बार्सिलोना ला लिगा च्याम्पियन

Read Time = 4 mins

बार्सिलोना । बार्सिलोना स्पेनिस ला लिगाको च्याम्पियन बनेको छ । स्पान्योललाई आइतबार राती ४-२ ले पराजित गर्दै बार्सिलोना चार खेल बाँकी रहँदै लिग च्याम्पियन बन्ने पक्का भएको हो । आरसिडिई स्टेडियममा भएको खेलमा बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले दुई तथा एलेक्स बाल्डे र जुल्स कुन्डेले समान एक-एक गोल गर्नुभयो । स्पान्योलका जेभिएर पुएडो र जोसेलुले एक/एक गोल फर्काउनुभयो ।
खेलको ११औँ मिनेटमा लेवान्डोस्कीको गोलबाट बार्सिलोनाले १-० को अग्रता बनायो । २०औँ मिनेटमा बाल्डेले पेड्रीको पासमा गोल गर्दै अग्रता दोब्बर पार्नुभयो । ४०औँ मिनेटमा लेवान्डोस्कीले तेस्रो गोल गर्नुभयो ।

५३औँ मिनेटमा जुल्स कुन्डेले फ्रान्की डि जोङको पासमा गोल गर्दै बार्सिलोनालाई ४-० ले अघि बढाउनुभयो । त्यसपछि स्पान्योलले खेलमा फर्कने संकेत दियो । ७३औँ मिनेटमा जेभिएर पुएडोले र इन्जुरी समयमा जोसेलुले गोल गर्दै खेललाई ४-२ को स्थितिमा ल्याउनुभए पनि हार भने टार्न सक्नुभएन ।

यस जितसँगै बार्सिलोनाको ३४ खेलबाट ८५ अंक पुगेको छ । बार्सिलोनाले दोस्रो स्थानको रियल म्याड्रिडलाई १४ अंकले पछि पारेको छ । अब बार्सिलोनाले सबै चार खेलमा हार र रियलले सबै चार खेलमा जित निकाले पनि नतिजा बदलिने छैन । पराजित स्पान्योल ३४ खेलबाट ३१ अंक जोडेर १९औँ स्थानमा छ ।

जाभी हर्नान्डेज नोभेम्बर २०२१ मा प्रशिक्षक बनेपछि बार्सिलोनाले पहिलोपल्ट ला लिगाको उपाधि जितेको हो । बार्सिलोनामा जाभीले १७ वर्ष खेलाडीका रूपमा बिताउनुभएको थियो । त्यसक्रममा उहाँले आठ ला लिगा उपाधि जित्नुभएको थियो । हाल खेलाडीसँगै प्रशिक्षकका रूपमा पनि उहाँले ला लिगाको उपाधि जित्नुभएको छ ।

ADVERTISEMENT

बार्सिलोनामा १८ सिजन बिताइसक्नुभएका कप्तान सर्जियो बुस्केट्सले पनि उपाधिसँगै क्लब छाड्ने घोषणा गर्नुभएको छ । ३४ वर्षीय बुस्केट्सको यो बार्सिलोनाबाट नवौँ ला लिगा उपाधि हो ।

यता, इटालियन सिरी ‘ए’ मा युभेन्ट्सले क्रेमोनेसलाई २-० ले पराजित गर्‍यो । युभेन्ट्सको जितमा निकोलो फागिओली र ग्लेइसन ब्रेमेरले गोल गर्नुभयो । ५५औँ मिनेटमा निकोलो फागिओलीको गोलबाट युभेन्ट्सले अग्रता लियो । ७९औँ मिनेटमा ग्लेइसन ब्रेमेरले दोस्रो गोल गर्नुभयो ।

यस जितसँगै युभेन्ट्स दोस्रो स्थानमा उक्लिएको छ । युभेन्ट्सको ३५ खेलबाट ६९ अंक पुगेको छ । पराजित क्रेमोनेस २४ अंक जोडेर १९औँ स्थानमा रहँदा रेलिगेसनको खतरा बढेको छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?