नु केवल सूर्यलाई बत्ती देखाउनु सदृश हो तथापि मानिसको अतृप्त मन अनन्तको पहाड चढ्न खोज्छ र यसैलाई रीत सम्झेर बारम्बार दोहोर्‍याइरहन्छ  । यो क्रमबाट कवि अनु पनि अछुतो रहन सक्तिनन् र ‘आमा’ कवितामा यसरी आफ्ना भावना पोेख्छिन्-
चौतारी हो तिम्रो विशाल हृदय मेरो दुःख बिसाउन ।
एक जुनी काफी छैन, ममताको मूल्य चुकाउन ।
सकिनँ तिर्न दूधको भारा यो जीवनमा म के गरूँ ?
अर्को जन्म पाएछु भने आमा तिम्रै कोखमा परूँ ।
डायस्पोराका कविताहरूमा पाइने विशेषता वा समता भनेको कुनै पनि रचनामा कहीँ कतै जन्मभूमिको स्मरण, उल्लेख हुनु नै हो  । अनुको यस कृतिमा पनि स्वभावेन यो कुरा पर्याप्त पाइन्छ । मानिस देशबाट जति टाढा पुग्छ ऊ उति नै मनमा देशको नजिक हुन थाल्दछ । यसबखत उसले प्रवास देखेको हरेको वस्तुमा समेत मातृभूमिको रंग र गन्ध खोज्न थाल्छ । कविले चेरी फुल्दा पैँयू फुलेको देखेझैँ हरेक प्रवासीले कल्पनामा तरंगित हुँदै आफ्नो अतीतको स्मरण गर्न पुग्छ । यही परम्परालाई कायम गर्दै कवि अनु पनि ‘माइतीघरको याद’ कवितामा आफ्नो उद्गार यसरी पोख्छिन्-
चेरीको बोट लटरम्म फुलेको दखेर
बारीको डिलमा पैँयू फुलेको याद आयो
लुकामारी खेल्दाखेल्दै जोवन फुलेछ,
चारो खोज्न गएकी चरीले गुँड नै भुलिछ
बाबा ¤ आज मलाई तिम्रो धेरै याद आयो
तिम्रो औँला समातेर हिँडेको आँगनको याद आयो
आज किन किन मलाई मेरो बालापनको याद आयो
आज दिनभरि मलाई माइतीघरको याद आयो ।
प्रवासमा पुगेपछि स्वदेशलाई यस कविताका शब्दमाजस्तै माइतीघरलाई सम्झनु कर्तव्य भएको महसुस गर्न थाल्दछ हरेक प्रवासीले । विश्वको उच्चतम प्राकृतिक सम्पदा सम्पन्न देशका सन्ततिले चारो खोज्न जानु र गुँड भुल्नुपर्ने अवस्था आउनु आफैंमा विडम्बना हो तर आज विदेशिनु नेपाली युवाको नियति भएको छ  । यो कति पीडादायक छ भन्ने कुरा यस कविताभित्र यो ‘चारो खोज्न गएकी चरीले गुँड नै भुलिछ’ पंक्ति उल्लेख हुनुबाटै प्रष्ट हुन्छ ।

प्रेमको परिभाषा खोज्दै गर्दा राजा भर्तृहरि र उनको नीतिशतकसम्म पुगिन्छ जहाँ पुगेर पनि पूर्णतः तृप्ति प्राप्त गर्न सकिँदैन । एक थरी विद्वान्हरू प्रेम र यौनको अनन्य सम्बन्ध व्याख्या गर्दछन् भने योगी यौनरहित प्रेममा विश्वास गर्दै यसलाई मुक्ति र मोक्षको मार्ग भन्छन् । प्रेम आफैँमा व्यापक अविरल र अविनाशी छ त्यसमाथि महाकाव्य अर्थात् ‘प्रेमको महाकाव्य’ कविता लेख्न यत्न गर्नु कविका उर्वरक मस्तिष्कको साहसिक सोचाइ हो भन्नमा अतिशयोक्ति नहोला  ।

यस कविताको शीर्षकमात्र सुन्दा लाग्न सक्छ पहिलो (यौन) पक्षलाई शृंगार गरेर कविले प्रेम र प्रणय कथागाथा अथवा विछोडका विरह वेदना पोखेको हुनुपर्दछ द । र, कविता पढ्दै गर्दा कवि त्यसबाट माथि उठिसकेकी आभास पाइन्छ । गम्भीर विषयको उष्ठान गरेर सहजै अवतरण गर्नु एक कला हो । यसमा कवि पूर्णतः सफल भएकी छन् । यस कवितालाई प्रकृतिमय बनाउनु कविको वैशिष्ट्य हो । कविले यस कवितालाई अन्त्यमा प्रकृतिमा लीन गर्नुले कविको विशेष पहिचान भएको छ ।
जब प्रेमको महाकाव्य सुरु भयो
यो सुन्दर संसारमा
प्रकृतिले मदहोश तरंग छेडिन्........
.......अनि शरदको जुनेली रात
सिमसिमे बर्सात्,
अनि कोइलीको कुहु..कुहु..
अनि झरनाको झंकार
नृत्यमा पारंगत मयुर
नाच्न थाल्यो आफ्नै मनको आँगनीमा
अनि तिमी त्यही प्रकृतिको सुन्दर रचना
अब तिमी आफैँ भन
म कसरी तिमीलाई माया नगरूँ ?

क्रमशः

Khemdahal1@gmail.Com 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?