पाँचथर। मनसुन प्रणाली सुरु भएसँगै नेपालमा मनसुनी प्रकोपको कहरसमेत सुरु भएको छ। अबिरल वर्षाका कारण पूर्वी नेपालका पहाडी जिल्लामा बाढी र पहिरोले जनजीवन प्रभावित बनेको छ।
कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर र संखुवासभामा बाढी र पहिरोमा परी २६ जना बेपत्ता छन्। एक जनाको मृत्यु भएको छ ।
शनिबार राति वर्षासँगै आएको बाढीले बगाउँदा पाँचथरका हिलिहाङ गाउँपालिका–७ का ४५ वर्षीय तिलकुमार तामाङ, फिदिम नगरपालिका–११ का २८ वर्षीय सञ्जोग लिम्बु, फिदिम नगरपालिका–५ का ५५ वर्षीय राजकुमार राई, हिलिहाङ गाउँपालिका–७ माझीटारका २८ वर्षीय आशिष माझी र सोही ठाउँकी २५ वर्षीया एलिसा माझी बेपत्ता हुनुभएको छ ।
यस्तै बाढीले हेवा खोलामा रहेका तीनवटा पक्की पुल र झोलुंगे पुल पनि बगाएको पाँचथर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दिवश कुँवरले जानकारी दिनुभयो । ‘जसले गर्दा मेची राजमार्ग अवरुद्ध भएको छ भने भेडेटार निस्किने सडक पनि बन्द भएको छ ।
यता, हेवा खोलामा आएको बाढीले बगाएर संखुवासभामा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र गोदारका अनुसार बाढीले बगाएर ल्याएको अवस्थामा पाँचखपन नगरपालिका–५ मा एक जनाको शव भेटिएको छ। मृतकको पहिचान हुन बाँकी छ।
हेवा खोलामा बाढी आउँदा सम्पर्कविहीन भएका १८ जनामध्ये दुई जना सम्पर्कमा आएका छन्।
बाढीले हेवा खोला जलविद्युत्मा क्षति पुर्याएको छ। सोही जलविद्युत् आयोजनामा कार्यरत १६ जना मजदुर सम्पर्कविहीन भएका हुन्।
यस्तै शनिबार रातिको वर्षासँगै आएको पहिरोले घर बगाउँदा ताप्लेजुङमा एकै घरका तीन जना बेपत्ता भएका छन्।
सिदिङ्वा गाउँपालिका–६ मेहेलेका स्थानीय यादव बुढाथोकीको घर पहिरोले बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता हुनुभएको हो ।
यस्तै, मेहेलेकै भरत तामाङसमेत बेपत्ता हुनुभएको छ । खोला छेउमा रहेको घरमा बाढी पसेपछि आमाबुवालाई सुरक्षित स्थानमा सारेर फर्किने क्रममा भरत बेपत्ता भएका स्थानीय कमल कडरियाले जानकारी दिनुभएको छ ।
सिदिङ्वा गाउँपालिका उपप्रमुख बन्दना कडरियाका अनुसार बाढी र पहिरो प्रभावित क्षेत्रमा अिहले साब्लाखु प्रहरी चौकीको टोली पुगेको छ। वर्षा जारी रहेका कारण खोजी तथा उद्धारमा कठिनाइ भइरहेको गाउँपालिका उपप्रमुख कडरियाले जानकारी दिनुभयो ।
बाढी र पहिरोले ताप्लेजुङका धेरैजसो सडक पूर्णरूपमा अवरुद्ध भएका छन्। यस्तै, याम्फुदिन, खेवाङ, मेहेले, सुरुम्खिम, आङ्खोपसहितका ठाउँमा विद्युत् आपूर्तिसमेत ठप्प भएको छ।
वर्षासँगै आएको बाढीले सिदिङ्वा गाउँपालिकाको आङ्खोपमा तीन घर बगाएको छ। इङ्वाखोलामा आएको बाढीले प्रेम सेलिङ, महेश्वर सेलिङ र गणेश सेलिङको घर बगाएको छ।
बाढी बस्तीमा बसेपछि आङ्खोपका स्थानीयहरु घर छाडेर सुरक्षित स्थानमा गएका छन्।
यस्तै, मैवाखोलामा आएको बाढीले दोभानबजार जोखिममा परेको छ। मध्यरातमा बाढी आएपछि बजारका अधिकांश स्थानीय अन्तै सरेका छन्। बाढीले मेरिङ्देन गाउँपालिकातर्फ जाने खोला किनारको सडकसमेत बगाएपछि बाटो पूर्णरूपमा अवरुद्ध बनेको बताइएको छ।
मैवाखोला–२ र ५ नं वडा जोड्ने खार्तेखोलाको झोलुंगे पुल पनि बाढीले बगाएको छ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा