अर्थ समितिको निर्देशनविरुद्ध नयाँ धितोपत्र व्यवसायी

Read Time = 8 mins

काठमाडौं । नयाँ धितोपत्र दलाल व्यवसायीले एमाले अध्यक्ष केपी ओलीलाई भेटेर अर्थ समितिमा रहेका आफ्ना सांसदलाई अर्थ समितिले धितोपत्र बोर्डलाई दिएको निर्देशन खारेज गराउन निर्देशन दिन आग्रह गरेका छन् । सर्वोच्च अदालतको २०७९ चैत २६ गतेको फैसलाविरुद्ध संविधानको धारा १२८ लाई समेत उल्लंघन गरेर अर्थ समितिले दिइएको पूर्वाग्रहपूर्ण, सीमित व्यवसायीको सिण्डिकेट र बजारमा एकाधिकारको अवस्थालाई निरन्तरता दिने ढंगबाट जारी भएको निर्देशनलाई खारेज गर्दै आफ्नो दलतर्फबाट नेपालको संविधानको धारा १२८ लाई पूर्णरूपमा परिपालना गर्न आवश्यक पहलकदमी तथा सहजीकरण गरिदिन उनीहरूले एमाले अध्यक्ष ओलीलाई आग्रह गरेका हुन् । पार्टीका तर्फबाट अर्थ समितिमा संलग्न सांसदलाई नेपालको पुँजी बजार सुधार तथा बजारको विकास एवं विस्तार कार्यलाई नेतृत्व गर्ने निर्देशन प्रदान गर्नसमेत उनीहरूले ज्ञापनपत्रमार्फत् ध्यानाकर्षण गराएका छन् ।

सोही दिन नयाँ धितोपत्र व्यवसायी नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाललाई पनि ज्ञापनपत्र बुझाएका छन् । अर्थ समितिबाट धितोपत्र दलाल तथा व्यापारीको इजाजतसम्बन्धी सबै प्रक्रियालाई रोक्न निर्देशन दिएपछि सागर ढकालको नेतृत्वमा बोर्डको कार्यालय खुमलटार पुगेर उनीहरूले बोर्ड अध्यक्ष रमेश हमाललाई ज्ञापनपत्र बुझाएका हुन् । बोर्ड आफैंमा स्वायत्त नियमनकारी निकाय रहेकाले अर्थ समिति कुनै पनि दृष्टिकोणबाट बोर्डको प्रत्यक्ष नियमनकारी निकाय नरहेको उनीहरूले जिकिर गरेका छन् । बोर्डले अर्थसमितिको निर्देशन पालना गर्न बाध्य नरहेको भन्दै छिटो प्रक्रिया अघि बढाउन नेपाल स्टक एक्सचेन्जलाई पत्रमार्फत् निर्देशन दिन पनि उनीहरूले अध्यक्ष हमालको ध्यानाकर्षण गराएका छन् । अर्थ समितिको जेठ २९ गतेको बैठकले धितोपत्र दलाल तथा व्यापारीको इजाजतसम्बन्धी सबै प्रक्रिया तत्काललाई रोक्न निर्देशन दिएको थियो । समितिको उक्त निर्देशनसँगै बोर्डबाट आशयपत्र एवं अनुमति पाइसकेका तथा नेपाल स्टकबाट समेत आशयपत्र पाइसकेका नयाँ धितोपत्र दलाल तथा व्यापारी कम्पनीको इजाजतसम्बन्धी सम्पूर्ण प्रक्रिया रोकिएको छ ।

बोर्डले नेपालमै पहिलोपटक कोटा प्रणालीलाई नै बन्द गरी १६ वर्षपछि ओपन इन्ट्री-ओपन एक्जिट विधिबाट पुँजी, अनुभव र योग्यताका आधारमा छनोट भएका धितोपत्र दलाल तथा व्यापारी थप्ने यो प्रक्रिया अघि बढाएको थियो । हालसम्म नयाँ धितोपत्र दलाल व्यवसायी तथा व्यापारी कम्पनीले बोर्डबाट इजाजतपत्र तथा सदस्यता प्राप्त गर्ने क्रममा इजाजतबापत मात्रै करिब १४ करोड राजस्व सरकारलाई तिरिसकेको दाबी गरेका छन् । त्यस्तै, भौतिक पूर्वाधारबापत करिब ४० करोड खर्च भएको तथा ४३ कम्पनीको मासिक औसत चार करोड खर्च भइरहेको कम्पनीहरूका करिब पाँच सय कर्मचारीले प्रत्यक्ष रोजगारी पाइरहेको उनीहरूले बताएका छन् । नयाँ ब्रोकरका लागि बोर्डले २०७९ असोज २ गते नयाँ धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिका लागि सूचना जारी गरेको थियो । तर, प्राप्त निवेदनमा सर्वोच्च अदालतको अन्तरिम आदेशले प्रक्रिया रोकिएको थियो । पछि सर्वोच्च अदालतले २०७९ चैत २६ गते इजाजत दिन आदेश दिएपछि बोर्डबाट विभिन्न कानुनी तथा अन्य अड्चन टुंगो लगाउँदै आवश्यक प्रक्रिया अघि बढाएर तीन चरण गरी विभिन्न ४३ नयाँ कम्पनीलाई धितोपत्र दलाल व्यवसाय तथा धितोपत्र व्यापारीलाई आशयपत्र जारी (एलओआई) गरेको थियो । बोर्डले दुईपटक गरेर धितोपत्र बोर्डबाट आवश्यक भौतिक पूर्वाधार पुगेका १८ वटा नयाँ धितोपत्र दलाल तथा व्यापारी कम्पनीहरूलाई अनुमति प्रदान गरिसकेको छ ।

ADVERTISEMENT

सेयर बजार ५२.२६ अंकले बढ्यो
गत सातादेखि निरन्तर बढ्दोक्रममा रहेको सेयर बजारमा साताको पहिलो दिन आइतबार सर्वाधिक ५२.२६ अंकले बढेको छ । जेठ २२ गते १७ अंकले घटेको बजार त्यसयताको नौ कारोबार दिनमा कुल १९२.३२ अंकले बढेको हो । आइतबार नेप्से ५२.२६ अंकले बढेर २०९४.३३ अंकमा पुगेको छ भने दुई सय ८० कम्पनीका एक करोड २० लाख ९५ हजार नौ सय ६६ कित्ता सेयर चार अर्ब ८६ करोड ९१ लाख ८४ हजार १६ रुपैयाँमा खरिदबिक्री भएका छन् । कारोबारमा आएका दुई सय ८० मध्ये दुई सय ३३ कम्पनीको सेयरमूल्य बढेको छ भने ४० कम्पनीको घटेको छ । छ कम्पनीको भने स्थिर रहेको छ ।

कारोबार रकमका आधारमा शीर्षस्थानमा रहेको शिवम् सिमेन्ट्सको ३६ करोड ६४ लाख ९९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबारमा आएका १४ कम्पनीको सेयरमूल्य नौ प्रतिशतभन्दा बढीले घटेको छ भने छवटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आइतबार कारोबारमा आएका १३ मध्ये १२ समूहगत सूचक बढेकोमा बैंकिङ भने घटेको छ । बैंकिङ ०.२९ प्रतिशतले घटेकोमा जीवन बिमा सर्वाधिक ६.३८ प्रतिशत, होटल तथा पर्यटनमूलक ६.१५ र अन्य छ प्रतिशतले बढेको छ ।

निर्जीवन बिमा ४.६८, जलविद्युत् ३.९७, व्यापार ३.४३, लघुवित्त २.७२ र फाइनान्स २.१२ प्रतिशत बढेको छ । १४ कम्पनीको सेयरमूल्य सकारात्मक सर्किट लेबलमा बढेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । आइजिआई प्रुरुडेन्सियल इन्स्योरेन्सको १६ करोड ९३ लाख ५८ हजार, सोल्टी होटलको १६ करोड ६६ लाख, नेपाल लाइफको १६ करोड ५४ लाख २४ हजार र नेपाल टेलिकमको १४ करोड ७४ लाख ८९ हजार रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको १४ करोड १९ लाख ५ हजार, नागरिक लगानी कोषको ११ करोड ६२ लाख ४७ हजार, माथिल्लो तामाकोशीको ११ करोड ७८ हजार, ग्रामीण विकास लघुवित्तको संस्थापक १० करोड ३९ लाख ४३ हजार र सूर्यज्योति लाइफको नौ करोड ८४ लाख ७९ हजार रुपैयाँको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?