भोजपुर। निरन्तरको बर्षातसँगै बाढी पहिरोको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय भोजपुरले सचेत रहन आम जिल्लावासीलाई आग्रह गरेको छ ।
अविरल बर्षातका कारण जिल्लामा बाढी पहिरोबाट मानविय क्षति हुन नदिन सवैलाई सचेत गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताउनुभयो । जिल्ला बिपद् ब्यवस्थापन समितिका अध्यक्ष समेत रहनु भएको प्रमुख जिल्ला अधिकारी घिमिरेले भन्नुभयो, “बर्षातका कारण जोखिम युक्त क्षेत्रका बासिन्दाहरुले बिशेष सचेतता अपनाउन जरुरी देखिन्छ, ठुला नदी तथा खोलाका साथै पहिरोका जोखिममा रहेका बासिन्दाहरुलाई सचेत रहन हामीले आग्रह गरेका छौँ ।”
बिपद्का घटनाहरु हुन नदिन र भएमा उद्धारका लागि जिल्ला बिपद् ब्यवस्थापन समिति र सरोकारवाला निकायहरुलाई पनि तयारी अवस्थामा रहन भनिएको जिल्ला प्रशासन कार्यालय भोजपुरले आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय भोजपुरले सार्वजनिक सुचना जारी गर्दे जोखिमबाट चनाखो रहन आम भोजपुरवासीलाई आग्रह समेत गरेको छ । जिल्ला प्रशासन कार्यालय भोजपुरले जारी गरेको सुचनामा भनिएको छ । ‘अविरल बर्षातका कारण बाढी पहिरोबाट जिल्लाको केही स्थानहरुमा बिपद्का घटनाहरु घटन सक्ने संभावना भएकोले जोखिम युक्त क्षेत्रका बासिन्दाहरु मन्सुन अवधीभर बिशेष चनाखो भई उच्च सतर्कता अपनाउनु हुन अनुरोध छ ।’
जिल्ला तहमा कुनै अप्रिय घटनाहरु हुन नदिनका लागि सुरक्षा निकायहरु पनि चनाखो रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी शरत कुमार थापा क्षेत्रीले बताउनुभयो । प्रहरी प्रमुख डिएसपी थापा क्षेत्रीले भन्नुभयो, “कुनै पनि स्थानमा बिपद्का घटनाहरु घटने संभावना देखिएमा नजिकको प्रहरी युनिटहरुमा खवर गर्न भोजपुरवासीलाई आग्रह गरिएको छ ।” त्यस्तो अवस्थामा स्थानीय तह, सुरक्षा निकायहरु र जिल्ला आपतकालिन कार्य संचालन केन्द्रमा तत्काल जानकारी गराउन पनि जिल्लावासीलाई स्थानीय प्रशासनले आग्रह गरेको छ ।
अविरल बर्षाका कारण जिल्लामा हुने घटनाहरुको संभावित अवस्थाका बारेमा जिल्ला रेडक्रस सोसाईटी पनि सचेत रहेको रेडक्रस जिल्ला शाखाले जनाएको छ ।







सूचना प्रचार गरिदिनु भएकोमा धन्यवाद छ ।
समाचार