✍️ सुनिता खड्का
आजसम्म तपाईंको सबैभन्दा मिल्ने र भरपर्दो साथी के हो ? अथवा को हो ? यो प्रश्नमा अधिकांशको जवाफ प्रायः एउटै हुन्छ-अहिलेको जमानामा विश्वास र भरोसाको साथी कोही छैन । साँच्चै हो ? आँखा चिम्लेर विश्वास गर्न सकिने व्यक्ति, वस्तु आज केही र कोही छैन ? छल, कपट र धोकाले विश्वासको तागतलाई सबैभन्दा कमजोर बनाउँछ । कलियुगमा मानिसहरू यही संस्कारमा हुर्किरहेका छन् ? हावा नचली पात हल्लिँदैन । सायद त्यही भएर कसैले चुरोटलाई आफ्नो विश्वासीलो साथी मान्छन् । कसैले जुवालाई कसैले तासलाई । गीतसंगीत, कला र साहित्यलाई पनि कसैले आफ्नो अभिन्न साथी मान्छन् । म पनि मान्छेभन्दा माथि कसैलाई साथी मान्छु । उसलाई अनन्त प्रेम गर्छ र आफूलाई समर्पण पनि । मेरो एउटा साथी छ-कलम । आजको मेरो स्तम्भ त्यही साथीको निम्ति । अर्थात्, कलमले मेरो घाउमा लगाएको मल्हमको सम्मानस्वरूप मेरो प्रिय कलमलाई समर्पित प्रिय कलम मेरो लागि तिमी कति मिलनसार र विश्वासीलो छौं । त्यसैले, त म निर्धक्क आफ्ना आँखा बन्द गरेर मनका सारा भावनाहरू निःसर्त पोख्न सक्छु । तिमीलाई अंगालेर कापीका सफेद पानाहरू आँशु र हाँसले भरे पनि मेरा आँशुको व्यापार तिमीले गर्छौ कि भन्ने डर हुँदैन । मेरो हाँसोलाई बजारमा बेच्न राख्छौं कि भन्ने चिन्ता हुँदैन । त्यतिमात्र होइन । प्रकृतिको नियम अनुसार समयको कुनै विन्दुमा पुगेर जन्म दिने आमा र उनका सन्तान पनि छुटिनुपर्छ । साँझ परेपछि हिमचुलीबाट सूर्यका रम्मिहरू छुटिनुपर्छ । एक चरण वनबाट वसन्त पनि छुटिनुपर्छ । तर, भावनाको अनन्त यात्रामा तिमीलाई घिसारेर सँगै लैजाँदा पनि मलाई रोक भन्दैनौ । मेरो लागि कहिल्यै थकित र क्लान्त बन्दैनौं । तिमीलाई म जति समय दिनसक्छु । त्यति नै समय तिमी मलाई दिन सक्छौं । तिमीप्रति म जति समर्पित हुन्छु त्यति नै तिमी म प्रति पनि हुन्छौं । त्यसैले तिमी कति भरपर्दो र आत्मिय छौं मेरो लागि । एकमा एक जोडेर एक भए झै अनन्त र विराजमान छौं तिमी मेरो लागि ।
प्रिय कलम व्यस्तताको बाबजुत तिमीसँग लामो समय भेट हुन नपाउँदा मैले झै तिमी पनि मेरो स्पर्शको अभाव महशुुस गर्छौं ? मलाई झैं तिमीलाई पनि मेरो अभाव हुन्छ ? मैले झै निस्सार र एक्लै भएर छटपटिनुको व्यथा तिमीले पनि सहनुपर्छ । कहिलेकाही त तिमीसँग मेरो सम्बन्ध एकतर्फी प्रेमजस्तो लाग्छ । किनकि, तिमीलाई सधैं म आफ्नो खुशीका लागि उपयोग गरिरहन्छु । तिम्रो समय र अस्थित्व आफू अनुकुल प्रयोग गरिरहन्छु । र पनि मेरो खुशीको निम्ति तिमी मौन भइरहन्छौं । मेरा सुख, दुःखमा उपस्थिति भइरहन्छौं । कहिलेकाहीँ तिमीले पनि मेरो एकतर्फी प्रेमको प्रतिकार गरिहेर । तर, गर्दैनौं । किनकि, मलाई सधैं साथ दिने असल साथी तिमीमात्र हौ ।
प्रकृतिको नियम अनुसार समयको कुनै विन्दुमा पुगेर जन्म दिने आमा र उनका सन्तान पनि छुटिनुपर्छ । साँझ परेपछि हिमचुलीबाट सूर्यका रम्मिहरू छुटिनुपर्छ । एक चरण वनबाट वसन्त पनि छुटिनुपर्छ । तर, भावनाको अनन्त यात्रामा तिमीलाई घिसारेर सँगै लैजाँदा पनि मलाई रोक भन्दैनौ ।
स्वार्थले भरिएको यो संसारमा मेरो भन्नु केवल तिमीमात्र छौं । त्यसैले, प्रिय कलम तिमीप्रतिको विश्वास र साथ सधैं अटुट रहोस् । सदैव तिमीसँग म आफ्ना सुख, दुःख, पोख्न सक्छु । विना संकोच तिमीसँग आफ्नो हृदय खोल्न सकुँ । विश्वास छ तिमीले मेरो इमानदारीताको फाइदा उठाउने छैनौँ । किनकि, कतियुगमा मानिसभित्र अविश्वासको प्रदूषण मडारिरहेको छ । छल, कपट र स्वार्थले दुनियाँमाथि हस्तक्षेप गरिरहेको छ । आज दुःखको साथी बनेका मानिस भोलि त्यही साथीको कहानी बजारमा बेच्न मौका पर्खिरहेका हुन्छन् । आफ्नाहरू पनि निःस्वार्थ रूपमा आफ्ना हुँदैनन् । पाइला–पाइलामा आफ्नो फाइदाको जोडघटाउ गरिरहेका हुन्छन् । आर्थिक, सामाजिक, राजनीतिक, भौतिक वा मूर्तअमूर्त जुनसुकै होस् जसरी पनि हामीलाई होइन मलाई फाइदा होस् भनेर मौका पर्खिरहेका हुन्छन् । यो संस्कार मानवीय धर्मको पतन र भौतिकवादी दुनियाँको प्रतिबिम्ब हो ।
समयको अन्तरालसँगै ममाथि धेरै शारीरिक र मानसिक बदलाब आए । मेरा क्रियाकलाप र गतिविधिमा पनि परिवर्तन आए । तर, प्रिय कलम, तिम्रो महŒवमा रतिभर फरक आएन । तिम्रो इमानदारीतामा थोरै पनि परिवर्तन आएन । अनि मैले बुझेँ तिमी सरस्वती माताको आशिर्वादको प्रतिबिम्ब रहेछौं । तिमीलाई म कसरी धन्यवाद दिउँ ? जब म रातको अन्धकारमा हराउँछु । तब तिम्रो साथले झलमल्ल उज्यालो पाउँछु । एकान्तमा वेदनाले छटपटाउँदा साथमा तिमी भए औषधि पनि बिर्सन्छु । तिमी साथमा भए मेरो संसार कति रमाइलो लाग्छ । एक्लै हुनुपर्दा निस्सार र वैराग्यले लखेट्छ । एउटा भनाइ छ–डुब्न लागेको मान्छेलाई त्यान्द्रो नि साहारा हुन्छ । मेरो लागि कलम त्यस्तै भएको छ । म वेदना र वैराग्यको महासागरमा डुब्न पुग्दा त्यान्द्रो भएर होइन मेरो निम्ति कलम नयाँ जीवन दिने चमत्कारी अस्त्र भएको छ ।
एकतर्फी हेर्दा म पनि स्वार्थी छु । किनकि, म तिम्रो साथ यसरी नै अनन्तसम्म चाहन्छु । हाँसी, खेली, रोइकराई आफ्ना सारा भाव तिम्रैसामु पोखी मन हलुङ्गो बनाउन चाहन्छु । आफूलाई तिमीमा समर्पित गरी एकपल पनि अमृत पान गरेसरी सारा जीवन बिताउन मन छ । तिमी साथमा हुँदा भारी मन पनि कति हलुंगो हुन्छ । मनको बह पोख्ने ठाउँ हुँदा ढुंगाजस्तो गह्रौ मन पनि सिमलको भुवासरी उडछ पुग्छ । कति मिठा हुन्छन् ती पलहरू जब तिमीसँग साट्छु मेरा पलहरू । त्यसैले एक पल पनि तिमी साथमा हुँदा म आफैंमा हराउँछु । सारा सांसारिक माया मोह र भौतिक चिजहरू बिर्सन्छु ।
प्रिय कलम तिम्रो साथले म समाजको कालो सत्यको विरुद्ध लड्न सक्ने भएको छु । हरेक पल लड्दा तिमीलाई समाएर उड्न जान्ने भएको छु । पापीहरूले मेरो बोली बन्द गराउँदा चिच्याएर बोल्न सक्ने भएको छु । विकृति र विसंगतिविरुद्ध खबरदारी गर्न सक्ने भएकी छु । तिम्रो भरमा मैले नयाँ जीवन पाएको छु ।
प्रिय कलम तिमीसँग मित्रता राख्न सुरुमा धेरै गाह्रो भयो । तिम्रो मेरो साथलाई सुमधुर बनाउन पहिलोचोटी मेरा औंलाहरू थरथर कापेका थिए । पाखुराहरू शिथिल भएका थिए । अक्षरहरू केरमेट गर्नुपर्दा कापीका सफेद पानाहरूले कति गिज्याएका थिए । सम्झन्छु त्यो असहजता । बिर्सन्न तिमीसँग नजिक हुन गरेको त्यो प्रयास । अन्ततः तिम्रो र मेरो लय मिल्दै गयो । तिमी र म एक-अर्काका अभिन्न साथी हुन पुग्यौं । यस्तो लाग्छ हाम्रो मित्रता दुईवटा फरक अस्थित्वको मिश्रणबाट निर्माण भएको होइन एउटै अस्थित्वको बाबजुत हामी भेटिएरसँगै हिँडेका हौं । तिमीले मेरो मूल्यांकन नगर किनकि, तिमीसँग न म कहिल्यै रिसाउँछु । न त आफ्नो भावनालाई तिम्रो सामु लुकाउने वा दबाउने बेइमानी गर्छु । कसम तिम्रो साथले गर्दा नै आजम बाहिरी संसारमा बाँच्न र आजसम्म बाँचिरहन सकेको छु ।
तिमीसँग हुँदा कहिले बाल्यकाल दोहोरिएको आभास हुन्छ । अनि उही पुरानो जीवनको नयाँ आनन्दमा आफूलाई हराउँछु । आफूलाई सम्हाल्दै फेरि लामो स्वास फेर्छु र तिमीले दिएको खुशी पाएर फेरि हाँस्छु । आज त्यही खुशीलाई मेरो जीवनको ओखती बनाएको छु । तिम्रो र मेरो अङ्कमालको समय समाप्त हुँदा म एक मीठो सपनाबाट व्युँझे झै वास्तविकताको तीतो यथार्थमा आफूलाई पाउँछु । भौतिकवादी दुनियाँमा स्वार्थी सम्बन्धहरू सलबलाईरहँदा आफूलाई चौतर्फी असुरक्षित भइरहेको पाउँछु । मानवीय धर्म र इमानदारीताको कारोबार भइरहँदा आफूलाई बेचिन लागेको अबोध पशुझै बेसाहारा महशुसा गर्छु । तिमी साथमा हुँदा म आफूलाई सबथोक सम्झन्छु । तर, तिम्रो अभाव हुँदा आफ्नो अस्थित्व रक्षाको निम्ति मैले द्रौपतिले झै संघर्ष गर्नुपर्छ ।
पापीहरूको हातबाट आफ्नो आङको वस्त्रलाई जोगाउन पाइला-पाइलामा संघर्ष गर्नुपर्छ । पवित्र तपस्याबाट प्राप्त गरेका पाँच श्रीमानबाट पनि आफ्नो अस्थित्व बनाउन नसकी द्रोपती माधवको शरणमा पुग्नु परेको थियो । आजको कलियुगमा पनि समाजमा देखावटी रूपमा आफूलाई राम चरित्रमा प्रस्तुत गर्न लोग्नेहरू खुलेरै लागिपरेका छन् । तर, उनीहरू भित्रभित्रै श्रीमतीको मानसम्मानमा कालो पोत्न पनि पछि पर्दैनन् । घरेलु हिंसाका सुत्रधार उनीहरू नै बन्न पुग्छन् । त्यसकारण आजको दिनमा आफ्नो असल साथी भनेको आफूमात्र भइँदोरहेछ । यहाँ हरेक पाइलामा परीक्षा हुन्छ । यदि सफल भइयो भने स्याब्बासी दिइन्छ । तर, असफल भइयो भने उसलाई प्रोत्साहन होइन हतोत्साहित बनाउने नियतले नानाथरीको संज्ञा दिइन्छ । हाम्रो समाज एक्काईसौं शताब्दीको रफ्तारमा छ । तर, आज पनि समाजले पुरुषहरूको होइन नारीहरूको मात्र परीक्षा लिन्छ ।
प्रिय कलम तिम्रो साथले म समाजको कालो सत्यको विरुद्ध लड्न सक्ने भएको छु । हरेक पल लड्दा तिमीलाई समाएर उड्न जान्ने भएको छु । पापीहरूले मेरो बोली बन्द गराउँदा चिच्याएर बोल्न सक्ने भएको छु । विकृति र विसंगतिविरुद्ध खबरदारी गर्न सक्ने भएकी छु । तिम्रो भरमा मैले नयाँ जीवन पाएको छु । तिम्रो र मेरो साथले समाजमा रहेको नानाथरी विभेदको रूख जरैदेखि चाँडै नै डल्नेछ । भ्रष्ट र पापीहरूको आत्मावल चाँडै नै गल्नेछ । समृद्ध नेपाल र सुखी नेपालीका लागि लम्किन चम्किन पसिनाले दियो चाँडै नै जल्नेछ । प्रिय कलम आजलाई बिदा, फेरि भेटौला ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता