धादिङ । नीलकण्ठ नगरपालिका धादिङले आर्थिक वर्ष २०८०/०८१ का लागि कुल १ अर्ब १८ करोड ९७ लाख ७ हजार ४ सय ७७.६६ रुपैँया बजेट सार्वजनिक गरेको छ ।
आज नगरपालिकाको दोस्रो नगरसभाको तेस्रो अधिवेशन सभाबाट आर्थिक वर्ष २०८०/०८१ को वजेट तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै नगर उपप्रमुख दिपक विश्वकर्माले चालु आर्थिक वर्षको प्रगति प्रतिवेदन, चालु आर्थिक वर्षको आन्तरिक राजश्व बाँडफाँडको अवस्था, क्षेत्रगत वजेट तथा खर्चको अवस्था, विनियोजन विधेयक सम्बन्धमा प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
यसै गरी आर्थिक वर्ष २०८०/०८१ कुल बजेट १ अर्ब १८ करोड ९७ लाख ७ हजार ४ सय ७७.६६ रुपैया बजेट मार्फत कृषि तथा पशु, उद्यम उद्योग वाणिज्य, संस्कृति तथा पर्यटन, सहकारी, सामाजिक बिकास, स्वास्थ्य, शिक्षा, युवा तथा खेलकुद, खानेपानी तथा सरसफाई, लैङिगक समानता तथा सामाजिक समावेशिकरण, पूर्वधार विकास, वन वातावरण विपद् व्यवस्थापन, सुशासन तथा अन्तर सम्बन्धीत क्षेत्र, न्यायिक समिति जस्ता शिर्षकहरुमा बजेट समावेश भएको छ ।
चालु आर्थिक वर्ष २०७९/०८० को कुल बजेट १ अर्ब ५१ करोड ३४ हजार २ सय ५५ मध्ये असार ६ गतेसम्म ८९ करोड २ लाख ६५ हजार ४ सय १५.६१ रुपैया खर्च भएको प्रतिवेदनमा उल्लेख छ । नगर प्रमुख भीमप्रसाद ढुङगानाले ४८ बुँदे नीति तथा कार्यक्रम समेत प्रस्तुत गर्नुभएको थियो ।
नीलकण्ठ नगरपालिका धादिङको परिकल्पनामा ल्याएको नीति तथा कार्यक्रमहरु नेपालको संविधानको भाग ४ धारा ४९, ५० र ५१ अनुसार राज्यले तय गरेको नीति तथा नियमअनुसार निर्वाचनको वेला गरेको वाचा र विषय विज्ञहरुसँग छलफल गरी नीति कार्यक्रम मार्फत सम्बोधन गरिएको नगर प्रमुख ढुंगानाको भनाई छ ।
मेयर उद्यमशिलता विकास कार्यक्रमलाई सघन रुपमा सञ्चालन गरी उत्पादन, सेवा र रोजगार सृजना गर्ने उद्यम प्रवद्र्धन समेत गरिएको छ । यस बजेटमा हाल ब्यवसाय सचेतना तालिम लिई ब्यवसायीक योजनाका आधारमा विना धितो कर्जा लिएका ब्यक्तिगत फर्महरुको दायरा बढाई सामुहिक रुपमा उद्यम गर्न चाहने नगरबासीहरुलाई सामुहिकतामा प्रति ब्यक्ति रु २ लाखका दरले २० लाख सम्मको ऋण विना धितो प्रवाह गरिने नगर उपप्रमुख विश्वकर्माले बताउनुभयो ।
यस्तो छ बजेटमा समावेश भएका शिर्षकहरु
–नीलकण्ठ नगरपालिकालाई तिर्खामुक्त नगरको रुपमा स्थापित गर्ने पूर्व घोषित नीति अनुसार बाँकी रहेका वडा वस्तीहरुमा खानेपानीको आपूर्ति सहज हुने गरी योजना सञ्चालन गरिनेछ । संघीय खानेपानी आयोजना, नगर लगानी कोष र विभिन्न साझेदाहरु संग समन्व्य गरि जलवायु अनुकुलित बृहत खानेपाली आयोजनाहरुको सम्भाव्यता अध्ययन र शुरुवात गरिनेछ । निर्माणाधीन अवस्थामा रहेका धादिङवेशी बृहत खानेपानी लगायत आयोजना तत्काल पुरा गर्न आवस्यक पहल कदमी र समन्वय गरिनेछ ।
–नगरवासीको आधारभुत र गहन स्वास्थ्य उपचारका लागि नगर केन्द्रमा रहेको जिल्ला अस्पताल संग सहकार्य गरी हरेक वडा केन्द्रमा स्थापित नगर स्वास्थ युनिटहरुमा गुणस्तरीय आधारभूत स्वास्थसेवा प्रवाह र टेलिमेडिसिन सेवा सञ्चालन गरिनेछ । स्वास्थ क्षेत्रसँग जोडिएका समग्र पक्षलाई समेट्दै एकीकृत स्वास्थ विकास कार्यक्रममार्फत योजनाबद्ध क्रियाकलाप अघि बढाइनेछ । स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी बनाउँदै विपन्न बर्ग स्वास्थ्य उपचार सहायता कार्यक्रमलाई थप ब्यवस्थित बनाइनेछ । नसर्ने रोग विरुद्धको सचेतना अभियान सञ्चालन गर्दै, आयुर्वेदिक स्वास्थ्य, नागरिक आरोग्य र योग साधनाका कार्यक्रमहरुलाई समुदाय स्तर सम्म सञ्चालन गरिनेछ ।
–रक्तदान अभियानलाई मानवीय सेवा अभियानको रुपमा प्रवर्धन गर्दै नगरबासीलाई आवस्यक रगत निःशुल्क उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिइनेछ । रक्तदान अभियानलाई प्रोत्साहित गर्न १० पटक भन्दा बढि रक्तदान गर्ने रत्तदातालाई वडाहरुबाट हुने सिफारिश शुल्कमा १० प्रतिशत छुटको ब्यवस्था गरिनेछ ।
–नगरपालिकाको दीगो पुर्वाधार, सामाजिक उद्धम र सचेतना परियोजना तथा योजना आयोगको समेत काम गर्ने गरि स्थापना भएको नीलकण्ठ नगर विकास प्राधिकरण मार्फत प्राधिकरणको उद्देश्य अनुरुपका आयोजना तथा कार्यक्रमहरु प्रभावकारी रुपमा सञ्चालन गरिनेछ ।
–नगर शिक्षा योजनाको आवधिक समिक्षा गरी शिक्षा क्षेत्रमा गुणस्तर विकासका लागि रचनात्मक कृयाकलाप सञ्चालन गरिनेछ । हाल नगर क्षेत्रका सवै शिक्षण संस्थाहरुमा शैक्षिक अडिट गरि शैक्षिक अवस्थाको वास्तविक अवस्था पहिचान गरिनेछ । भूगोल, सञ्चालित कक्षा र विद्यार्थी अनुपातलाई विशेष आधार बनाई विद्यालय समायोजन र शिक्षक दरबन्दी मिलान गरिनेछ । हरेक वडामा एक नमूना श्रोत विद्यालय स्थापना गरि विद्यालय अनुगमन र शैक्षिक गुणस्तर विकासलाई विकेन्द्रीत अवधारणामा प्रवद्र्धन गरिनेछ ।
–विद्यालयको ब्यवस्थापकीय क्षमतामा सुधार ल्याउन विद्यालय ब्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरुको क्षमता विकास कार्यक्रम सञ्चालन गरिनेछ । विद्यालयका प्रधानाध्यापक र शिक्षकहरु संग कार्य सम्पादन सम्झौता करार सम्झौता गरि सो का आधारमा मुल्यांकन, प्रोत्साहन, पुरस्कार तथा सम्मान गरिनेछ । शिक्षण सिकाईमा सूचना प्रविधिको प्रयोगलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने ब्यवस्था मिलाईनेछ ।
–नीलकण्ठ नगरक्षेत्रमा सञ्चालित एक मात्र त्तब्ब् मान्यता प्राप्त क्याम्पस नीलकण्ठ बहुमुखी क्याम्पसलाई साझा सैक्षिक हबका रुपमा विकास गरि लक्षित जनशक्ति उत्पादन योजना तयार गनिरेछ । नगर गौरबका योजनाको रुपमा गत बर्ष स्थापित नीलकण्ठ बहूप्राधिक शिक्षालयको स्तरबृद्धि र विषयविस्तारमा आवस्यक सहयोग गरिनेछ । दलित तथा विपन्न बर्ग छात्रबृत्तिलाई थप प्रभावकारी रुपमा निरन्तरता दिइनेछ ।
–नीलकण्ठ नगरपालिकाको २० बर्षे कृषि रणनीतिक योजना अनुसार कृषि क्षेत्रको विकास र प्रवद्र्धन गरिनेछ । निर्वाहमुखी कृषिलाई ब्यवसायिक कृषिमा रुपान्तरित गरी कृषिलाई उत्पादनको विशेष श्रोतको रुपमा विकास गर्न किसान सहयोग कार्यक्रम सञ्चालन गरिनेछ । व्यवसायिक पशुपालनलाई प्रोत्साहन दिँदै पशु तथा बालीबीमा कार्यक्रमलाई कृषकहरुका बिच प्रभावकारी बनाउने योजना सञ्चालन गरिनेछ । विपन्न, दलित, आदिवासी सीमान्तकृतलगायत लक्षित वर्गका किसानलाई विशेष सहयोग नीति अवलम्बन गरिनेछ ।
–नगरक्षेत्रका बाँदर पिडित किसानहरुका लागि बैकल्पिक खेती तथा पशु पंक्षी पालनमा विशेष सहयोग गरिनेछ । बाँदर नियन्त्रणका लागि उपलब्ध सवै प्रकारका उपायहरु अवलम्बन गरिनेछ ।
–कृषि तथा पशुपालनमा ब्यवसायिकता प्रवद्र्धन गरि दुःध, अण्डा, मासु र तरकारीमा आत्मनिर्भर नगर घोषणा नीति लिइनेछ । कृषि तथा पशुपालनमा मूल्य श्रृंखलामा आधारित ब्यवसायीक प्रवद्र्धन गरि उत्पादनमा आधारित अनुदान वितरणलाई नियमितता दिइनेछ । साथै विगत बर्ष देखि सञ्चालित मोवाइल भेटेनरी सेवालाई थप प्रभावकारी रुपमा १४ वटै वडामा सञ्चालन गरिनेछ ।
–नगरक्षेत्रमा उद्योग व्यवसायको प्रबद्र्धन गर्न उद्यममैत्री नीति अबलम्बन गरिनेछ । नगरक्षेत्र भित्र निर्माणाधिन उद्योगग्रामलाई पूर्णता दिई सम्भाव्य उद्योगहरु सञ्चालनमा सहजिकरण गरिनेछ । ठूला लगानीकर्ताहरुलाई आकर्षित गर्न आवश्यक वातावरण दिनुका साथै साना तथा घरेलु एवं लघु उद्योगलाई सहयोग र प्रवद्र्धन गरिनेछ ।
–नगरको मुख्य केन्द्रको रुपमा रहेको धादिङवेसी बजारलाई सफा, ब्यवस्थित र हरियाली शहरको रुपमा विकास गर्ने नीतिलाई नीरन्तरता दिँदै आगामी बर्ष भित्रमा बजारका सवै भित्री सडकहरु समेत कालोपत्रे र ढलान गरि हिलो धुलो रहित बनाइनेछ । बजारक्षेत्रको सार्वजनिक जग्गाको खोजी तथा अतिक्रमण न्यूनीकरणका लागि गरिएको नापजाँच अनुसार सार्वजनिक जग्गाको संरक्षण र करिडोर निर्माण कार्यलाई निरन्तरता दिइनेछ । नगरपालिकालाई उज्यालो नगरका रुपमा सडक बत्ती को ब्यवस्था गर्न थप सडक बत्ति ब्यवस्थापन गरिनेछ । साथै टोल विकास संस्थाहरु संगको सहकार्यमा सडक बत्तिको महशुलमा ५० प्रतिशत रकम साझेदारीमा ब्यहोरिनेछ ।
– नीलकण्ठ नगर कार्यपालिका कार्यालयको आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह गर्न बहुबर्षीय ठेक्का लागिसकेकाले समयमै निर्माण सम्पन्न गरी सेवा प्रवाह प्रवाह ब्यवस्थित गरिनेछ ।
–महिलाहरुको समग्र विकास, रोजगारी, प्रजनन स्वास्थ, समानता र पहूँच स्थापित गर्न नगरपालिकाका निर्वाचित महिला जनप्रतिनीधिहरुको नेतृत्वमा सञ्चालन हुने गरि महिलाका लागि महिला जनप्रतीनिधि परियोजना १४ वटै वडा समितिहरु संग सहकार्य गरि सञ्चालन गरिनेछ ।
–दलित बर्गको उत्थान शसक्तिकरण र विकासका लागि निर्मित दलित शसक्तिकरण रणनीतिक योजनाले निर्दिष्ट गरेका क्षेत्रहरुमा आवश्यक बजेट र योजनाका साथ क्रियाकलाप सञ्चालन गरिनेछ ।
– नीलकण्ठ नगरपालिकाको समृद्धिको आधारको रुपमा पहिचान गरिएको पर्यटन क्षेत्रको विकास गर्न नगर पर्यटन गुरुयोजनाले निर्दिष्ट गरेका गन्तब्यहरुको प्रवद्र्धन गरिनेछ । भैरवी पर्यटन क्षेत्रको प्रवद्र्धन, चमेरे गुफाको सौन्दर्यीकरण,भंगेरीचुली मन्दीर, पशुपति मन्दीर, सल्लाघारी पार्क, सल्लाघारी बगैँचा, रामकोट दरबार, पौवा दरवारको पुननिर्माण तथा नगरक्षेत्रभित्र रहेका होम स्टेहरुको स्तरबृद्धि, साइक्लीङ, हाइकिङ, रक क्लाइम्बीङ जस्ता पर्यटकीय खेलहरुको प्रवद्र्धन गरिनेछ ।






