आत्मबलको सँगालो- ‘जित्नेको हाँसो’

गीता अधिकारी
गीता अधिकारी
Read Time = 10 mins

नेपाली गायन नारी हस्ताक्षरमा अब्बल नाम हो देविका वन्दना । उहाँको स्वरमा रहेका हजारौं गीत श्रोता/दर्शकमाझ लोकप्रिय रहेका छन् । करिब तीन दशकदेखि नेपाली गीत-संगीतमा सक्रिय रहँदै आउनुभएकी वन्दना आफ्नै राजमार्गमा निरन्तर अघि बढिरहनुभएको छ । उहाँले नेपालीसँगसँगै नेवारी, हिन्दी, मराठीलगायत विभिन्न भाषाका गीतमा आफ्नो सुमधुर स्वर पस्कनुभएको छ ।

‘यस्तै रहेछ यहाँको चलन’ देखि ‘एउटा परदेशी मन चङ्गा’ सम्मका लोकप्रिय र सदावहार गीतमा स्वर दिनुभएकी वन्दनाले ‘अच्छा लेकिन, भरे आउँछु सपनीमा, सुन-सुन सनम’लगायतका धेरै गीतमार्फत कुनै समय नेपाली चलचित्रको पाश्र्व गायनमा एकछत्र राज गर्नुभएको थियो । उहाँले केही वर्षअघि ‘सपनीमा’ नामक फिल्मी गीत र ‘यस्तै रहेछ’ नामक आधुनिक गीत तथा भजन समावेश पुस्तक पनि प्रकाशनमा ल्याउनु भएको छ । उक्त पुस्तक बिक्रीबाट प्राप्त रकम उहाँले असहाय बालबालिकाको निम्ति खर्च गर्नुभयो कोरोनाको कहरका कारण हातमुुुख जोर्न समस्या भएका धेरैलाई ।

कोरोनाको समयमा यसको कहरमा रहेकाहरूका लागि केही सहयोग जुटाइरहनुभएकी देवीकालाई जब आफू क्यान्सर पीडित भएको थाहा लाग्यो तब उहाँमा ब्रजपात पर्‍यो । जस्तो सुकै समस्या आए पनि हाँसी हाँसी त्यसको समाधानतर्फ जुटनुहुने उहाँ यति बेला ‘जित्नेको हाँसो’ कृति लिएर झुल्किनुभएको छ । ‘जित्नेको हाँसो’ उहाँको आत्म कथा हो । गीत संगीतको फाँटमा उत्कृष्ट स्वरकी धनी वन्दनाले क्यान्सर रोगविरुद्ध सकारात्मक सोंचका साथ लड्दै भिड्दै आफूलाई निरन्तर क्रियाशील राख्दै आफ्नो आत्मबललाई कतिपनि कमजोर नपारिकन रोगलाई जित्न सफल भएको उत्प्रेरक आत्मकथा लिएर पाठकमाझ आउनुभएको हो ।

उहाँले यस कृतिमा आफ्ना सूक्ष्म अनुभूतिलाई साधारणीकरण गरी मार्मिक ढङ्गमा पस्किनुभएको छ । यो कृति पढ्दै जाँदा पाठकले आफैँलाई देवीका बन्दनाको अनुभूति गर्छ । यस कृतिमा सरल र सरश भाषाशैलीका साथै कुतूहलपूर्ण लेखन रहेको छ जसले पाठकलाई यससँगै बाँधिराख्दछ ।

उहाँले यस कृतिमा आफ्ना सूक्ष्म अनुभूतिलाई साधारणीकरण गरी मार्मिक ढङ्गमा पस्किनुभएको छ । यो कृति पढ्दै जाँदा पाठकले आफैंलाई देवीका बन्दनाको अनुभूति गर्छ । यस कृतिमा सरल र सरश भाषाशैलीका साथै कुतूहलपूर्ण लेखन रहेको छ जसले पाठकलाई यससँगै बाँधिराख्दछ । अझ क्यान्सर रोगीका लागि त यो मनोवैज्ञानिक उपचारको राम्रो पाठ्य सामग्री बनेको छ भन्दा अतिशयोक्ति नहोला । यस कृतिबाट क्यान्सर रोगीले सकारात्मक शिक्षा पाउनुका साथै आत्मबल बढाएर रोगसँग लडने शक्ति प्राप्त गर्न सक्दछन् ।

देविका वन्दनाको समाख्याता चिरन बराल रहनुभएको छ । बुकहिल पब्लिकेसन प्रा.लि.ले प्रकाशन गरेको यो कृतिमा आवरण सचिन योगल श्रेष्ठको रहेको छ भने लेआउट उमेश काफ्लेको छ । कृतिमा संस्कृतिविद् स्व.सत्यमोहन जोशीको ‘साहसिली देवी देविका वन्दना’, वरिष्ठ संगीतकार शम्भुजित बासकोटाको ‘देवीका वन्दना सङ्गीतकी वन्दना’, हास्य साम्रग्री वसुन्धरा भुसालको ‘पूर्ण स्वास्थ्यलाभको कामना’, वरिष्ठ गायक उदितनारायण झाको ‘देविका वन्दनाको हिम्मतलाई सलाम’, र माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाको ‘जस्तो सुकै अप्ठ्यारोमा हार नखाने दविका वन्दना’ शीर्षकमा भूमिका र शुभकामना मन्तवय समेटिएका छन् । सबै भूमिकामा र शुभकामना सन्देशमा देविकाको शाहसको उच्च प्रशंसा गर्दै उहाँको गायन यात्राका साथै कृतिका बारेमा चर्चा गरिएको छ ।

ADVERTISEMENT

यस कृतिमा १६० पृष्ठमा ९० वटा विभिन्न शीर्षकमा गायिका वन्दनाले आफ्ना विषयवस्तुहरू पस्किनुभएको छ । सबै शीर्षकले अलग अलग रूपमा सन्देश दिएका छन् । ती सबै सन्देशहरूको एउटै सन्देश रहेको छ, क्यान्सरजस्तो प्राणघातक रोगबाट उन्मुक्तिको सबालमा देविका वन्दनाको सकारात्मक र आशापूर्ण मनोवेग र उत्साहपूर्ण र संघर्षशील जीवनशैली । उहाँ शरीरमा क्यान्सर लिएर हिँडिरहँदा पनि कहिलै निराश हुनुभएन । आफ्नो मनामा निराशाका कालो बादललाई मडारिन दिनुभएन । जसले गर्दा क्यान्सरजस्तो डरलाग्दो रोगबाट अन्ततः मुक्ति पाउनुभयो ।

उहाँले सरोकारवालाबाहेक अन्यलाई आफूमा भएको भयङ्कर रोगका बारेमा छनकसमेत दिनुभएन । यसबीचमा आफ्ना कामलाई अझ बढी सक्रियता दिनुभयो । आफू अपडेट भइरहनुभयो । दैनिक योग, ध्यान, प्रणायम, जुम्बा डान्स गरिरहिनुभयो । यही समयमा थुप्रै गीत पनि गाउनुभयो । यहीबीचमा विभिन्न अवार्डहरूका साथै वल्र्डबुक अफ रेकर्ड उहाँलाई प्राप्त भए । उहाँको सक्रियताले उहाँलाई क्यान्सरजस्तो प्राणघातक रोग भुलायो । क्यान्सर लागेको जानकारी, क्यामोपोर्ट जडान, किमो थेरापीको समयमा उहाँमा देखिएका धैर्यता, साहस र आशा उदाहरणीय छ । यसकृति र उहाँबाट हामीले धेरै सिक्न सक्छौं । उहाँ पे्ररणाकी स्रोत हुनुभएको छ ।

‘मेरो यो पुस्तकले अरूका लागि के महत्व राख्छ, त्यो मन जान्दिनँ र अनुमान पनि लगाएकी छैन तर कुनै क्यान्सर बिरामीले यो पुस्तक पढेर उहाँको जीवनमा थोरैमात्र पनि सकारात्मक प्रभाव पार्न र परिवर्तन ल्याउन सक्नुभएछ भने त्यही मेरो लागि सफलता हुनेछ ।’ यी बाक्यसँगै पुस्तकको मैजारो गरिएको छ । कृतिको अन्तिममा रङ्गीन ९० वटा तस्बिरहरू समावेश गरिएको छ जसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डरीबाट जनसेवाश्री पदक लिँदै गर्दाका तस्बिरदेखि नेपाल क्यान्सर हस्पिटलमा केमो लिने क्रममा रहेका तस्वीरका साथै अन्य विभिन्न प्रसङ्गका तस्वीर छन् ।

पुस्तकको अन्तिम कभर पृष्ठमा लेखिएको छ, ‘नेपाली नारी गायनकी एक शिखर देविका वन्दनाको स्तन क्यान्सरविरुद्धको साहसिक सङ्घर्ष र अकल्पनीय जितको कथा हो, ‘जित्नेको हाँसो’ । कोरोना भइरसले संसार थला परिरहेको बेला अचानक शरीमा उत्पन्न भएको क्यान्सरलाई जित्नका लागि उनले घरदेखि अस्पतालसम्म गरेका शारीरिक र मानसिक कष्टका कथालाई हृदयस्पर्शी भाषा र शैलीमा यस पुस्तकमा प्रस्तुत गरिएको छ । अटल आत्मविश्वासका साथै पारिवारिक साथ, सहयोग र उत्प्रेरणा भएमा क्यान्सरलाई सजिलै परास्त गर्न सकिन्छ भन्ने सन्देश दिएको यस पुस्तकले क्यान्सरबाट मुक्त रहन मानव जगत्लाई दिशानिर्देशनसमेत गरेको छ ।’

यस कृतिका लागि दिदी वन्दनामा धेरै धेरै बन्दना । आफ्ना थुप्रै गीतमार्फत करोडौं श्रोता/दर्शकको मन मष्तिकमा आफ्नो छुट्टै छाप छोडन सफल यहाँका अझै थुप्रै कालजयी सिर्जना श्रोता/दर्शकमाझ आइराखून् यही गीता कामना । तमसोमा ज्योर्तिगमय !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?