पाल्पा । पाल्पाका विभिन्न नदी र खोलामा डुवेर तीन जनाको मृत्यु भएको छ । यहाँका कालीगण्डकी नदी, दोभान र तिनाउ खोलामा डुबेर तीन जनाको मृत्यु भएको हो ।
चार दिन अघि कालीगण्डकी नदीमा डुबेर बेपत्ता भएकी एक किशोरी मृत फेला परेकी छन् । जिल्लाको रामपुर नगरपालिका-८, भुजातस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा जेठ ३२ गते बेपत्ता भएकी रामपुर-८, भुजातकी १४ वर्षीया पार्वती राम्जाली मृत फेला परेकी हुन् ।
नदीमा बेपत्ता भए पछि उनको प्रहरी, स्थानीय र आफन्तले खोजी गरेका थिए । खोज्ने क्रममा आइतबार विहान डुबेको स्थानदेखि १ किलोमिटर तल नदीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार शवलाई पोष्टमार्टका लागि रामपुर अस्पताल पठाइएको छ ।
यस्तै पाल्पाको दोभान खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका-११, श्रृजनानगर बस्ने ३४ वर्षीय लोकबहादुर रजाली मगरको पौडी खेल्ने क्रममा शनिबार बेलुकी खोलामा डुबेर मृत्यु भएको हो ।
तिनाउ गाउँपालिका-२, खुर्साने नजिकै दोभान खोलामा साथीहरुसँग वनभोज खान आएका रजाली मगर बेलुकी फर्किने क्रममा नभेटिएपछि खोजतलाज गर्दै जाँदा पानीमा डुबेको अवस्थामा भेटिएका थिए । तत्काल उपचारका लागि प्रादेशिक अस्पताल बुटवल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाको प्रहरी चौकी दोभान र जिल्ला प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको छ ।
यस्तै तिनाउ खोलामा डुबेर गुल्मीका एक किशोरको मृत्यु भएको छ । पाल्पाको तिनाउ गाउँपालिका-३, सिद्धबाबास्थित तिनाउ खोलाको ड्यामसाइडममा पौडी खेल्ने क्रममा शनिबार गुल्मी सत्यवती गाउँपालिका-७, का १८ वर्षीय अभिषेक परियारको मृत्यु भएको हो । तिलोत्तमा नगरपालिका-३, ड्राइभर टोलमा भाडामा बस्दै आएका परियार खोलामा पौडी खेल्ने क्रममा अचनाक बेपत्ता भएका थिए । बेपत्ता उनको प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा डुवेको ठाउँमै अचेत अवस्थामा फेला पारेको थियो । अचेत अवस्थामा फेला पारिएको उनलाई उपचारका लागि प्रादेशीक अस्पताल बुटवल पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी थापाले जानकारी दिनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता