वास्तविक किसानले पाउन सकेनन् कृषि र भेटेरिनरीको सेवा

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 5 mins

म्याग्दी । म्याग्दीमा बास्तविक किसानले राज्यबाट पाउने सुविधा पाउन सकेका छैनन् ।

कृषि ज्ञान केन्द्र म्याग्दी र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको संयुक्त आयोजनामा जिल्ला समन्वय समितिको सभाहलमा भएको चालू आर्थिक वर्ष २०७९/०८० मा सञ्चालित वार्षिक कार्यक्रमहरुको सार्वजनिक सुनुवाई कार्यक्रममा राज्यको सेवासुविधामा बास्तविक किसानलाई समेट्न नसकेको गुनासो राखेका थिए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी किसानहरुले आकाशे पानीको भरमा खेती गर्दा किसानहरु समस्या परेको, लम्पीस्किन रोगको नियन्त्रण हुन नसक्दा खेतीबाली लगाउन कृषकलाई असहज भएको, सिचाई कार्यक्रम वास्तविक किसानको समुहलाई समेट्न नसकेको, कृषि र पशुपालनको कार्यक्रममा कार्यालयका कर्मचारीलाई सहज हुने ब्यक्ति र समुहलाई अनुदान वितरण गरेको लगायतको गुनासो राख्नुभएको थियो ।

किसानहरुले राखेको जिज्ञासाको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देल र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त प्रमुख रामकृष्ण सुवेदीले जवाफ दिनुभएको थियो ।

कार्यक्रममा उपस्थित किसानले कृषि र पशुपालनमा भएका समस्या न्यूनिकरण हुने गरी पहल गर्न गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात ब्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीलाई आग्रह गरेका थिए ।

कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले किसानहरु व्यवहारिक ज्ञानको खानी भएकाले आफ्नो ज्ञान, सिप र अनुभवलाई कृषि क्षेत्रको विकासमा लगाउन सुझाव दिनुभयो ।

ADVERTISEMENT

उहाँले म्याग्दी फलफुल उत्पादन र पशुपालनको क्षेत्रमा मुख्य सम्भावना बोकेको जिल्ला भएको बताउँदै कृषि क्षेत्रको विकास र सिँचाइका लागि प्रदेश सरकारबाट आवश्यक सहयोग उपलब्ध गराउने बताउनुभयो ।

सोही कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य बिमला गौचनले किसानहरुले मौसम अनुकुल हुने गरी कृषि तथा बालीनालीको खेती गर्न सुझाव दिँदै सबैभन्दा धनी किसान भएकाले राज्यबाट प्राप्त अनुदानको सही रुपमा सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न कार्यक्रममा कृषि ज्ञान केन्द्र म्याग्दीका बाली संरक्षण अधिकृत सञ्जीव बाँस्तोलाले चालु आवमा कृषि ज्ञान केन्द्रमार्फत सञ्चालित कार्यक्रमहरुको बारमो आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो । चालु वर्षमा कृषि ज्ञान केन्द्र म्याग्दीले संघ र प्रदेशबाट प्राप्त कुल बजेट पाँच करोड ४६ लाखमध्ये तीन करोड ५० लाख १० हजार रुपैयाँ खर्च गरेको जनाएको छ ।

यसैगरी कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त प्रमुख रामकृष्ण सुवेदी र नायव पशु सेवा प्राविधिक गणेशप्रसाद रिजालले प्रस्तुतीकरण गर्नुभएको थियो । चालु आवमा प्रदेश सरकारबाट भेटेरिनरी अस्पताललाई पुँजीगत र चालुतर्फ गरी कुल चार करोड ३६ लाख ७१ हजार रुपैयाँ बजेट प्राप्त भएकोमा तीन करोड ५६ लाख ९० हजार रुपैयाँ अर्थात् ८१ दशमलव ७२ प्रतिशत बजेट खर्च भएको छ ।

म्याग्दीमा बाख्रापालन, घुम्ती भेडा तथा बाख्रापालन, कुखुरापालन, भैंसीपालन, बंगुरपालन र चौरीपालन हुँदै आएको छ ।

प्रमुख सिग्देलको अध्यक्षता, निमित्त प्रमुख सुवेदीको स्वागत, कृषि ज्ञान केन्द्रका सहायकस्तर पाँचौं भोलानाथ आचार्यले सञ्चालन गर्नुभएको सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण पत्रकार सन्तोष गौतम, साधन राम्जाली र प्रताप बानियाँले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज