बागलुङको दुर्गम मुठाचौर र बराहतालमा पुग्यो सडक

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 8 mins

बागलुङ । मुठाचौर बागलुङको सबैभन्दा उच्च स्थानमा रहेको बस्ती हो । उच्च पहाडको टुप्पोमा समथर भू-भागमा फैलिएको मुठाचौर खेतीपाती र पशुपालनका लागि उर्वर ठाउँ हो । वरपर घना जंगल । चारै तिर घना जंगलले घरिएको मुठाचौरमा ढुङ्गा, माटो र काठले बनेका कलात्म घर छन् । यि घरमा वर्षको सात महिना ताला लगाइएको हुन्छ । घुम्ती बसाइँ हुने गर्दा स्थानीय यहाँ बर्खाको समय पशुचौपाया लिएर पुग्ने गर्छन् । मुठाचौर मोटरबाटो, खानेपानी, विद्युत लगायत विकासका पूर्वाधारले नजोडिएको हुँदा स्थानीय छोटो समय मात्रै बस्ने गर्छन् ।

छोटो समयमै पनि उनीहरुले यहाँ आलु, भाँगो र सिमी उत्पादन गर्छन् भने पशुचौपाया पनि पाल्ने गर्छन् । सेवा सुविधाले पछि परेको मुठाचौर अब विकासले जोडिदै छ । तमानखोला गाउँपालिका-२ मा पर्ने यस ठाउँ बागलुङको मुख्य पर्यटकीय गन्तव्य बराह तालको छेउमै छ ।

भौगोलिक हिसाबले निकै विकटमा रहेको हुँदा मुठाचौरमा अहिलेसम्म मोटरबाटो पुग्न सकेको थिएन । यस वर्ष बल्ल यहाँ सडक पुगेको छ । पर्यटकीय हिसाबले भने निकै मनोरम रहेको मुठाचौर पुग्ने जोकोही यहाँबाट देखिने दर्जनौँ हिमश्रृङ्खला र अनेकौँ दृश्यले लोभिने गर्दछन् ।
प्राकृतिक सुन्दरताले भरिएको मुठाचौरमा करिब दुई सय घर परिवार बसोबास गर्दै आइरहेका छन् । हरेक वर्ष स्थानीय चार महिना मुठाचौरमै बस्ने गर्छन् भने बाँकी समय कटेरी, भयरभबोङ्गा गाउँमा झर्ने गर्छन् । सेवा सुविधा नपुग्दा घुम्ती बसाइँ गर्ने स्थानीय अब मुठाचौरमै बस्ने छन् । गण्डकी प्रदेश सरकारले विनियोजन गरेको ५० लाख रुपैयाँले मुठाचौरमा सडक पुर्‍याइएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताउनुभयो । उहाँका अनुसार मुठाचौरसँगै बराहतालसम्म सडक पुर्‍याइएको छ ।

“तमानखोला भौगोलिक रुपमा विकट छ, धेरै बस्तीहरुमा हामी निर्वाचित भएर आएपछि सडक पुर्‍याइसकेका छौँ, मुठाचौर र बराहतालमा पुर्‍याउन सकेका थिएनौँ, यस वर्ष गण्डकी प्रदेश सरकारले विनयोजन गरेको बजेटबाट सडक निर्माण गर्‍यौँ,” अध्यक्ष बुढा मगरले भन्नुभयो- “अब स्थानीय र बराह तालमा आउने पर्यटकलाई सहज हुने छ, यो ठाउँ निकै मनोरम हुँदा पर्यटकीय गन्तव्य बन्न सक्छ भने उत्पादनका हिसाबले निकै संभावना बोकेको छ, अब यसको प्रवद्र्धन गर्न तर्फ योजना बनाएर लाग्छौँ, यस वर्ष सडकले जोड्यौँ, अब खानेपानी र विद्युतको पनि व्यवस्थापन गर्छौँ ।”

