मौलिकता गुमाउँदै खहरे गाउँ

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 6 mins

बागलुङ । बागलुङ बजार नजिकै छ खहरे गाउँ । दशक अगाडिसम्म गाउँमा ढुङ्गाले बान्की मिलाएर छाएको छानो, सेतो कमेरो र माटोले पोतिएका घर थिए । शहरबाट नजिक सुन्दर गाउँ भएकाले घुम्न आउनेहरु मोहित हुन्थे । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमै पर्ने भए पनि खहरे गाउँलाई आधुनिकताले छोएको थिएन । मौलिक कला, संस्कृति र सम्पदा संरक्षित थिए । तर अहिले गाउँले मौलिकता गुमाउँदै गएको छ । गाउँमा मौलिक परम्परा बोकेका घरहरु भेट्याउनै मुस्किल छ । खर र ढुङ्गाका छाना भएका घर कम हुँदै गएका छन् ।

पछिल्लो समय गाउँमा घरहरु जस्तातापाले छाइन र सिमेन्टले ढलान हुन थाले । जसले गर्दा गाउँको पहिचान हराउन थाल्यो । अहिले धमाधम सिमेन्ट र रडले घर निर्माण भइरहेका छन् । माटो र कमेरोको सट्टा सिमेन्ट र केमिकलका रङ लगाउने प्रचलन बढ्दै गयो । यस गाउँका वरपर थुप्रै पाटी पौवा, पोखरी र सितलताका लागि चौतारा थिए । सडकका कारण पोखरी र चौतारा लगायतका सम्पदा मासिँदा अहिले उजाड जस्तो बनेको छ । सडकको छेउछाउमा रहेका खेतीयोग्य जमिन मासेर नयाँ घर भवन बनि रहेका छन् ।

गाउँमा सहर बजारका जस्ता घर बन्दै गएपछि मौलिकता गुम्ने खतरा बढेको स्थानीय जंगबहादुर कार्कीले बताउनुभयो । साढे दुई दशक अगाडि लोकमार्गले खहरे गाउँ जोडिएपछि लामो समय गाउँ, गाउँकै रुपमा रहे पनि अहिले तीव्र रुपमा बजारीकरण हुन थालेको कार्कीको भनाइ छ । अहिले गाउँबाट विदेश जानेको संख्या बढेको र विदेशमा कमाएर ल्याएपछि गाउँमा पुराना घर भत्काएर सिमेन्टका पक्की घर बनाउन थालेको कार्की बताउनुहुन्छ । सहताको लागि आफूले पक्की घर बनाए पनि घरको फाइदाभन्दा बेफाइदा धेरै रहेको कार्कीलाई आजभोली महशुस हुन थालेको छ ।

‘हाम्रो पालामा गाउँमा यस्ता घरहरु थिएनन्, तलदेखि माथिसम्म सबै ढुङ्गा माटोका घर थिए, बस्ती पनि अहिलेको जस्तो बाक्लो थिएन, तर अहिले दिनदिनै नयाँ घरहरु बन्दै गए, बस्ती थपिँदै गए, गाउँ त अहिले बजार जस्तै भएको छ,’ कार्कीले भन्नुभयो- ‘विकास हुन त राम्रो हो तर मौलिकता मासेर आधुनिकतालाई अङ्गाल्नु विल्कुलै राम्रो होइन, पहिले गाउँ घरमै खेतबारीमा काम गर्ने, खेतीपाती गरेर जीवन निर्वाह गर्ने, परम्परागत घरमै बस्ने गरिन्थ्यो, अहिले सबै विदेश जान थाले, विदेशमा कमाएको पैसाले आफू जन्मे हुर्केको घर भत्काएर विदेशीको नक्कल गरेर घर बनाउन थाले ।’

ADVERTISEMENT

पछिल्लो समय यहाँबाट चितवन, पोखरा, काठमाडौँ लगायतका सुविधायुक्त शहरहरुमा बसाइँसराइ गरेर जान थालेका छन् । गाउँ भएर पनि बजारकै सेवा सुविधा पाएका स्थानीयले घर उस्तै बनाउँदै गएको स्थानीय ६५ वर्षीया चन्द्रकला क्षेत्रीले बताउनुभयो । देख्न राम्रो भए पनि गाउँमा बनेका सिमेन्टका पक्की घर स्वास्थ्यका लागि अनुकुल नभएको क्षेत्री बताउनुहुन्छ । आफ्ना छोराहरुले विदेशमा कमाएर गाउँमा पक्की घर बनाएको भन्दै क्षेत्रीले पक्की घरका कारण रोगी बन्नु परेको बताउनुभयो ।

क्षेत्री भन्नुहुन्छ– ‘घरमा आमा बाबालाई लिपपोत गर्न दुःख भयो भनेर छोराहरुले पक्की घर बनाइ दिए, ढुङ्गा माटोको घर हुँदा दाउरामा आगो बालिन्थ्यो, आगोमै पकाएर खाइन्थ्यो, त्यसैले शरीर स्वस्थ हुन्थ्यो, अहिले त दाउरा बाल्नै छोडियो, आगो ताप्ने ठाउँमा हिटर ताप्छन्, यसले स्वास्थ्यलाई राम्रो गरेन, चिसो लाग्ने, शरीर दुख्ने, समस्या बढ्यो, अहिले र घरघरमा एउटा होइन, दुई/दुई वटा ग्याँस चुला छन्, बरु पहिलेकै माटो ढुङ्गाको घर ठिक थियो ।’

सडकले बजारसँग जोडेर गाउँलेलाई सुविधा त बनायो, तर सुविधासँगै गाउँको सुन्दरता र मौलिक संस्कृति भने हराउने गरायो । अहिले खहरे गाउँसँगै बागलुङका अधिकांश सडक छेउमा पर्ने गाउँहरु बजारमा रुपान्तरण हुँदै छन् । जिल्ला सदरमुकाम बागलुङ बजारदेखि पश्चिम पातीहाल्नेसम्म दर्जन गाउँ तीव्र रुपमा बजारीकरण भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज