स्याङ्जाको गलेम गाउँमा पहिलोपटक बस पुग्दा स्थानीयको खुसी

युवराज पौडेल स्याङ्जा, संवाददाता
युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 6 mins

स्याङ्जा । स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिका वडा नं ४ को सर्केटारी–आरुखर्क–गलेम–पञ्चासे ग्रामीण सडक अन्तर्गत आरुखर्क–गलेमको २ हजार ६०० मिटरको कडा भीरखण्डको ट्रयाक खुलेपछि गलेम गाउँमा पहिलोपटक बस पुगेको छ । शुक्रबार पोखरा बस्ने गलेमबासीहरु मिनीबसमा आफ्नो जन्मथलोमा पहिलोपटक पुगेर खुसी साटासाट गरे ।

गण्डकी प्रदेश सरकार, स्थानीय विकास पूर्वाधार विकास कार्यक्रम र गाउँपालिकाको १ करोड २५ लाख २२ हजार ७ सय ८२ र जनस्तरमा सङ्कलन गरिएको ८० लाख १३ हजार १ सय ५१ समेत गरी १ करोड ५ लाख ४९ हजार १ सय १६ लागतमा यो सडक ट्रयाक खोलिएको हो । ट्रयाक खोल्ने काम २०७५ मा नै सकिएको थियो । यो बाटोमा बाराही कन्ट्रक्सनका प्रोपाइटर भीम केसीले यसको ठेक्का लिनुभएको थियो । हाल सांसद सुधीरकुमार पौडेल र पञ्चराम गुरुङको पहलमा स्थानीय विकास पूर्वाधार अन्तर्गत ५० लाख बजेटमा काम भइरहेको छ ।
यस बाटोको ट्याक खुलेपछि गलेम, राँपु र खामुहालेका जनता प्रत्यक्ष रुपमा यो सडक खण्डबाट लाभान्वित हुने वडा नं ४ का वडाध्यक्ष खेम नारायण पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘ट्रयाक खोलेपछि अब बसमा पनि यात्रा गर्न सकिन्छ । यो सडक गण्डकीकै महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक धामका रुपमा रहेको पञ्चासेसँग जोडिनु महत्वपूर्ण छ । सडकको स्तरोन्नतिका लागि प्रदेश र सङ्घीय सरकारसँग पनि कुरा भइराखेको छ ।’

आफ्नो जन्मभूमि गलेम गाउँमा पहिलो पटक मिनीबस चढेर आउन पाएकोमा सर्केटारी–आरुखर्क–गलेम–पञ्चासे सडक उपभोक्ता समितिका अध्यक्ष ८४ वर्षीय मेजर दिलबहादुर गुरुङको आँखाबाट खुसीका आँसु झरे । उहाँले भन्नुभयो–‘आफ्नो गाउँमा गाडी चढेर कहिले जान पाइएला भन्ने सपना जस्तै भएको र आफ्नै जीवनकालमा गाउँमा गाडी चढेर आउन पाइयो । यो हाम्रा लागि खुसीको कुरा हो ।’ उहाँले बताउनुभयो ।
गलेममा पहिलोपटक बस पुग्दा खुसी हुँदै गलेमबासीहरु पाहुनालाई स्वागत गर्दै खुसी साटासाट गरिरहेका देखिन्थे । आरुखर्क गलेमसम्मको ट्रयाकमा ठुलो भीरखण्ड र कडा चट्टान भएकाले यो बाटोको ट्रयाक खोल्ने काम चुनौतीपूर्ण रहेको थियो ।

आरुखर्कदेखि गलेम बस्तीसम्म जिप, मोटरसाइकल र बसमा यात्रा गर्न सकिने भएपछि गलेमका महिला दिदीबहिनीहरु होमस्टेको प्रवर्धनमा जुटेका छन् । बाटो राम्रोसँग नखुल्दा यहाँका बासिन्दालाई निकै सास्ती थियो । फेदीखोला गाउँपालिकाका काममा यही भीरको बाटो जानुपर्ने बाध्यता भएकाले यहाँका बासिन्दाले दुःख पाइरहेका थिए ।

ADVERTISEMENT

अप्ठ्यारो र कठिन भीरको बाटोबाट सडक निर्माण भएकोमा सबैलाई धन्यवाद दिँदै बसमा गलेमबासीहरुलाई स्वागतमा पुगेकी होमस्टे अभियन्ता पूजा गुरुङले भन्नुभयो– ‘आजको दिन हामी गलेमबासीका लागि खुसीको दिन भएको छ । अब गलेमबासीका लागि यो कच्ची सडकलाई कालोपत्रे गर्न सके गलेमबासी मात्र नभएर यहाँको होमस्टेमा आउने पाहुनाहरुलाई समेत सजिलो हुन्थ्यो ।’ हाल फेदीखोला कार्यपालिका सदस्य समेत रहेकी गुरुङले आगामी दिनमा बाटोलाई फराकिलो बनाउने र पिच गर्ने कुरामा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । हामी प्रदेश सरकारसँग र सङ्घीय सरकारसँग पनि थप स्तरोन्नतिका लागि अनुरोध गर्छौं ।’

गलेममा जन्मेर हाल पोखरा १७ घारिपाटनमा बस्ने क्या.इन्द्रबहादुर गुरुङका लागि यो सपना जस्तै भएको छ । ट्रयाक खोल्दा अर्थसमितिको अध्यक्ष समेत रहनु भएका गुरुङले भन्नुभयो– ‘यत्रो डरलाग्दो भीर छिचोलेर गलेमसम्म गाडी आउला भन्ने कुरा हाम्रा लागि सपना जस्तै थियो । तर आज विपनामा गाडीमा यात्रा गरेर गाउँमै आउन पाउँदा साँच्चै खुसी लागेको छ ।’ उहाँले सडक निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज