बागलुङ । केही दिनदेखि परेको अविरल वर्षाको कारण बागलुङमा दुई वटा विद्यालय पहिरोको जोखिममा परेको छन् । जिल्लाको निसीखोला गाउँपालिका–६ स्थित देउराली प्राथमिक विद्यालय र बडिगाड गाउँपालिका–५ दाँग स्थित थानापति आधारभूत विद्यालय पहिरोको जोखिममा परेका हुन् । विद्यालय पहिरोको जोखिममा परेपछि पठनपाठनमा समस्या भएको छ ।
पहिरोले देउराली प्राविको भवनको जगनै बगाउन थालेको छ भने थानापति आधारभूत विद्यालयको खेल मैदान बगाएको छ । अघिल्लो वर्षदेखि पहिरोको जोखिममा परेको देउराली प्रावि अहिले भवननै बग्ने खतरा बढेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र घर्ती मगरले जानकारी दिनुभयो । विद्यालय संरक्षणका लागि गाउँपालिका र प्रदेश सरकारलाई आवश्यक बजेट विनियोजन गर्न आग्रह गरेको अध्यक्ष घर्ती मगरले बताउनुभयो ।
पहिरोले खेलमैदान बगाएसँगै विद्यालय भवनहरु जोखिममा परेको थानापाती आधारभूत विद्यालयका प्रधानाध्यापक खिमराज घिमिरेले बताउनुभयो । विद्यालय पहिरोका कारण जोखिम मोलेर पठनपाठन गर्न बाध्य भएको उहाँको भनाइ छ । बर्खा सुरु भएपछि दिनदिनै पानी पर्न थालेको भन्दै कति बेला विद्यालय बगाउँछ भन्ने त्रास हुने प्रधानाध्यापक घिमिरे बताउनुहुन्छ ।
विद्यालयमा अधिकांश स–साना बालबालिका मात्रै रहेको हुँदा पहिरोबाट लड्ने खतरा बढेको उहाँले बताउनुभयो । पहिरोले खेलमैदान बगाएपछि विद्यालय संरक्षणका लागि गाउँपालिकामा जानकारी गराएको उहाँको भनाइ छ । विद्यालयको मुख्य भवनको तल्लो भागको पहिरोले बगाउँदा शौचालय जान–आउन समस्या भएको उहाँले बताउनुभयो ।
प्रधानाध्यापक घिमिरेले भन्नुभयो– ‘बर्खा लाग्यो, अहिलेसम्म यस्तो समस्या त आइ परेको थिएन, अहिले एक्कासी पहिरोले ग्राउण्ड भत्कियो, ग्राउण्ड भत्किएपछि माथिल्लो पट्टिको भवन पनि जोखिममा छ, यहाँ बाल विकास र तल्लो कक्षामा पढ्ने विद्यार्थी हुँदा खेल्दै गएर लड्छन् कि भन्ने जोखिम बढेको छ, पहिरोको तल तिरबाट ग्याविनसहितको पर्खाल नलगाएसम्म सुरक्षित हुने देखिन्छ ।’
बडिगाड गाउँपालिकाका उपाध्यक्ष भिमशेन वनले पहिरोबाट विद्यालय भवन र अन्य संरचना संरक्षणका लागि पहिरो नियन्त्रण गर्ने बताउनुभयो । बर्खामा हुने संभावित घटनालाई मध्यनजर गरि गाउँपालकाले उद्धार लगायतका बारेमा योजना बनाएको भन्दै विद्यालय संरक्षण गर्ने दायित्व आफूहरुको रहेको वनले बताउनुभयो ।
कक्षा आठसम्म पढाई हुने यस विद्यालयमा एक सय ५० विद्यार्थी अध्ययनरत रहेका छन् । सोही विद्यालयमै बाल विकास केन्द्र पनि संचालनमा छ । यहाँ १७ जना बालबालिका अध्ययन गर्न आउने विद्यालयले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts