बागलुङ । ताराखोला गाउँपालिकाको केन्द्र अर्गलभन्दा केहीमाथि पट्टी अग्लो पहाड छ । यही अग्लो पहाडको टुप्पोमा समथर भू-भाग छ । जहाँ सशस्त्र द्वन्द्वका बेला निकै चहलपहल हुन्थ्यो । ताराखोला गाउँपालिका-२ मा पर्ने यस ठाउँ गयार चिनारडाँडाले परिचित छ । घना जंगल र रमणिय रहेको चिनारडाँडामा द्वन्द्व सकिएपछि लामो समय सुनासन बन्यो । अहिले ताराखोला गाउँपालिकाले फेरि त्यस क्षेत्रमा मानिसहरुको चहलपहल बढाउन सहिद पार्क निर्माण गर्न थालेको छ ।
तत्कालीन माओवादी जनमुक्ति सेनाको तालिम केन्द्रका रुपमा रहेको चिनारडाँडालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सहिदको सम्मानका लागि ‘सहिद पार्क’ निर्माण गर्न थालेको छ । पार्कसँगै यहाँ पर्यटन पूर्वाधारसमेत निर्माण गरिदै छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ देखि यहाँ पार्क निर्माणको थालिन गरेको थियो । सहिद पार्कले यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने स्थानीयको भनाइ छ । पार्कमा सशस्त्र युद्धका बेला ज्यान गुमाएका ३१ जनाको सालिक राखिने छ । सालिका निर्माण गर्न थालिएको स्थानमा तत्कालीन द्वन्द्वका बेला निसीखोलाका डोरबहादुर छन्त्याल, रेशम ध्वज मल्ल र टीका छन्त्यालाई शाहीसेनाले गिरफ्तार गरि यहाँ ल्याएर हत्या गरेको थियाे।
हत्या भएका तीनसहित द्वन्द्वका बेला ताराखोला गाउँपालिकाबाट ज्यान गुमाएका र बेपत्ता भएका २७ जना गरि ३१ जनाको सालिक यहाँ राखिने वडा नम्बर २ का अध्यक्ष भद्र बहादुर घर्तीले जानकारी दिनुभयो । पार्क र सालिक निर्माणका लागि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ४० लाख रुपैयाँ विनियोजन गरेको छ । यस बजेटबाट यस वर्ष सालिकासँगै पोखरी, प्रतिक्षालय, स्लेट ढुङ्गा बिच्छाइएको पदमार्ग लगायतका संरचना निर्माण गरिने उहाँ बताउनुहुन्छ । अहिलेसम्म धेरै संरचना निर्माण भएको अध्यक्ष घर्तीको भनाइ छ ।
“यो एतिहासिक ठाउँ हो, अहिलेसम्म ओझेलमा परेको थियो यसलाई प्रवर्द्धन गर्नु पर्छ भन्ने उद्देश्यले तीन वर्ष अगाडिनै एउटा योजना भएका थियौँ सोही अनुसार अहिले काम भइरहेको छ, विशेषगरी यहाँ जनयुद्धमा ज्यान गुमाउनु भएका सहिदहरुको सालिक राखिने छ,” अध्यक्ष घर्तीले भन्नुभयो - “यस क्षेत्र पर्यटकी हिसाबले अत्यन्तै संभावना बाकेको हुँदा प्रवर्द्धन गर्नु पर्छ भनेर लागेका छौँ, अहिले पर्यटन पूर्वाधार पनि बनि रहेको छ, धेरै वर्ष सुनसान बनेको यस ठाउँ फेरि एक पटक पर्यटकको चहलपह हुन्छ भन्ने लागेको छ ।”
उहाँले पयर्कटको सहजताका लागि पदमार्ग र मोटरबाटो दुवै निर्माण भएको बताउनुभयो । पार्क वरपरनै पिकनिक स्पटसमेत निर्माण गरिने बताउनुभयो । समुन्द्री सतहदेखि करिब २३ समय मिटरको उचाइमा रहेको चिनारडाँडादेखि देखिने दृश्यले आगन्तुकलाई थप आकर्षित गर्ने अध्यक्ष घर्ती बताउनुहुन्छ । पार्क पार्क करिब सात रोपनी क्षेत्रफलमा निर्माण भइरहेको उहाँको भनाइ छ ।
ताराखोला गाउँपालिकाका पूर्व अध्यक्ष प्रकाश घर्ती मगरले यस क्षेत्रमा पार्कसँगै जनयुद्धको अध्ययन गर्ने थलोका रुपमा विकास गरिने बताउनुभयो । आफ्नो कार्यकालमा सुरुवात भएको कामले अहिले गति लिन थालेको भन्दै अबको केही समयमा सहिद पार्क अवलोकन आन्तरिक तथा बाह्य पर्यटक आउने उहाँको भनाइ छ ।
घर्ती मगर भन्नुहुन्छ “जनयुद्धमा आफ्नो ज्यानको बलिदानी गर्नु भएका सहिदको सम्मानका लागि सहिद पार्क बनायो योजना थियो, सोही अनुसार अहिले काम भइरहेको छ, यो ठाउँलाई जनयुद्धको अध्ययन गर्ने गन्तव्यका रुपमा विकास गरिने योजना छ, ठाउँ पनि निकै रमणिय छ, पालिकाको केन्द्रभन्दा टाढा पनि भएन, जनिकै छ, त्यसले गर्दा पालिकामा आउने पाहुनाहरु पनि यहाँ आउने र अवलोकन गर्न सक्नेछन्, ठूलो बजेट लाग्ने हुँदा दीर्घकालीन योजना अन्तरगत राखेका थियौँ, यसको सम्पन्न हुन केही समय लाग्छ, तीन वर्ष अगाडिदेखि सुरु भएको पार्क निर्माणले अहिले गति लिएको छ, यही गतिमा काम हुँदै गए सम्पन्न हुन धेरै समय नलाग्ला ।”







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता