जिल्ला अस्पतालको स्तरोन्नतिमा पुतलीबजारका मेयरको प्रतिबद्धता

युवराज पौडेल स्याङ्जा, संवाददाता
युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 4 mins

स्याङ्जा । स्याङ्जा पुतलीबजार नगरपालिका प्रमुख तुलसीराम रेग्मीले जिल्ला अस्पताल स्याङ्जाको स्तरोन्नति तथा सेवा क्षेत्र विस्तार गर्ने कुरामा आफू निरन्तर लागिरहेको बताउनु भएको छ ।

नेपाल शिक्षक सङ्घ पुतलीजारले आयोजना गरेको जिल्ला अस्पताल स्याङ्जामा भर्ना भएर बसेका बिरामीहरूलाई शनिबार फलफूल वितरण गर्ने कार्यक्रममा मेयर रेग्मीले उक्त कुरा बताउनुभएको हो ।

कार्यक्रममा बोल्दै पुतलीबजार नगरपालिका प्रमुख तुलसीराम रेग्मीले जिल्ला अस्पताल स्याङ्जामा नेपाल रेडक्रससँग समन्वय गरेर ब्लड बैङ्कको व्यवस्था गरिएको बताउनुभयो । 'बिरामीहरू रगतकै कारण बाहिर जानुपर्ने अवस्था थियो, हामीले नेपाल रेडक्रससँग समन्वय गरेर यसको अन्त्य गरेका छौं ।' उहाँले भविष्यमा पनि यस अस्पतालको स्तरोन्नतिमा नगर प्रमुखको तर्फबाट आफू अस्पताल सञ्चालक समितिसँग समन्वय गरेर प्रदेश र केन्द्रमा पनि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले अस्पताल सञ्चालक समितिका अध्यक्ष इन्द्र गोदारले अक्सिजन प्लान्टको सुधार, ब्लड बैङ्कको स्थापना, मृगौलाका बिरामीहरूलाई डाइलाइसिसको व्यवस्था लगायतका काम गर्न सफल भएको बताउनुभयो । 'जिल्ला अस्पताल स्याङ्जामा अब एम्बुलेन्स आवश्यक छ, अहिले रहेको एम्बुलेन्स वास्तवमा एम्बुलेन्स होइन र यो बिरामीका लागि उपयुक्त छैन ।' गोदारले अस्पतालको क्षमता अभिवृद्धि गरेर सबै प्रकारका सेवाहरू उपलब्ध गराउनका लागि आफूले प्रयास गरिराखेको जानकारी दिनुभएको थियो ।

ADVERTISEMENT

हाल जिल्ला अस्पताल स्याङ्जामा ९ जना एमबिबिएस डाक्टर कार्यरत छन् । ७ जना करार दरबन्दीमा छन् । १५ बेड भएको अस्पतालमा हाल ५६ बेड बनाइएको अध्यक्ष गोदारले बताउनुभयो । हाल अस्पतालमा ७८ जना कर्मचारी रहेका छन् । यीमध्ये १३ जना मात्र स्थायी दरबन्दी रहेको उहाँले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा पुतलीबजार नगरपालिकाकी उपमेयर देवी अर्याल, पुतलीबजार काङ्ग्रेसका सभापति सुरज कुमारअधिकारी, शिक्षक महासङ्घ स्याङ्जाका कार्यवाहक अध्यक्ष वन्दना लम्साललगायतको उपस्थिति थियो ।

कार्यक्रममा नेपाल शिक्षक सङ्घ पुतलीबजारका सभापति लेखनाथ शर्मा जिल्ला अस्पताल स्याङ्जाका अध्यक्ष इन्द्र गोदार, नेपाल शिक्षक सङ्घका पूर्व अध्यक्ष मुक्ति रेग्मीलगायतले बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज