कृषि बिमाको थप प्रभावकारितामा जोड

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले कृषि तथा पशुपन्छी बिमा अझै प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ । नेपाल बिमा प्राधिकरणद्वारा आयोजित कृषि, पशुपन्छी तथा जडीबुटी बिमासम्बन्धी अन्तरक्रियामा उहाँले कृषि उत्पादन बढाउन र अर्थतन्त्र सबल बनाउन कृषि, पशुपन्छी तथा जडीबुटी बिमाको भूमिका महत्वपूर्ण रहेको भन्दै कृषकले अपनत्व महसुस गर्ने, कृषिका सबै क्षेत्रलाई समेट्ने र विद्यमान समस्याको निकास निस्कने गरी कृषि तथा पशुपन्छी बिमा अनुदान निर्देशिका परिमार्जन गर्न सुझाव दिनुभएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. दीपककुमार खरालले सरकारले कृषि तथा पशुपन्छी बिमामा उपलब्ध गराउँदै आएको अनुदान रकम निरन्तररूपमा निकासा हुँदै जाने स्पष्ट पार्दै कृषि बिमालेख निरन्तर जारी गर्न, नियमसंगतरूपमा दाबी रकम भुक्तानी गर्न र कृषकलाई आघात पार्ने कुनै काम नगर्न बिमा कम्पनीलाई आग्रह गर्नुभयो । नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कृषि बिमा अनुदानबाट लक्षित वर्गले लाभ पाए, नपाएकोसहित अनुदानको उपयोगिताबारेमा अध्ययन आवश्यक रहेको बताउनुभयो । ठूला कृषि फर्मलाई नभई सीमान्तकृत वर्ग, साना किसान एवं लक्षित वर्गलाई लाभ पुग्ने गरी कृषि बिमा अनुदानको व्यवस्था हुन सके प्रभावकारिता बढ्ने उहाँको भनाइ थियो ।

ADVERTISEMENT

प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले चालु आर्थिक वर्षको वैशाखसम्ममा ३१ हजार चार सय १६ कृषि तथा पशुपन्छी बिमा दाबी फर्छ्योट भई एक अर्ब ४२ करोड ८३ लाख ८१ हजार बराबरको दाबी भुक्तानी भएको जानकारी दिनुभयो । साथै उहाँले कृषि, पशुपन्छी तथा जडीबुटी बिमाअन्तर्गत पशुधन, माछा र पन्छी बिमालेख संशोधनको अन्तिम चरणमा पुगेको र दलहन, स्याउ, ओखर तथा आँपखेती बिमालेख जारी हुने क्रममा रहेको बताउनुभयो ।

प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले कृषि, पशुपन्छी तथा जडीबुटी बिमासम्बन्धी व्यवस्थाबारे प्रस्तुति गर्दै नमुनाका रूपमा मौसम सूचकांक र बाढी सूचकांकमा आधारित बिमा सुरूवात गरिएको जानकारी दिनुभयो । आइतबार काठमाडौंमा भएको अन्तरक्रियामा कृषि विभाग, पशुसेवा विभाग र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक, विभिन्न मन्त्रालयका सहसचिव, विभिन्न निकाय तथा संस्थाका पदाधिकारी, नेपाल बिमक संघका अध्यक्ष, कृषक, बिमा कम्पनी तथा पुनर्बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतलगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *