राजकुमार कार्की/हिटा
ओखलढुंगा । बिहान उठ्नेबित्तिकै दुईवटा बच्चा च्यापेर घरमाथिको सडकको डिलमा बसेर ठूलठूला ढुंगालाई घनले फोरेर मसिना गिट्टी बनाउनु सुनिताको दैनिकी नै बनेको छ । दुईवटा बच्चा, ठूली छोरी तीन वर्षकी भइन्, सानी छोरी १८ महिनाकी भइन् । हेर्दा उत्रै देखिने दुईवटा छोरी काखको दुईपट्टि राखेर गिट्टी कुट्नु दिनचर्या बनेको छ सुनिता बयलकोटीको ।
सिद्धिचरण नगरपालिका-५, वर्णालु विशंखेटोल निवासी २६ वर्षीया सुनिता बयलकोटीका श्रीमान्, दुई छोरी गरी जम्मा चारजनाको परिवार छ । उहाँहरूको नाममा कुनै जग्गाजमिन छैन । लगभग दुई आना जतिमा बनेको ढुंगामाटाको घर, जहाँ घरमात्रै छ, वरिपरि अरूको नै जग्गा छ, यताउता गर्न पनि कठिन हुन्छ । श्रीमान् दिपक बयलकोटी बिहान उठेर मेलापातको काम खोज्न निस्कनुहुन्छ । गाउँमा मेलापातको काम पाए गर्नुहुन्छ, नपाए त्यत्तिकै फर्कनुहुन्छ । मेलापातको काम पाउँदा दैनिक ज्यालाबापत एक हजार कमाउनुहुन्छ । नपाउँदा त्यत्तिकै बस्नुपर्छ । घरमा आवश्यक पर्ने सबै खाद्यान्न खरिद गर्नुपर्छ । आफैंले खेती गर्न आफ्नो भनेको एक चपरी पनि जग्गा छैन । ‘अरूको कमाउन पनि वरिपरि जग्गा पाइएन, टाढा जान पनि साना बच्चा भएकाले आउनजान सम्भव भएन ।’ अरूको मेलापातको काम गर्न जान पनि बच्चाको रेखदेख गर्ने कोही पनि छैनन् । बच्चा भएको महिलालाई मेलापातमा पनि कसैले नबोलाउने गरेको गुनासो गर्नुहुन्छ बयलकोटी ।
बरु जसोतसो घरनजिकै छोरीहरू च्यापेरै भए पनि गिट्टी कुट्ने काम सम्भव भएकाले गिट्टी कुटेर गुजारा गरिरहेको बयलकोटी बताउनुहुन्छ । काखको दुवैपट्टि दुवै बच्चा च्यापेर सडकको तातो घाममा गिट्टी कुट्नु सजिलो त छैन तर पनि आफूलाई खानेलाउने, दुईवटी छोरीलाई खुवाउनका लागि अरू केही उपाय नभएपछि घाम र पानीको कुनै पर्वाह छैन सुनितालाई । उहाँ खोलामा गएर आफैं ट्र्याक्टरमा ढुंगा लोड गर्नुहुन्छ र ल्याएर आफैं अनलोड गर्नुहुन्छ । आफैंले लोड गरेर ल्याउँदा र आफैंले अनलोड गर्दा ट्र्याक्टरले दुई हजार भाडा लिने गरेको छ ।
एक ट्र्याक्टर ढुंगालाई सानो बनाएर गिट्टी बनाउनलाई दुई महिना लाग्छ । एक ट्र्याक्टर गिटीको सात हजारमा बेच्ने गरेको उहाँ बताउनुहुन्छ । त्यही सात हजारले आफ्नो परिवारको समस्या जसोतसो धान्ने गरेको उहाँले सुनाउनुभयो । आफूले तयार पारेको गिट्टी त्यही ट्र्याक्टरवालाले लगिदिने गरेकाले गिट्टी बेच्न चाहिँ समस्या नभएको उहाँ बताउनुहुन्छ ।
उहाँका तीनजना देवरहरू हुनुहुन्छ । सबैजनाको विवाह भइसकेको छ । उहाँहरू पनि छुट्टिएर आ-आफ्नै काम गरिरहनुभएको छ । सासूआमा हुनुहुन्छ उहाँ अर्कै भाइसँग बस्नुभएको छ । ससुरा डम्बरबहादुर बितेको धेरै वर्ष भइसक्यो । ससुराको नाममा भएको दुई रोपनी जग्गा अंशबण्डा भएको छैन । ससुराका दाजुभाइ तीनजना हुनुहुन्छ । दुई रोपनी जग्गा तीनजना ससुराहरूलाई भाग लाउँदा आफ्नो सासूको नाममा आउने एक भाग अंशबाट आफ्नो श्रीमान् र देवरहरू र सासूआमालाई भाग लाउँदा केही जग्गा आफ्नो श्रीमान्को नाममा पनि आउने आशामा उहाँ हुनुहुन्छ । उहाँले भन्नुभयो, ‘अंशबण्डा भए त हाम्रो नाममा पनि अलिकति जग्गा त आउँथ्यो होला तर ससुराको नाममै जग्गा आएको छैन, हाम्रो नाममा त के आउँथ्यो होला र ।’
बच्चाहरूलाई खुवाउनकै लागि संघर्ष गरिरहनुभएकी सुनिता, कहिलेकाहीँ बच्चा बिरामी हँुदा पैसा अभावका कारण समयमा उपचार गर्न नसकेको अनुभव गहभरि आँशु पार्दैै सुनाउनुहुन्छ । ‘अस्ति सानी छोरी सुदिक्षा बिरामी भइन्, अस्पताल लाँदाको भाडा अहिलेसम्म पनि तिर्न सकेको छैन ।’
खोटाङ माइती हुनुभएकी सुनिताले १० कक्षासम्म अध्ययन गर्नुभएको छ । एसएलसी परीक्षामा फेल भएपछि आर्र्थिक अभावका कारण फेरि चान्स परीक्षा दिन नसकेकाले पढाइ त्यत्तिकै छोड्नुपरेको तितो अनुभव सुनाउनुहुन्छ । चार वर्षअगाडि २२ वर्षको उमेरमा वर्णालु विशंखेटोलमा विवाह गरेर आउनुभएकी सुनिता चार वर्षकै अवधिमा ठूली सुदिपा तीन वर्ष र कान्छी सुदिक्षा १८ महिनाकी दुई छोरीकी आमा भइसक्नुभएको छ । तिनै छोरीहरूलाई लालनपालनका लागि तातो घाममा सडकछेउमा दुई छोरीसहित बसेर गिट्टी कुट्दै आफ्ना दिनचर्याहरू उहाँले बिताइरहनुभएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts