-नन्दराम जैशी
सुर्खेत । कर्णाली सरकारले आर्थिक बर्ष २०७९/०८० का लागि ३२ अर्व ९७ करोड १९ लाख ४२ हजार रुपैयाँको बजेट ल्यायो । तर समयमै बजेट कार्यान्वयन गर्न नसकेका कारण कुल बजेटमध्ये १० अर्ब बढी बजेट फ्रिज भएको छ । तथ्यांक अनुसार १० अर्व ६९ करोड ५३ लाख १४ हजार आठ सय सात रुपैयाँ ७७ पैसा बजेट असार २४ गतेसम्म खर्च नभएको हो ।
कर्णाली प्रदेश सरकारले चालु आर्थिक बर्षमा कुल बजेटको ६७ दशमलव ५६ प्रतिशत बजेट खर्च गरेको छ । असार २४ गतेसम्म बजेट खर्चमा चालु तर्फ ७२ दशमलव ८४ प्रतिशत र पुँजिगत तर्फ ६४ दशमलव शून्य आठ प्रतिशत बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय, सुर्खेतका लेखा अधिकृत मिलनकुमार शर्माले जानकारी दिनुभयाे ।
चालु तर्फ १३ अर्ब १० करोड ८३ लाख १९ हजार सात सय ५५ रुपैयाँ विनियोजित भएकोमा जसमध्य नौं अर्व ५४ करोड ७६ लाख १९ हजार ६५ रुपैयाँ ५० पैसा बजेट खर्च भएको छ । भने पूँजिगत तर्फ १९ अर्व ८६ करोड ३६ लाख २३ हजार दुई सय रुपैयाँ बजेट विनियोजन भएकोमा १२ अर्ब ७२ करोड ९० लाख नौं हजार ८१ रुपैयाँ ७३ पैसा बजेट खर्च भएको लेखा अधिकृत शर्माले बताउनु भयाे ।
खर्च प्रतिशत बढ्यो
अघिल्लो आर्थिक वर्ष २०७८/०७९ को तुलनामा चालु आ.ब २०७९/०८० मा बजेट खर्च प्रतिशत भने बढेको छ । २०७८/०७९ को असार २६ गतेसम्ममा कर्णाली प्रदेश सरकारले ६२ दशमलव ३७ प्रतिशत बजेट खर्च गरेको थियो । तर चालु आ.ब को असार २६ सम्म ६७ दशमलव ५६ प्रतिशत बजेट खर्च भईसकेको छ । गत बर्षको तुलनामा यो पाँच दशमलव १९ प्रतिशतले बढी हो ।
कर्णालीमा मन्त्रालयगत बजेट खर्च विवरण हेर्दा जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले सबैभन्दा धेरै बजेट खर्च गरेको छ । भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबैभन्दा कम बजेट खर्च गरेको छ । ऊर्जा विकास मन्त्रालयले ८३ दशमलव २७ प्रतिशत बजेट खर्च गर्दा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ४५ दशमलव ७२ प्रतिशत मात्र बजेट खर्च गरेको छ ।
यता सामाजिक विकास मन्त्रालयले ७१ दशमलव ४५ प्रतिशत, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ७० दशमलव २७, आर्थिक मामिला तथा योजना मन्त्रालयले ६५ दशमलव ८३ र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ६५ दशमलव १५ प्रतिशत बजेट खर्च गरेका छन् ।
यस्तै आन्तरिक मामिला तथा कानून मन्त्रालयले ६० दशमलव १० प्रतिशत, भौतिक पूर्वाधार विकास मन्त्रालयले ५४ दशमलव ९०, प्रदेश व्यवस्थापिकाले ५९ दशमलव ३६, प्रदेश लोक सेवा आयोगले ७२ दशमलव ७६, मुख्य न्यायधिवक्ताको कार्यालयले ८४ दशमलव ९० र कर्णाली प्रदेश योजना आयोगले ५४ दशमलव ७३ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
चार दिनमा पाँच अर्ब बढी भुक्तानी
कर्णाली प्रदेश सरकारले चार दिनमा पाँच अर्ब बढी रकम भुक्तानी दिएको छ । असार २१ गतेदेखि २४ गतेसम्ममा मात्र पाँच अर्व चार करोड ३८ लाख ८२ हजार ९२ रुपैयाँ ५० पैसा भुक्तानी दिएको प्रदेश लेखा नियन्त्रकको कार्यालय, सुर्खेतको तथ्यांकमा उल्लेख छ ।
चार दिनको समयमा चालु तर्फ एक अर्व ४६ करोड ३१ लाख ४८ हजार आठ सय ९५ रुपैयाँ ९६ पैसा र पूँजिगत तर्फ तीन अर्व ५८ करोड सात लाख ३३ हजार एक सय ९६ रुपैयाँ ५४ पैसा भुक्तानी भएको हो । यस अघि असार २० गतेसम्ममा कर्णाली प्रदेश सरकारले कुल १७ अर्ब २३ करोड २७ लाख ४६ हजार ५४ रुपैयाँ ७३ पैसा बजेट खर्च गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच