स्याङ्जा । स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिका वडा नं ३ अन्तर्गत भाटखोलाका तटीय क्षेत्रहरु सडक निर्माणसँगै जोखिममा पर्ने खतरा बढेको भन्दै यहाँका बासिन्दाहरु चिन्तित बनेका छन् ।
सर्केटारी–गलेम राँपु–खामुहाले सडकको निर्माणसँगै भाटखोलासँग जोडिएका बस्तीहरु जोखिममा परेका हुन् । विगत केही वर्षदेखि निर्माण हुँदै गरेको सो सडक अन्तर्गत गलेमभीरको चट्टान खन्ने क्रममा त्यसबाट निस्किएको ढुङ्गा, माटो र कङ्क्रिट सामग्री तलतिर बग्दा खोलाले भाटखोला क्षेत्रका खेतहरुमा समेत ठूलो क्षति पु-याएको भन्दै भाटखोलाबासीहरुले गुनासो व्यक्त गरेका छन् ।
भाटखोला निवासी स्थानीय मनु क्षेत्रीले भन्नुभयो, ‘हामी विकास विरोधी होइनौँ । हामी सडक बनेकोमा जति खुसी छौं त्यो भन्दा बढी सडकबाट क्षति हुँदै गरेका बस्तीहरु तथा हातमुख जोर्ने खेत पुरिँदै गएकोमा चिन्तित छौंँ । थुलटारी, सिमलबोट, बगुवा, प्रतेरी, बलाम्दी, तीसमुरे, बनुवा, ठूलाखेत, पुलको मुख लगायतका तटीय फाँटहरुमा वर्षाको याममा खोलामा आउने माटो र चट्टान तथा बालुवा मिसिएको लेदोले पुरेको हुनाले ती खेतहरु बिस्तारै बाँझो हुने क्रम बढेको उहाँले बताउनुभयो ।
फेदीखोला ३ भाटखोला गाउँका तरुणबहादुर रानाभाटले भन्नुभयो, ‘घाँसदाउरा गर्ने ठाउँमा जान सकिएको छैन । हाम्रो घर कतिबेला लैजाने हो थाहा छैन । हामी विस्थापित हुनुपर्ने अवस्था छ । खेत जति खोलाले लग्यो । सरकारसँग हाम्रो बस्ती र खेत जोगाइदिन अनुरोध छ ।’
सर्केटारीदेखि पञ्चासे जोड्ने महत्वकांक्षी सडक योजनाका कारण यो सडक विस्तार निरन्तर भइरहेको र भाटखोलामा यसको असर पनि बढ्दो रहेको गाउँलेहरुको गुनासो रहेको छ । ‘हामी विकासविरोधी नभएर पनि सडक बन्दा त्यसबाट निस्किने गिटी, बालुवा, ढुङ्गाहरु तल बगेर पनि धान उत्पादन हुने थुप्रै खेत पुरिएका छन् । खेतमा बालुवा छ । सिंचाइ बगाएको छ ।’ स्थानीय जगदीश लामिछानेले भन्नुभयो ।
‘सडकभीर तलका गाउँ र खेतहरुमा वर्षाको समयमा क्षति हुने गरेको छ । यहाँका किसानहरु खेत बाँझो छोड्न बाध्य भएका छन् । भविष्यमा पनि यहाँका बस्तीहरु जोखिममा पर्दै गएका छन् ।’ स्थानीय जीवन रानाभाटले बताउनुभयो ।
सडक निर्माण विकासको लागि अत्यावश्यक छ । यसलाई रोक्ने काम कतैबाट राम्रो होइन तर कारण असार साउनमा आउने भेलबाट भाटखोलामा बाढी आउने गरेको छ । यससँगै प्रत्येक वर्ष माटो ढुङ्गा र लेदोसहित उर्लिने भाटखोला तलतिर बग्दै जाँदा यसबाट सिम्खेतदेखि लामागे फाँटसम्म असर पुगेको तल्लो तटीय क्षेत्रका बासिन्दाहरुको भनाइ रहँदै आएको छ ।
भाटखोला गाविस हुँदा रहेका बस्ती र खेतमा मुख्य प्रभाव परेको फेदीखोला गाउँपालिका वडा नं ३ का वडाध्यक्ष कृष्ण रानाभाटले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सर्केटारी–गलेम–पञ्चासे सडक निर्माण सकारात्मक भए पनि त्यसका कारण सबैभन्दा बढी असर भाटखोलाका जनताले बेहोर्नुपरेको छ । यहाँका दमलाख लगायतका बस्तीहरु नै सङ्कटमा परेका छन् भने कुला नहर बाटो सबै विनास भएका छन् ।’ उहाँले प्रदेश र सङ्घीय सरकारसँग पटक पटक यस विषयमा कुरा गर्दा हुन्छ भने पनि समाधानका लागि अहिलेसम्म कुनै पहल नभएको बताउनुभयो ।







गाउँ पालिक ले टेन्डर आवान गरेर ढुङ्गा, गिटि ,बालुबा बेचेर पैसा उठायो तर स्थानिय लाई तार जाली उप्लब्ध गराउन सकेन
Yasma men damlak base lai sarai marka pareko xa yasko lage sambandhet nekayeko dhayan jawos
सही हो यो कुरा कसले बुझिदिने बुझ्ने वाला सरोकार कोही छैन मारमा जो परो परो कि कसो हैन र।