नेताले स्वार्थका कारण नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाए, छिट्टै हिन्दु राष्ट्र बनाउनुपर्छ : नेजपा

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 7 mins

रुपन्देही । नेपाल जनता पार्टी (नेजपा) का नेताहरुले ठूला भनिएका दल र तिनका नेताको स्वार्थका लागि नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाइएको आरोप लगाएका छन् ।

उनीहरुले कसैको स्वार्थले मुलुक धर्मनिरपेक्ष बन्न नसक्ने भन्दै अब छिट्टै हिन्दु राष्ट्र घोषणा गर्ने दावी गरेका छन् ।

शनिबार भैरहवाका भएको पार्टीको चौथो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्ने नेताहरुले हिन्दु राष्ट्र गौरवको विषय भएकाले पुनः हिन्दु राष्ट्र बनाउन सबै नेपाली जनता एक ठाउँमा भएर लाग्नुपर्नेमा जोड दिए ।

पार्टीका पूर्व राष्ट्रिय अध्यक्ष एवं संरक्षक अनिल शर्माले कसैको इशारामा मुलुकलाई धर्मनिरपेक्ष बनाइएको भन्दै ठूला दल र तिनका नेताको चर्को आलोचना गर्नु भयो । ‘नेपाल जसरी पनि हिन्दु राष्ट्र हुनुपर्छ, यसलाई सबै हिन्दुवादीले राष्ट्रिय एजेण्डा बनाएर अघि बढ्नुपर्छ’, उहाले भन्नुभयो ‘हाम्रो पार्टी स्थापनाको उद्देश्य नै हिन्दु राष्ट्र कायम गर्दै मुलुकको विकास र समृद्धिका लागि हो ।’

शर्माले आफूहरुको एजेण्ड लोकतान्त्रिक हिन्दु गणतन्त्र स्थापना नै भएको जनाउँदै यसका लागि आवश्यक परे संघर्ष गर्न तयार रहेको वताउनु भयो । पार्टीले बृहत् मोर्चा बनाएर अघि बढ्ने उहाको भनाई थियो।

पार्टीका राष्ट्रिय अध्यक्ष त्रिभुवननाथ पाठकले मुलुकमा अब हिन्दुत्वको शक्ति निर्माण गर्नुपर्ने बेला आएको वताउनु भयो । उहाले नेपाली जनताको चाहना हिन्दु राष्ट्र भए पनि जवरजस्ती ठूला दलका नेताहरुले धर्मनिरपेक्षता लादेको आरोप लगाउनु भयो ।

‘जहाँ गयो, जसलाई भट्यो, त्यहाँका जनताले हिन्दु राष्ट्र हुनुपर्छ भन्छन्’, उहाँले भन्नु भयोे, ‘विडम्बना हिन्दुवादीहरु एक ठाउँ हुन नसक्दा कसैको इशारामा धर्मनिरपेक्ष राष्ट्र बनाइयो । यो हामीलाई स्वीकार्य छैन । जसरी पनि नेपाललाई हिन्दु राष्ट्र बनाएरै छाड्छौं ।’ मुलुकलाई धर्मनिरपेक्ष घोषणा पछि महंगी, भ्रष्टाचार र कुशासनले जरो गाडेको उहाको आरोप छ ।

ADVERTISEMENT

‘मुलुकमा जता हेर्यो, उतै भ्रष्टाचारले जरो गाडेको छ, ठूला दलका नेताहरु भ्रष्टाचारमा लिप्त छन्’, उहाँले भन्नुभयोे, ‘अधिक भ्रष्टाचार हुँदा पनि न अनुसन्धान हुन्छ न कुनै कारबाही नै ।’ अब हिन्दु समर्थकहरुको मोर्चा बनाएर नेपाललाई हिन्दु राष्ट्र बनाउने र भ्रष्टहरुलाई दण्डित गर्ने बताउनु भयो ।

‘यसका लागि पार्टीलाई मुलुकको नेतृत्व गर्ने ठाउँमा पुर्याउनुपर्छ’,, ‘अब सबै नेपाली जनता एक ठाउँ भएर नेपाल जनता पार्टीलाई मुलुककै बलियो शक्ति बनाउन लागौं ।’ आफ्नो पार्टीले अगुवाई गरेर अब छिट्टै हिन्दु राष्ट्र घोषणा अभियान सुरु गर्ने उहाँले बताउनु भयो । पाठकले गाउँगाउँमा गएर संगठन निर्माण गरी अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो।

भारत महाराष्ट्रका भारतीय जनता पार्टीका नेता नामदेव कदमले आफू शान्तिका प्रतीक बुद्धको देश, पशुपतिनाथ र माता जानकीको देशमा आउन पाउँदा आफूले गौरव महशुस गरेको बताउनु भयो । उहाले हिन्दुहरुको बाहुल्य भएको नेपाल धार्मिक तथा ऐतिहासिक रुपले पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्नु भयो । ‘विडम्बना तर नेपाललाई हिन्दु राष्ट्रबाट हटाएर धर्मनिरपेक्ष बनाइयो’, उहाँले भन्नुभयोे, ‘सारा विश्वले नेपाललाई हिन्दु राष्ट्र भनेर चिन्छ, पुरै विश्वमै नेपाल मात्रै एकमात्र हिन्दु राष्ट्र हो भन्छ ।

हाम्रो पनि चाहना नेपाल हिन्दु राष्ट्र होस् भन्ने हो ।’ उहाँले नेपाल–भारत सम्बन्ध रोटीबेटीको भएको जनाउँदै यो सम्बन्ध शदिऔंसम्म रहने विश्वास व्यक्त गर्नु भयो । नेपालको विकास र समृद्धिका लागि भारत सरकार र आफ्नो पार्टीले सधै हातेमालो गर्ने उहाँको भनाई छ ।

नेजपाका केन्द्रिय सदस्य वीरेन्द्रकुमार जैसवालले गत स्थानीय तह निर्वाचनमा पार्टी केही वडाहरुमा जित निकाल्न सफल भएको बताउँदै आउँदो निर्वाचनका पालिका, प्रदेश र प्रतिनिधिसभा सदस्य जित्नका लागि अहिलेबाटै संगठन निर्माणमा लाग्नुपर्ने बताउनु भयो ।
उहाँले संगठन बलियो भए पार्टी बलियो हुने र जुनसुकै निर्वाचनमा जित निकाल्न सफल भइने वताउनु भयो । पार्टीको नीति, एजेण्डा र सिद्धान्त सही भएर पनि जनतासम्म लग्न नसकिएको जनाउँदै जैसवालले यसका लागि अब निरन्तर परिश्रम गर्नुपर्ने वताउनु भयो ।

भारतका हिन्दुत्ववादी नेता नरसिंह पाण्डेले नेपाल हिन्दु राष्ट्र भएको हेर्न आफूहरुको चाहना भएको वताउनु भयो । लोकतान्त्रिक समाजवादी पार्टीका नेता रविदत्त मिश्रा, जनमत पार्टीका नेता अर्जुन जैसवाल लगायतले बोल्दै मधेशको अधिकार प्राप्तिका लागि सबै एक ठाउँ उभिनुपर्ने बताउनु भयो ।

महाधिवेशनको अवसरमा विभिन्न पार्टी परित्याग गरी सयौंजना नेजपा प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज