दुर्गम गाउँ जोड्न भूजीखोलामा मोटरेवल पुल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 8 mins

बागलुङ । बागलुङका अधिकांश गाउँ मोटरबाटोले जोडिएका छन् । हिउँदमा ति मोटरबाटोमा गाडी गुड्ने गरे पनि बर्खामा सुनसान हुन्छन् । खोलानालाले घेरिएका गाउँमा सडक पुगेपछि स्थानीयको जनजीवनमा परिवर्तन आए पनि बार्खको करिब चार महिना सास्ती हुने गरेको छ । बर्खामा सडक अवरुद्ध हुने हुँदा यात्रा कष्टकर हुने गरेको जनगुनासो छ । जिल्लाका मुख्य व्यापारीक केन्द्रदेखि गाउँ पुग्न दर्जन बढी खोला पार गर्नु पर्ने हुन्छ । केही ठाउँमा पुल बने पनि अझै धेरै खोलामा निर्माण गर्न बाँकी छ । बागलुङको ढोरपाटन नगरपालिका-६ का अधिकांश गाउँदेखि बर्खामा सिधा यातायात हुन सक्दैन ।

सिधा यातायात नहुँदा यस ठाउँका नागरिकले गाडी परिवर्तन गरि गन्तव्यमा पुग्नु पर्ने बाध्यता छ । ओखरेनी, गाडीखोला, कुदुम, चामीद्वार, छालहाल्न, खानी लगायतका ठाउँका नागरिकलाई सहजताका लागि वडा नम्बर ६ को दोगाडी स्थित भूजीखोलामा तीन वर्ष अगाडि मोटरेवल पुल निर्माण गर्न थालिए पनि अहिलेसम्म सम्पन्न हुन सकेको छैन । गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रकमबाट निर्माण भइरहेको पुलले ग्रामीण जनजीवनमा परिर्वतन ल्याउने अपेक्षा गरिएको छ । पुल निर्माणका लागि वि.सं.२०७७ असार १६ गते महादेव/खिम्ती/क्याराभान जेबीले निर्माण जिम्मा लिएको थियो ।

दुई वर्षमा सक्ने गरि सम्झौता भएको पुलको पहिलो पटक वि.सं. २०७९ असार १० गते म्याद सकिएको थियो । समयमै काम नसकेपछि म्याद थप भएको छ । निर्माण कम्पनीले वि.सं. २०८० असार १० गतेसम्म सक्ने गरि म्याद थप गरेको हो । पूर्वाधार विकास कार्यालय बागलुङमार्फत सम्झौता भएको पुल निर्माणको कार्य अहिले धमधम भइरहेको इन्जिनियर प्रकाश श्रीसले जानकारी दिनुभयो । पुल निर्माको कार्य अहिलेसम्म ६० प्रतिशत मात्रै सम्पन्न भएको उहाँको भनाइ छ । पुल चार करोड ८२ लाखमा बन्न थालेको हो । अहिले काम भने धमाधम भइरहे पनि म्याद सकिने बेलासम्म निर्माण सम्पन्न हुने संभावना निकै कम रहेको इन्जिनियर श्रीसले बताउनुभयो ।

उहाँले भन्नुभयो-“कामदार पनि धेरै छन्, काम पनि तीव्र गतिमै भएको छ, तर अब म्याद सकिन धेरै समय छैन काम अलि बढीनै छ, सरसर काम भयो भने अझै छ महिना लाग्ने देखिन्छ, धेरै काम भए पनि मुख्य काम हुन बाँकी हुँदा समय धेरै लाग्छ, पहिला काम निरन्तर नहुँदा समस्या भएको हो, पहिलो पटकको म्याद सकिएपछि दोस्रो म्याद थपका लागि निवेदन दिने तयारी गरेको देखिन्छ ।”

ओखरेनी, गाडीखोला, कुदुम, चामीद्वार लगायतका गाउँको मुख्य बजार बुर्तिबाङ हो । बुर्तिबाङ बजारदेखि यी गाउँमा पुग्न दुई वर्ष अगाडिसम्म दुई वटा पुल तर्नु पर्थ्याे । बुर्तिबाङको लक्ष्मीकुण्ड घाटमा पुल बनेपछि अहिले दोगाडीसम्म समस्या छैन । दोगाडीसम्म गाडीमा पुगेपछि अर्को परिवर्तन गर्नु पर्ने समस्या अहिलेको बर्खामा पनि यथावतनै रहने भएको छ । बर्खा सुरु हुन थालेको तर पुलको काम सकिने छाँटकाँट नदेखिएको भन्दै यसपालीको बर्खामा पनि आफूहरुले गाडीमा सिधा यात्रा गर्न नपाउने स्थानीय दलबहादुर बुढा मगरले गुनासो पोख्नुभयो ।

ADVERTISEMENT

सडक खुलेको वर्षौँ बिति सक्दा पनि स्थानीयले सहज रुपमा यात्रा गर्न नपाएको बुढा मगरले बताउनुभयो । सडक पनि कच्ची हुँदा बर्खाको चार महिना जोखिम मोलेर यात्रा गर्नु पर्ने बाध्यता रहेको उहाँको भनाइ छ । बर्खाको समय गाउँमा कोही बिरामी परे अस्पताल पुर्‍याउन निकै समस्या भइरहेको बुढा मगरले बताउनुभयो । सरोकारवाला निकायको मौनताले अहिलेसम्म पुल निर्माण हुन नसकेको उहाँ बताउनुहुन्छ ।

“यो पल बन्यो भने एउटा ठूलो भेगका हजारौँ मान्छेहरु लाभाम्वित हुने छन्, पुलका कारण विकास निर्माणमा पनि समस्या भइरहेको छ, गाउँमा सडक पुगे पनि कयौँ वर्ष बर्खाको समय हिँडेर बजार पुग्नु पर्‍यो, नुन तेल चालम पनि घोडा खच्चडमा ढुवानी गर्नु पर्‍यो,” बुढा मगरले भन्नुभयो - “सबैभन्दा बढी समस्या त बिरामीलाई अस्पताल पुर्‍याउँदा हुँदो रैछ, गाउँबाट पुल बन्न लागेको ठाउँसम्म गाडी आए पनि खोला पारी घण्टौँसम्म गाडी कुर्नु पर्ने बाध्यता छ, सहर बजारमा जस्तो गाडी चलि राख्दैनन्, पुल बनेको हुन्थ्यो भने सिधै गाउँदेखि अस्पताल पुग्न सकिने थियो ।”

ढोरपाटन नगरपालिका-६ का अध्यक्ष उमेश कुमार बुढा मगरले अहिलेसम्म पुल नबन्दा यस क्षेत्रका दर्जनौँ गाउँका हजारौँ स्थानीय मारमा परेको बताउनुभयो । पुलका कारण गाउँमा उत्पादन भएको बस्तुलाई बजारसम्म पुर्‍याउन र सामान आयात गर्न ठूलो समस्या भएको उहाँको भनाइ छ । पुल समयमै सम्पन्न गर्नका लागि सरोकारवाला निकायलाई आग्रह गरि रहेको अध्यक्ष बुढा मगरले बताउनुभयो ।

अध्यक्ष बुढा मगर भन्नुहुन्छ- “पुल निर्माण भयो भने बजारदेखि यहाँका गाउँहरु सहज रुपमा जोडिने हुँदा गाउँका नागरिक आय आर्जनसँग जोडिने थिए, तर पुल नबन्दासम्म त्यो संभावना छैन, पुल बन्न थालेको अहिले तीन वर्ष भयो, सकिनु पर्ने हो तर अहिलेसम्म सकिएको छैन, काम त हुँदैछ, यो बर्खामा पुल संचालनमा आउने देखिदैन ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?