यस अघि गाउँपालिकाले कोलचेप्पासम्म सडक पुर्‍याएको थियो । अहिले कोलचेप्पादेखि करिब एक किलोमिटर सडक निर्माण गरेर मुठाचौर हुँदै बराह ताल पुर्‍याएको हो । यहाँका स्थानीयको मुख्य पेसानै पशुपालन र खेतिपाती हो । मुठाचौर प्राकृतिक रुपले सुन्दर भए पनि सडक, विद्युतल गायत विकासका पूर्वधारले जोडिन नसक्दा अहिलेसम्म ओझेलमा परेको स्थानीय ढालेन्द्र छन्त्यालले बताउनुभयो । बर्खाको समयमा यहाँ बस्ने स्थानीय अँध्यारोमै बस्न बाध्य रहेको भन्दै बजारबाट सामान पनि मान्छेलेनै बोकेर ल्याउने गरेको उहाँको भनाई छ ।

ADVERTISEMENT

अब गाडी चल्न थालेपछि वर्षौँदेखिको स्थानीयको समस्या समाधान हुने उहाँ बताउनुहुन्छ । मुठाचौरभन्दा केही तल रहेको कटेरी गाउँसम्म भने मोटरबाटो, बिजुलीको पहुँच पुगेको उहाँको भनाइ छ । यहाँ विकासले छुन नसक्दा पुर्खौँदेखि स्थानीय घुम्ती बसाइँ गर्न बाध्य भएको उहाँ बताउनुहुन्छ । मुठाचौरमा सडक पुगेपछि स्थानीय हर्षित भएका छन् । अब मुठाचौरले मुहार फर्ने छन्त्यालको भनाई छ ।

उहाँ भन्नुहुन्छ- “यस ठाउँका मान्छेलाई जस्तो दुःख अरुलाई थिएन, विकास नहुँदा लेक बेसी गरेर बस्नु पर्ने बाध्यता थियो, अहिले बल्ल सडक आयो, सडक राम्रो भयो र गाडी चल्न थाले भने यो ठाउँ पनि राम्रो बन्ने छ, पर्यटक आउन थाल्ने छन्, गाउँलेको जनजीवनसमेत फेरिने छ, अहिले मान्छेहरु विकास खोज्दै बजार गएका छन्, भोलीका दिनहरुमा उनीहरु गाउँ फर्किएर यही ठाउँमा आउने छन् ।”

स्थानीय खीमा रसाइलीले अब आफूहरुको दुःखका दिन हराउने भन्दै खुसी व्यक्त गर्नु भयो । सबै गाउँमा मोटर गुड्दा अहिले बल्ल मुठाचौरमा मोटरबाटो आएको भन्दै अब दैनिक उपभोग्य सामान थाप्लोमा बोकेर खान नपर्ने उहाँ बताउनुहुन्छ । अब सडक आएपछि यात्रा गर्न र सामान ढुवानी गर्न सहज हुने भए पनि खानेपानी र विद्युतको समस्या उस्तै रहेको रमाइलीले बताउनुभयो । विद्युत नहुँदा आफूहरु वर्षौंदेखि अँध्यारोमा बस्न बाध्य रहेको र पानी पोखरी र कुवाबाट लिएर उपभोग गरेको बताउनुहुन्छ ।

“ठाउँ राम्रो भएर मात्रै नहुने रैछ, विकास चाहिँदो रहेछ, यहाँ विकास हुन नसक्दा यहाँ बस्ने बर्खाको समयमा मात्रै हो, बर्खामा सबै सामान बजारबाटै ल्याउनु पर्छ, हिलोले गर्दा घोडा खच्चड पनि हिँड्न सक्दैनन्, त्यसले गर्दा मान्छेलेनै नुन, तेल र चामल बोकेर ल्याउनु पर्छ, अहिले सडक आयो अब बोक्नु पर्ने बाध्यता हट्ने छ,” रसाइलीले भन्नुभयो- “सडक आयो अब, खानेपानी र बिजुली बत्ती आयो भने बाह्रै महिना यही बस्न सकिने थियो, अहिलेसम्म आकाशबाट आएको र पोखरीको पानी खाँदै आएका छौँ, सडक आएपछि अब अरु विकास पनि होला भन्ने आश लागेको छ ।”

गाउँपालिकाले कटेरी गाउँ हुँदै कोलचेप्पासम्म अघिल्लो वर्ष सडक पुर्‍याएको थियो । यस वर्ष बराहतालसम्मै सडक पुग्ने छ । सडकले मुठाचौरको विकास र बराह तालको प्रवर्द्धनका लागि टेवा पुग्ने रमाइलीको भनाइ छ । सडक हुँदा पनि आन्तरिक पर्यटकहरु मुठाचौर र बराह तालमा घुम्न आउने गरेको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज