धादिङ । धादिङको धार्केमा एकतर्फी मात्र सवारी सञ्चालनमा आएको छ । आज विहिबार पनि एकतर्फी सवारी सञ्चालन हुँदा गाडीको लामो चाप रहेको छ । अहिले उक्त खण्डमा २ सयको हाराहारीमा गाडीको लाइन रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयो ।
बैशाख १८ गते सोमबार दिउँसो ४ बजे धादिङको धुनिबेशी नगरपालिका-६ र थाक्रे गाउँपालिका-८ को सिमाना जोड्ने गणेश पुलमा सडक भासिएपछि सडक अहिले अस्तव्यस्त भएको छ । राजधानी भित्रिने मुख्य सडक नै भासिएपछि सोमवारदेखि राजमार्गमा नियमित सवारीसाधन चल्न सकेका छैनन् । एककतर्फी रूपमा आंशिक सडक खुलाइए पनि सवारीसाधनको अत्यधिक चापका कारण यात्रुहरुले सास्ती खेपिरहेका छन् ।
जैसवारका अनुसार बिहानैदेखि मुसलधारे पानी परेसँगै आज उक्त सडक खण्ड कुन बेला के हुने हो यकिन गर्न सकिने अवस्था भने छैन् । मुसलधारे पानी परिरहेको छ, बाटो हिलाम्मे र चिप्लो छ, कुन बेला कहाँ के हुन्छ भन्न सकिने अवस्था छैन् । सुरक्षा निकायलाई हामीले तैनाथ अबस्थामा खडा गरेका छौं ।” राजधानी प्रवेश गर्ने मुख्य नाका नागढुङ्गासँग जोडिएको मुख्य राजमार्गमा दैनिक हजारौँ गाडी आवतजावत गर्ने गर्छन् । जसले गर्दा उक्त सडकमा एकतर्फी हुँदा चाप झनै धेरै हुन्छ ।
सोमबार पुल भासिएर अवरुद्ध भएको सडक खण्ड १८ घण्टापछि सडक मर्मत गरेर एकतर्फी खुलाइए पनि बुधवार दिउँसो १२ बजेतिर फेरि अर्को भ्वाङ परेपछि दुईतर्फी नै गाडी रोकिएका थिए । २ घण्टा अवरुद्ध राजमार्गको मर्मत पछि एकतर्फी सडक खुलेको छ । तर उक्त सडक खण्डको दुईतर्फी सञ्चालन आउने कुरा भने अत्तोपत्तो नै छैन् । दुईतर्फी सडक खुलाउन गएको सोमवारदेखि नै नेपाली सेना र सडक विभागका कर्मचारी तथा इञ्जिनियरहरु खटिरहेका छन् । मर्मत कार्य जारी रहेकाले सडक दुईतर्फी नै खुल्न समय लाग्नेछ ।
एकतर्फी सडक खुले पनि जोखिम भने टरेको छैन । उता प्रहरीले भने सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न यात्रुहरुलाई आग्रह गरेको छ । पूर्व-पश्चिमबाट काठमाडौ भित्रिने र काठमाण्डौबाट बाहिरिने गाडीले हेटौँडा-काठमाडौ र काठमाडौ-नुवाकोट-गल्छीको बाटोलाई वैकल्पिक बाटोको रूपमा प्रयोग गर्न सक्नेछन् ।
धादिङ, नुवाकोट र रसुवाबाट काठमाडौ भित्रिने र बाहिरिने गाडीले नुवाकोटको त्रिशूलीबाट छहरे-ढिकुरेको सडक र पूर्व-पश्चिमबाट काठमाडौ आउजाउ गर्नेले हेटौँडा हुँदै दामन-पालुङबाट नौबिसे निस्कने बाटो प्रयोग गर्न प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता