रामपुर नगरपालिकाद्वारा मजदुरको दुर्घटना बीमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 7 mins

रामपुर (पाल्पा) । मजदुरको हकहित र सुरक्षाका लागि रामपुर नगरपालिकाले दुर्घटना बीमा कार्यक्रम ल्याएपछि मजदुर खुसी भएका छन् । घर तथा भवन निर्माणको क्षेत्रमा दैनिक जोखिम मोलेर काम गर्दै आएका मजदुरको सुरक्षालाई दृष्टिगत गर्दै नगरपालिकाले मजदुर बीमा कार्यक्रम सुरु गरेको हो ।

रामपुर नगरपालिकाले पूर्वी पाल्पा मजदुर व्यवस्थापन समितिसँग समन्वय गरेर संस्थागतरुपमा मजदुरको बीमा गरिदिएको छ । बीमा कार्यक्रमले मजदुरलाई राहत पुगेको रामपुर-५ कृषि टोलका श्यामकुमार श्रेष्ठ बताउनुहुन्छ । उहाँ यस क्षेत्रमा विगत सात वर्षदेखि घर तथा भवन निर्माण क्षेत्रमा श्रम गर्दै आउनुभएको छ । केही समयअघि काम गर्ने सिलसिलामा देब्रे हातको हत्केलामा चोट लागेर घाइते हुनुभयो । उहाँको सबै उपचार खर्च नगरपालिकाले बीमामार्फत बेहोर्ने भएपछि आफूलाई उपचारमा आर्थिक भार नपरेपछि खुसी हुनुुहुन्छ ।

“काम गर्ने सिलसिलामा हामी श्रमजीवी मजदुर वर्गलाई चोट पटक लागेमा सामान्य उपचार गर्न समस्या हुन्थ्यो, दैनिक मजदुर गरेर परिवारको पालनपोषण गर्नैपर्‍यो, बीमा गरेपछि उपचार खर्च मजदुरले बेहोर्न परेन, नगरपालिकाले ल्याएको बीमा कार्यक्रम हामी मजदुरको लागि अत्यन्तै राम्रो छ, बीमाले ढुक्कको अनुभूति भएको छ”, उहाँले खुसी हुँदै भन्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले हालसम्म रामपुरभित्र कार्यरत पाँच सय ४३ मजदुरको दुर्घटना बीमा गरिएको बताउनुभयो । निर्माणको क्रममा तोकिएको पारिश्रमिक नपाएको खण्डमा मजदुर व्यवस्थापन समिति तथा स्थानीय निकायले सम्बन्धित निर्माण व्यवसायीलाई खबरदारी गर्ने न्यौपाने बताउनुहुन्छ ।

घर तथा भवन निर्माणको क्षेत्रमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई २०७९ सालको जेठदेखि नगरपालिकाले प्रतिव्यक्ति रु तीन लाख बराबरको दुर्घटना बीमा कार्यक्रम सुरु गरेको नगर प्रमुख रमणबहादुर थापा बताउनुहुन्छ ।

“जोखिम मोलेर दैनिक ठूला ठूला घर तथा भवन निर्माणमा श्रम गर्ने मजदुरको सुरक्षाका लागि गत वर्षदेखि दुर्घटना बीमा सुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “नगरपालिकाले श्रमिक ऐन नीति नियम बनाउने तयारी गरेको छ, मजदुरको हकहितका लागि नगरपालिकाभित्र ऐन बनाएर काम गर्नेछौँ ।”

ADVERTISEMENT

मजदुरको हकहित र अधिकारको लागि २०७२ सालमा पूर्वी पाल्पा मजदुर व्यवस्थापन समिति स्थापना गरी मजदुरका समस्यामा विभिन्न कार्य संस्थागत भइरहेका छन् । यस कार्यले मजदुर सङ्गठित हुन थालेका छन् । संस्था स्थापना भएपछि समितिले मजदुरको जोखिम कार्यलाई मध्यनजर गर्दै रु एक लाखसम्मको दुर्घटना बीमा कार्य सुरु गरेको थियो । ठूला दुर्घटनालाई मध्यनजर गर्दै मजदुरले ठूलो रकम खर्च गरेर उपचार गर्न नसक्ने हुँदा नगरपालिकासँग समन्वय गरेर रु तीन लाख बराबरको बीमा कार्यक्रम समितिले सञ्चालन गरिरहेको समितिका अध्यक्ष नीलकण्ठ भण्डारी बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “सानातिना दुर्घटनाका उपचार खर्च समितिले रु एक लाखसम्म गरिदिएको बीमाले पुग्ने गरे पनि ठूला घटनालाई बाँकी रकम मजदुर आफैँले जुटाउनुपर्दा उपचारमा समस्या भयो, दैनिक ज्यालादारीले बिहान साँझको जीविका धान्न धौँ धौँ पर्ने मजदुर आर्थिक अभावमा उपचार पूरा गर्न नपाएर बस्नु नपरोस् भनी समितिले आग्रह गरेबमोजिम नगरपालिकाको सहयोगमा कार्यक्रम सञ्चालन भइरहेको छ” ।

समितिले सुरु गरेको दुर्घटना बीमा कार्यक्रममार्फत हालसम्म ७० मजदुरले लाभ लिएका छन् । कामको आधारमा एक दिनको न्युनतम रु छ सय ५० देखि बढीमा एक हजार दुई सय ज्याला समितिले तोकिदिएको छ । तोकेअनुसारको समितिले ज्याला नपाएमा तत्काल समितिले सम्बन्धित निर्माण व्यवसायीलाई कायम गरिएको ज्याला तथा पारिश्रमिक उपलब्ध गराउन निर्देशन दिने गरिएको छ ।

समितिले कोभिड-१९ को महामारीमा चार सय मजदुरको परिवारलाई राहत वितरण, विभिन्न ठाउँ-ठाउँमा मजदुरको हकहितसहितको सचेतनामूलक सूचनापाटी, राम्रो कार्य गर्नेलाई प्रोत्साहन, घर तथा भवन निर्माणको क्षेत्रमा कार्यरत मजदुरले काम नराम्रो गरेको पाइएमा स्थानीय सरकारलाई खबरदारी गर्नेलगायतका विभिन्न कार्य गरिरहेको छ ।

समितिमा स्थापनाका समय एक सय १७ मजदुर आबद्ध रही संस्था सुरुआत गरिएको हो । समितिमा आबद्ध पाँच सय ४३ मध्ये हाल करिब ४० प्रतिशत महिला कामदार छन् । महिलाले घर तथा भवन निर्माणको क्षेत्रमा आबद्ध रहेर आफ्नो जीविकोपार्जन, छोराछोरीको पढाइ खर्च धान्दै आइरहेका छन् । अहिले यस संस्थाले यो क्षेत्रमा राम्रो कार्य गरेपछि सदस्य बन्ने क्रम बढिरहेको छ । रामपुर नगरपालिका क्षेत्रमा मात्रै हाल एक हजार पाँच सयको हाराहारीमा मजदुर घर तथा भवन निर्माणको क्षेत्रमा काम कार्यरत छन् ।  रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज