म्याग्दीका किसान उन्नत जातको विउप्रति आकर्षित

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 7 mins

म्याग्दी । म्याग्दीका ग्रामीण क्षेत्रमा धाउको विउ राख्ने समय सुरु भएको छ । किसानहरु उन्नत जातको विउको खोजीमा छन् ।

हाइब्रिड (उन्नत) जातको विउको प्रयोग बढ्दै गए पछि ५/६ वर्ष अघिसम्म यहाँका कृषकले उत्पादन गर्दै आएका रैथाने बालीहरु अहिले लोपोन्मुख अवस्थामा पुगेका कृषि प्राविधिकहरुले बताएका छन् ।

रैथाने बाली लगाउँदा मेहनत र लागतअनुसारको उत्पादन नभएपछि म्याग्दीका किसानहरुले बजारबाट उन्नत जातको धानको बीउ किनेर लगाउने गरेका हुन् ।

म्याग्दीको मालिका गाउँपालिका ७ का शेरबहादुर बूढाले पाँच वर्षयता उन्नत जातका धानको बीउ प्रयोग गर्न थालेको बताउनुभयो । यस वर्ष पनि बूढाले युएस ३१२ जातको धानको विउ राखेको बताउनुभयो ।

बूढाले पहिले गौरिया, गुडुरा, आँगा,ताकमारे,जौधान लगाएतका रैथाने धानको विउ लगाउनुहुन्थ्यो । यी जातका बाली लगाउँदा दुःख धेरै हुने,रोग किराको प्रकोप देखिने र उत्पादन कम हुँदा लागत खर्च पनि नहुठ्ने हुन थालेपछि विउ परिवर्तन गरेर खेती गर्दा उत्पादन बृद्धि भएको उहाँको भनाइ छ ।

बूढाले मात्र होइन म्याग्दीका अधिकाँश किसानले उन्नत जातको विउ प्रयोग गर्न थालेपछि स्थानीय जातका बालीहरु लोप हुँदै गएका हुन् ।
“गाउँघरमा पहिलेदेखि नै लगाउँदै आएका बाली अहिले पाइनै छाड्यो, बजारमा विभिन्न थरिका नयाँनयाँ जातका बीउ आउँछन्, नयाँ बीउ खरिद गरेर लगाउने गरिएको छ, उन्नत जातको बीउबाट उत्पादन धेरै हुने भएकाले हिजोआज रैथाने बाली लगाउनै छाडियो” बेनी नगरपालिका २ सानालेकका कृष्णबहादुर थापाले बताउनुभयो ।

उत्पादन धेरै लिन पाइने, पराल पर्ने भएकाले सात/आठ वर्षदेखि नै उन्नत खालका धानको बीउ प्रयोग गर्दै आएको उहाँले बताउनुभयो ।

उन्नत बालीलाई जग्गा धेरै नचाहिने, थोरै जग्गामा खेती गरे पनि धेरै उत्पादन हुने, रैथाने बाली पाँच/सात मुरी फल्ने जग्गामा उन्नत बाली ३०÷३५ मुरी फल्ने हुँदा आफूहरु रैथाने बालीको विकल्पमा उन्नत जातका बालीतर्फ आकर्षित भएको स्थानीय कृषकहरुले बताएका छन् ।
उत्पादन नबढ्ने, फल लाग्ने बेलामा ढल्ने, पराल कम पर्ने भएकाले किसानले नयाँ प्रजातिका बीउ खोजी खोजी लगाउने गरेको पाइन्छ । महँगो मूल्यमा हाइब्रिड जातको बीउ खरिद गरेर खेती गर्ने बढेका छन् ।

ADVERTISEMENT

अहिले जिल्लामा उन्नत जातका नयाँ नयाँ प्रजाति धानको बीउ आउन थालेपछि रैथाने जातका धान देखिन छाडिसकेको छ । जिल्लाबाट रैथाने प्रजातिका धान विस्थापित हुँदै जाँदा नयाँ भनिएका विकासे धानका कारण विभिन्न खाले रोग प्रकोप समेत बढेको किसानको भनाइ छ । हाइब्रिड धानको अतिक्रमणमा परेपछि रैथाने बाली लोप हुँदै गएका हुन् ।

बजारमा उन्नत जातका धानका बीउ आउन थालेपछि रैथाने बीउ किसानले विस्तारै लगाउन छाड्दै जाँदा अहिले लोप हुन पुगेको हो । रैथाने बाली संरक्षण हुनुपर्छ भनेर कतिपय किसानले सम्बन्धित निकायमा माग पनि गरेका छन् ।

धानको गुणभन्दा पनि फल्ने मात्राको लेखाजोखामा किसानको ध्यान छ । उत्पादनमा कमी, जनसङ्ख्या बढ्दो, जग्गा घट्दो भएका कारण धेरै फल्ने जातको खोजीमा किसान छन् । रैथाने धानको लागि गाईभैँसीको मल प्रयोग गर्ने र नयाँ जातको धान युरिया मलको भरमा उत्पादन हुने गरेको कृषक स्वयं बताउँछन् ।

उन्नतको तुलनामा रैथाने बाली स्वास्थ्यको लागि धेरै राम्रो मानिए पनि त्यसको खेती गर्नै छाडिएको छ । रैथाने बालीमा पाइने प्रोटिन, कार्बोहाइडेट, आइरन, क्याल्सियम पाइने भएकाले पनि स्वास्थ्यका लागि सेवन गर्नु राम्रो मानिन्छ ।

धान मात्रै होइन म्याग्दीका ग्रामीण भेगबाट स्थानीय प्राकृतिक स्रोत, ती स्रोतको उपभोग र प्रयोग गर्ने तरिका, रैथाने बीउबिजन, उच्च पहाडी तथा हिमाली क्षेत्रमा मात्र पाइने विशेष किसिमका जडीबुटी फूल, पुतलीका प्रजाति र जीवाणुसम्मका जैविक पदार्थ चोरी हुने क्रम बढेसँगै जिल्लाका पहिचान बोकेका रैथाने स्रोत लोप हुने अवस्थामा पुगेका हुन् ।

करिब एक दशक अघिदेखि म्याग्दीका गाउँबाट रैथाने प्रजातिका खाद्यान्न, हिउँदे बाली, दलहन र तेलहनका बाली, फलफूललगायतका बालीको बीउ, जुनेलो, सिलाम, आँगा, मार्सी, गुडुरा, गौरिया, जौधानलगायतका धान, घैया, उवालगायतका बालीको बीउ लोप हुँदै गएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

आयातित बीउबिजनको प्रयोग गर्ने क्रम बढ्दै गएपछि यहाँका कृषकको घरका भित्तामा पाकेका फ्रर्सी, काक्रा, घिरौलालगायतका बीउ टाँस्न छोडेका छन् भने धान, गहुँ, मकैलगायतका बालीका लागि बीउसमेत साँचेर राख्न पनि छोडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?