म्याग्दी । उपल्लो मुस्ताङको ऐतिहासिक सांस्कृतिक महत्व बोकेको तिजी पर्व विहीबार (हिजो) सम्पन्न भएको छ । चीनसँग सीमाना जोडिएको लोमान्थाङ गाउँपालिकाको केन्द्र लोमान्थाङमा तीजी पर्व सम्पन्न भएको हो ।
पन्ध्रौं शताब्दीदेखि उपल्लो मुस्ताङका लोवा, विष्ट, गुरुङ लगायतका जातिले तिजी पर्व मनाउँदै आएका छन्। उपल्लो मुस्ताङको घमी, चराङ, सुरखाङ, लोमान्थाङ, छोसेर र छोन्हुपका स्थानिय साँस्कृतिक भेषभूषामा एक ठाउँमा भेला भई पुजापाठ र नाचगान गर्दै यो पर्व मनाउने गर्दछन् ।
यस पर्वमा शुभकामना साटासाट गर्दै विश्वशान्तिको कामना गरिन्छ । स्थानिय भेषभूषा, साँस्कृतिक झाँकी, लामा नाच र मुकुट नाच, यस पर्वको मुख्य आकर्षण हुन् । ऐतिहासिक तीजी पर्व अवलोकन तथा सांस्कृतिक नृत्यमा रमाउन स्वदेशी तथा विदेशी पर्यटक लोमान्थाङ पुगेका थिए ।
तिजी पर्व लोमान्थाङको प्रमुख पर्व हो । मंगलवारदेखि सुरु भई तीन दिनसम्म चलेको यस पर्व (मेला) विहीबार (हिजो) सम्पन्न भएको हो ।
यो पर्वको पहिलो दिन मुस्ताङी राजाको लोमान्थाङ दरबार अगाडिको प्रांगणमा लोमान्थाङ स्थित छोदे गुम्बाका लामा तथा भिक्षुले देवीदेवताको पूजापाठ र धार्मिक नृत्य प्रस्तुत गरेका थिए । विभिन्न देवीदेवता र राक्षसको मुकुट पहिरिएर लामाहरुले गर्ने यो नृत्य यस क्षेत्रकै सबैभन्दा पुरानो नृत्य भएको लोमान्थाङकी शिक्षिका सरला नेपालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार यो धार्मिक नृत्य हो । यो नृत्य अवलोकन गर्नाले मोक्ष प्राप्ति हुने स्थानीय जनविश्वास रहेको उँहाले बताउनुभयो । तिजी पर्वको पहिलो दिन लोमान्थाङ दरबार परिसरमा बौद्ध धर्मका विभिन्न देवीदेवता र रिम्पोछेको विशाल थान्का प्रर्दशन गरिएको थियो । यो थान्का तिजी पर्वको दिनमा मात्र सार्वजनिक गर्ने चलन रहेको लोमान्थाङका आम्ची घ्याचो बिष्टले जानकारी दिनुभयो । पर्वको दोस्रो, तेस्रो तथा अन्तिम दिनमा विभिन्न किसिमका सांस्कृतिक नृत्यहरु प्रर्दशन गरिएको थियो ।
ऐतिहासिक तथा धार्मिक तिजी पर्व दोर्जी सुनुको पुनर्जन्म अर्थात बज्रकिलाको जीवक कथासँग सम्बन्धित छ । सुनुले पुनर्जन्म प्राप्त गरी राक्षसको भय र हिंसा अन्त्य गरेको खुसीयालीमा शान्तिको प्रतीकको रुपमा तिजी पर्व मनाउने चलन रहेको विष्टले जानकारी दिनुभयो ।
तिजी हेर्न देश विदेशबाट आएका लोमान्थाङवासी, आन्तरिक पर्यटक र विदेशीहरुले लोमान्थाङ खचाखच भरिएको लोमान्थाङबाट सरला नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार तिजी पर्वका लागि लोमान्थाङ सरसफाई गरेर सजावट गरी चिटिक्क पारिएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता