जीवन्त र कालजयी सिर्जना नै मेरो प्राथमिकतामा हो : नारायण थापा, गायक

Read Time = 10 mins

नेपाली गायन क्षेत्रमा आफ्नै राजमार्ग बनाएर यात्रारत हुनुहुन्छ नारायण थापा । उहाँका धेरै गीत स्रोता÷दर्शकमाझ लोकप्रिय छन् । डा.कृष्णहरि बरालको शब्द गैरे सुरेशको संगीत अनि थापाको स्वर रहेको ‘कुनै दिन त भेट होला’, कालिप्रसाद रिजालको शब्द, शिखर सन्तोषको संगीत रहेको ‘आजकलको मुना मदन’, आनन्द अधिकारीको शब्द थापा अनि मेलिना राईको स्वर रहेको ‘तिम्रो आकर्षणले तानिरहृयो’ जस्ता गीतहरू उहाँका लोकप्रिय छन् । पछिल्लो समय सार्वजनिक भएको अर्जुनराज भण्डारीको शब्द र अर्जुन पोखरेलको संगीत रहेको उहाँको गीत ‘नघोच यो छाति’ पनि त्यतिकै रुचाइएको छ । सुनकोशी गाउँपालिका-५ थापाथुम्का सिन्धुलीमा पिता रामु थापा र माता चम्पा थापाको कोखबाट जन्मिनुभएका नारायण निरन्तर साधाना गर्दै उत्कृष्टा सिर्जाना पस्किन लागि पर्नुहुन्छ भने आफूलाई चर्चाको भोकदेखि अलि पर राख्न मनपराउनुहुन्छ । सत्कर्ममा विश्वास राख्ने थापा गीतसंगीत मानव जीवनमा एक अर्काका परिपूरक रहेको धारणा व्यक्त गर्नु हुन्छ । आज आयो बजार पिट्यो भोलि हराउनेभन्दा पनि जीवन्त र कालजयी सिर्जना नै आफ्नो पहिलो प्राथमिकतामा पर्ने बताउनुहुने गायक नारायण थापासँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको कुराकानीको संक्षिप्त अशंः-

गायनमा कहिलेदेखि हुनुहुन्छ ?
गीतसंगीतमा रुचि बच्चैदेखि हो, औपचारिक सिकाइ २०६० देखि हो ।

पहिलो गीत कहिले रकेर्ड भएको थियो ।
अनौपचारिक रूपमा गीत गाइरहे पनि पहिलो रेकर्ड २०६५ तिर भएको थियो । २०७० देखि त निरन्तर गीतसंगीत मै छु ।

यो क्षेत्रमा कसरी आउनुभयो ?
स्कुल कलेजमा हुने कार्यक्रममा साथीभाइबाट प्राप्त हौसलाले संगीत क्षेत्रमा आउन अभिप्रेरित गर्‍यो । यस्तै विभिन्न कार्यक्रममा भाग लिदा त्यहाँ पाएको सफलता र हौसलाले म विस्तारै यो क्षेत्रमा हेलिँदै गए ।

नारायण थापा को हो ?
नारायण थापा चर्चाको भोकदेखि अलि पर रहन मनपराउने, सत्कर्ममा विश्वास राख्ने, गायक संगीतकार व्यवसायी एवं सामाजिक कार्यकर्ता हो जो यो देश र समाजलाई सकारात्मक योगदान दिन चाहन्छ ।

आज आयो बजार पिट्यो भोलि हराउनेभन्दा पनि जीवन्त र कालजयी सिर्जना नै पहिलो प्राथमिकतामा पर्छ ।
तपाईंमा जे कुराको नशा छ त्यो कुनै पनि सर्तमा पूरा गर्नुहुन्छ । यसरी नै हाम्रो संगीत उद्योग चलिरहेको छ ।

ADVERTISEMENT

गीतसंगीत र जीवनलाई कसरी परिभाषित गर्नुहुन्छ ?
गीतसंगीत मानव जीवनमा एकअर्काका परिपूरक हुन । एउटा गीतकारले आफ्नो भावना शब्दको माध्यमबाट अभिव्यक्त गर्छ, त्यसैलाई एउटा संगीतकारले सुमधुर धुनद्वारा प्राण भर्छ र गायकले गाउँछ जुन कालान्तरमा कसै न कसैको जीवनसँग मेल खान पुग्छ र गीत जीवन्त र कालजयी बन्छ । त्यसैले गीतसंगीत र मानव जीवन एउटा सिक्काको दुई पाटाजस्तो लाग्छ ।

नारायण थापा भनेर कुन गीतले चिनायो ? अर्थात् यहाँको करियरको ‘टर्निङ प्वाइन्ट’ कुन गीतलाई लिनुहुन्छ ?
मेरो प्राथमिकता आज आयो बजार पिट्यो भोलि हराउनेभन्दा पनि जीवन्त र कालजयी सिर्जना नै पहिलो प्राथमिकतामा पर्छ । तर, गीतको कुरा गर्नुपर्दा डा.कृष्ण हरि बरालको शब्द गैरे सुरेशको संगीत अनि मेरो स्वर रहेको ‘कुनै दिन त भेट होला’, कालीप्रसाद रिजालको शब्द, शिखर सन्तोषको संगीत रहेको ‘आजकलको मुना मदन’, आनन्द अधिकारीको शब्द मेरो अनि मेलिना राईको स्वर रहेको ‘तिम्रो आकर्षणले तानिरहृयो’ जस्ता गीतहरूले नेपाली गीत गायन क्षेत्रमा नारायण थापाको परिचयलाई अझ फराकिलो बनायो जस्तो लाग्छ । पछिल्लो चरणमा सार्वजनिक भएको अर्जुनराज भण्डारीको शब्द र अर्जुन पोखरेलको संगीत रहेको ‘नघोच यो छाती’ले पनि एउटा उचाइ दिएजस्तो लाग्छ ।

यस क्षेत्रमा यहाँले पुर्‍याउनुभएको योगदानस्वरूप थुप्रै मानसम्मान, पुरस्कार र अवार्ड प्राप्त गर्न सफल हुनुभएको छ नि ! कस्तो लाग्छ फर्केर हेर्दा ?
यहाँले भनेजस्तै केही मान सम्मान र पुरस्कार प्राप्त भएका छन् । यसले थप हौसला प्रदान गर्दो रहेछ । मलाई योंग माइन्ड इन्करेजमेन्ट अवार्ड, जिनियस म्युजिक अवार्ड, नेपाल आर्ट कल्चर एण्ड म्युजिक अवार्ड, स्पर्श म्युजिक अवार्ड जस्ता अवार्ड प्राप्त भएका छन् । त्यस्तै राष्ट्रिय विलक्षण प्रतिभा सम्मान, नेपाल म्युजिक एण्ड फेसन अवार्ड सम्मान, क्वालिटी इन्टरटेनमेन्ट अवार्डअन्तर्गत राष्ट्रिय संगीतकर्मी सम्मानलगायत प्राप्त भएका छन् । यी सबै कार्यले खुशी लाग्छ । हौसला प्रादन गर्दछ । फर्केर हेर्दा अझ राम्रो गरौं भन्ने हुन्छ । अझ उत्कृष्टा सिर्जना पस्किउ भन्ने हुन्छ ।

नेपाली गीतसंगीतमा हिजोको दिन र आजमा के कस्तो परिवर्तन भएको छ ?
हिजो सिकेर साधनाले गीत जन्मन्थ्यो भने आज प्रविधिले रहरेलाई चर्चित गायक-गायिका बनाएको छ । प्रविधिले गीतसंगीतमा व्यावसायिकतासँगै विकृति पनि अवश्य निम्त्याएको छ । त्यसलाई निराकरण गर्न गीतसंगीत विकासका खातिर खोलिएका संघसंस्था र स्रष्टा स्वयं सचेत हुनुपर्ने देख्छु । सँगै प्रविधिको विकास र विस्तारले पछिल्लो समय नेपाली गीतसंगीतको अन्तर्राष्ट्रिय बजार व्यावसायिक र फराकिलो बनेको छ ।

नेपाली गीतसंगीतको अवस्था कस्तो देख्नुहुन्छ र कस्ता चुनौती छन ?
व्यवसायिक तथा संख्यात्मक हिसाबले हिजोभन्दा आज फराकिलो र व्यावसायिक देखिन्छ तर यसको भित्री पाटो निकै अँध्यारो र डरलाग्दो छ । वार्षिक हजारौं गीतहरू बजारमा आउँछन् जसमध्ये ९९ प्रतिशत गीतहरूले लगानी उठाउँदैनन अर्थात् रिटर्न जिरो नै छभन्दा अत्युक्ति नहोला । तर, तपाइँमा जे कुराको नशा छ त्यो कुनै पनि सर्तमा पूरा गर्नुहुन्छ । यसरी नै हाम्रो संगीत उद्योग चलिरहेको छ । भूकम्प, कोरोना भाइरस (कोभिड-१९)को संक्रमण, आर्थिक मन्दीलगायतका कारण हरेक क्षेत्रजस्तै गीतसंगीतमा पनि केही सिथिल पक्कै भएको छ ।

बजारमा अवार्ड पाइरहेका गीतसंगीतको बारेमा यहाँको धारणा के छ ?
तपाईं जसलाई सुन्नुहुन्छ त्यसपछिमात्र कसैको असली क्षमता अनुमान गर्न सक्नुहुन्छ । बजारमा त्यस्ता कयौं सर्जकहरू छन् जसको क्षमता र सिर्जना बजारले पत्याएका संगीतकर्मीको भन्दा अब्बल छ । तर, उचित प्रोत्साहन नपाएर त्यस्ता कयौं सर्जक गुमनाम प्रायः छन् । धेरै गीत जो अवार्डका लायक हुन्छन् ती दूरदराजमै छन् । कति राम्रा गीतहरू पक्कै पुरस्कृत भएका पनि छन् अवार्ड अर्गनाइजरले पनि त्यस्ता सर्जक र सिर्जनाहरू पहिचान गरी प्रोत्साहन र सम्बोधन गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?