रोकिएन पाल्पामा नदीजन्य पदार्थको अवैध दोहन

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 8 mins

पाल्पा । पाल्पाका तिनाउ, रामपुर र निस्दी लगायतका स्थानीय तहका नदी, खोलाहरुमा दिनहुँ सयौँ टिपर र ट्याक्टर दौडिरहन्छन् । यहाँका नदी तथा खोलाहरुमा एस्काभेटरले निकालेको ढुङ्गा गिटी र बालुवा बोक्न टिपर र ट्याक्टरलाई भ्याइनभ्याइ छ । बिहान उज्यालो भएदेखि रातिसम्म टिपर र ट्याक्टरले नदीजन्य पदार्थ ओसार–पसार गरिरहेका छन् ।

असार १ गतेदेखि तीन महिनाका लागि निकासी बन्द हुने भएपछि नदीमा मनपरी तरिकाले निकासी गर्ने क्रम बढेको हो । नदीजन्य पदार्थ निकासीले नदीमा ठूला–ठूला खाल्डा परेका छन् । त्यसले गर्दा नदी , खोलाको भाग समथर छैन । यहाँका खोला नदीहरुमा मनपरी उत्खननको काम भइरहेको छ । नदीको उपयोगका विषयमा स्थानीय पालिकाबीच समझदारी नदेखिएपछि ठेकेदारलाई मनपरी नदीजन्य पदार्थ निकाल्न बल पुगेको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले समेत पाल्पामा तीन महिना नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा, तथा माटो निकासीमा रोक लगाएको छ तर पनि उत्खनन भने रोकिएको छैन् । समितिले असार १ गतेदेखि भदौ मसान्तसम्म पाल्पाका कुनै पनि नदी, खोलाबाट नदीजन्य पदार्थ निकाल्न नपाइने भने पनि त्यसको वेवास्ता गर्दै ठेकेदारले यहाँका नदी, खोलाहरुमा ढुंगा, गिटी निकासी गर्ने गरिएको पाइएको छ । नियामक निकायले अनुगमन गर्न नसक्दा नदीजन्य पदार्थको दोहन भइरहेको हो ।

संघीय सरकारले पुस २२ गतेदेखि मापदण्डविपरीत र अवैध क्रसर तथा बालुवा प्रशोधन उद्योगहरू बन्द गराएको थियो । पुनः सरकारले मापदण्ड नपुगेकालाई २०८३ असार मसान्तसम्म मापदण्ड पु¥याउने अवसर दिने निर्णय गरेकाले पनि अहिले जिल्लामा अवैध नदी तथा खोला उत्खनन् भइरहेका छन् । विशेष गरी जिल्लाको रामपुर, निस्दी, तिनाउ लगायतका स्थानीय तहका खोलाहरुबाट अवैध रुपमा गिट्टी–बालुवा चोरी निकासी हुँदै आएको छ । तर सम्बन्धित निकायबाट यसको निगरानी हुन नसक्दा चोरी निकासी रोकिन नसकेको हो ।

ADVERTISEMENT

नदीजन्य तथा खानीजन्य पदार्थको अवस्था अनुगमन गर्न जिल्ला समन्वयन समितिका प्रमुख संयोजक रहने गरी जिल्लामा नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समिति पनि छ । प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय प्रहरी उपरिक्षक (एसपी) लगायतका सदस्य छन् । तर, यो समितिले जिल्लाका नदीजन्य तथा खानीजन्य पदार्थको दोहनको अवस्थाको प्रभावकारी अनुगमन गर्न सकेको छैन । जसले गर्दा यहाँका नदी लगायत अन्य खोलाहरूबाट बालुवा, गिट्टी, ढुंगाजस्ता नदीजन्य पदार्थ अवैध तस्करी भइरहेको छ । अहिलेसम्म नदी तथा खोलाहरूमा अवैध नदी दोहन भइरहेको सूचना तथा जानकारी नआएको जिल्ला समन्वयन समितिका प्रमुख टंकनाथ खनालले बताउनुुभयो । ‘अहिले त्यस्तो कुनै गुनासो तथा जानकारी आएको छैन, तिनाउ खोलामा केही अबैध ढुंगा निकालिएको भन्ने छ, त्यस विषयमा हामीले स्थानीय सरकारलाई तत्काल अनुसन्धान गरेर कारवाही गर्न भनेका छौं,’उहाँले भन्नुभयो, ‘यदी कोही कतै अबैध रुपमा नदी र खोलामा दोहन भएको भेटिए अनुगमन गरेर कारवाही गर्छाैं ।’ उहाँले जानकारी नभएको भने पनि जिल्लाका रामपुर, निस्दी, तिनाउ लगायतका क्षेत्रमा दोहन भइरहेको स्थानीयहरूको गुनासो छ ।

पछिल्ला केही दिन यता तिनाउ र झुुम्सा खोलाबाट अवैध रूपमा ढुंगा निकाल्ने काम भइरहेको छ । तिनाउ गाउँपालिकाको स्वीकृतिविना यहाँका खोलाहरुबाट अत्यधिक नदीजन्य पदार्थ दोहन भइरहेको हो । ढुंगा निकासी भइरहेको थाहा पाएपछि प्रहरीले भने केही दिन यता निगरानी बढाएको छ । उसले खोलाबाट अवैध रूपमा ढुंगा निकाल्न प्रयोग भएका जेसीबी, टिपर र ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । प्रहरीले असार १ गतेदेखि ३ गतेसम्म अवैध रूपमा ढुंगा निकाल्न र ओसार पसार गर्न प्रयोग भएका ७ वटा उपकरणलाई नियन्त्रणमा लिइसेको छ । गत शुुक्रबार तिनाउ गाउँपालिका–३, बेँसीस्थित तिनाउ खोलामा अवैध रुपमा ढुंगा उत्खनन् गरिरहेको दुई वटा जेसीबी र निकासी गर्दै गरेका दुई वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी नायव निरीक्षकसहितको प्रहरी टोलीले ग १ क ४१०५ र ग १ क ५०२५ नम्बरको जेसीबीले खोलाबाट अवैध ढुंगा निकाल्दै गर्दा नियन्त्रणमा लिएको थियो ।

यस्तै प्रहरीले ना ३ त ९१६३ र लु २ त ३६१२ नम्बरको ट्याक्टरलाई पनि नियन्त्रणमा लिएको छ । त्यसको अर्को दिन शनिबार प्रहरी चौकी प्रभासबाट खटेको प्रहरी टोलीले अवैध ढुंगा उत्खनन् गरी ल्याउदै गरेको अवस्थामा ३ वटा टिपरलाई नियन्त्रणमा लिएको छ । तिनाउ गाउँपालिका–५ चरचरेस्थित भित्री सडक चिउरेबाट ढुुंगा बोकी बुटवलतर्फ लैजादै गरेका हाईवा गाडी (टिपर) प्रहरीले नियन्त्रणमा लिएको हो । अवैध रुपमा ढुुंगा बोकेका प्रदेश २–०३–०० १ ख ३२२९ , प्रदेश २–०३–०० १ ख २९९२ र प्रदेश २–०३–०० १ ख २९९४ नम्वरका टिपरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार नियन्त्रणमा लिएका गाडीहरु कारवाहीका लागि तिनाउ गाउँपालिकालाई जिम्मा दिइएको छ । अवैध रुपमा ढुंगा निकासी गर्दै आएका गाडीहरुलाई नियन्त्रणमा लिएर कानुनी कारवाहीको प्रक्रिया अगाडि बढाइएको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बताउनुुभयो ।

उहाँका अनुसार ती गाडीहरुबाट जरिवान लिइने छ । गाउँपालिकाको अनुगमन टोलीले झुम्सा खानेपानी आयोजना अन्तर्गतका निर्माण व्यवसायीबाट अर्को एउटा एक्स्काभेटरको चाबीसमेत नियन्त्रणमा लिएको अध्यक्ष श्रेष्ठले बताउनुुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?