घरसँगै जले तमानखोला हिजाका गोतामेका सपना

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 5 mins

बागलुङ । एक साता अगाडि तमानखोला गाउँपालिका–१ हिजाका फारम गोतामे घर छेउको बारीमा काम गर्दै हुनुहुन्थ्यो । काम गर्दै गर्दा एक्कासी घरमा धुवाँसहित ठूलो आगोको मुस्लो देखियो । गोतामे चिच्याउँदै आफन्तलाई गुहार माग्दै आगो निभाउँन लाग्नु भयो । तर उहाँको तागतले भ्याएन । एकै छिनमा हेर्दा हेर्दा घर खरानीमा बदलियो । घरसँगै आगोले भएभरका भाँडाकुँडा, लत्ता कपडा र खानेकुरा सबै जलेर नष्ट भयो । आगोको मुस्लोबाट उहाँले कुनै पनि सामान बचाउन सक्नु भएन ।

आर्थिक अवस्था निकै कमजोर रहेका गोतामेको घरसँगै बास, गास र कपास सबै जलेर खरानी बन्यो । दिनभरी घरको आँगनमा आराम गरि राख्नु भएका गोतामे साँझ पख घरविहीन हुनुभयो । आगोमा जलेर उहाँले फर्ने एक जोड कपडा पनि रहेनन् । अहिले उहाँकी श्रीमती, कान्छि बुहारी र नातिनतिना पुरानै कपडामा हुनुहुन्छ । घरविहीन हुनु भएका गोतामे परिवार अहिले आफन्तकोमा आश्रय लिएर बस्नु भएको छ । तमानखोला गाउँपालिकाले आगालागीमा सबै नष्ट भएको थाहा पाएपछि तत्कालै राहतका सामग्रीहरु उपलब्ध गराएको थियो । ति सामग्री बाहेक उहाँसँग अरु केही छैन ।

६५ वर्षीय गोतामे सम्पत्तिका नाममा अब दुई मुरी मकै र जौँ फल्ने पाखो बारी बाहेक अरु केही छैन । सात भाइबहिना यही घरमा पाल्ने, हुकाउने र पढाउने गर्नु भएका गोतामेको यही घरमै अन्तिम श्वास फेर्ने धोको थियो । तर उहाँको त्यो इच्छा अब पुरा हुने भएन । आगोले आफ्नो जिन्दगी भरीको कमाई एकै छिनमा खरानी बनाइदिएको उहाँ बताउनुहुन्छ । ढुङ्गा र काठेले बनेको उक्त घर आफूले निकै ठूलो मेहनत गरेर बनाएको गोतामेको भनाई छ । उहाँले घरमा के कसरी आगो लाग्यो भन्ने पत्ता नलागेको सुनाउनुभयो ।

“मेरो बुढी र कान्छि बुहारीले बारीमा जौँ काट्दै थिए, मैले पनि बारीमै काम गरि राखेको थिए, केटाकेटीहरु स्कूलबाट आएर खाजा खाँदै थिए, एक्कासी घरमा आगो दन्किएको देखेँ, कसरी लाग्थ्यो थाहै भने, म गरिब मान्छेमाथि ठूलो बज्रापात प¥यो, अब कहाँ बस्ने ?, के खाने ?,” गोतामेले भन्नुभयो– “खाइनखाई दुःख गरे घर बनाए, यो त मेरो जिन्दगी भरीको कमाई हो, अहिले आफन्तको घरमा बसेको छु, आफन्तको घरमा बसेर कति दिन चल्छ र ?”

ADVERTISEMENT

उहाँले अहिले एक जोड फर्ने कपडा पनि हुँदै पुरानै मैला कपडामा बस्नु परेको दुखेसो पोख्नुभयो । गोतामेका सात भाइबहिनी छोराछोरी भए पनि अहिले सबैले विवाह गरि आ–आफ्नो घरमा छन् । उमेरले नेटो काट्दै गएको भन्दै गोतामेले अब आफूले घर बनाउन सक्ने अवस्था नभएको सुनाउनुभयो । आगलागीमा करिब २० लाख बराबरको क्षति भएको उहाँको भनाई छ । आफू ठूलो समस्यामा परेको भन्दै सहयोगको अपिलसमेत गोतामेले गनुभयो ।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले अग्नी पीडित गोतामेलाई तत्काल आवश्यक सामग्रीहरु उपलब्ध गराएको भन्दै अन्य सहयोग पालिकाबाट हुने बताउनुभयो । उहाँले भौगोलिक विकटताका कारण समय समयमा यस क्षेत्रमा प्राकृतिक प्रकोपसँगै अन्य घटनाहरु हुने गरेको भन्दै पालिकाले नागरिकको सुरक्षाका लागि काम गरि रहेको बताउनुभयो ।

अध्यक्ष बुढा मगर भन्नुहुन्छ– “आगलागीमा घर सबै जलेर नष्ट भएको छ, ओड्ने बिच्याउने र लत्ताकपडा केही पनि जोगाउन सक्नु भएनछ, हामीहरुले जानकारी पाउँदा साथ पालिकाबाट केही खाद्यन्न सामग्री र केही कपडा राहत स्वरुप दिएका छौँ, अन्य सहयोग पालिकाले दिन सक्ने हामी उपलब्ध गराउँछौँ, अहिले उहाँहरुलाई केही समयका लागि आफन्तको घरमा बस्ने व्यवस्था मिलेको छ, यो समय हावाहुरी चल्ने हुँदा आगलाहीको जोखिम उस्तै छ, यसबाट अन्य स्थानीय पनि सहज रहन जरुरी छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज