संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघले सत्य र जवाफदेहिताप्रतिको अटुट प्रतिबद्धताका लागि इरानका तीनजना महिला पत्रकारलाई प्रेस स्वतन्त्रता पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । मंगलबार राति गरिएको घोषणा अनुसार गत सेप्टेमबरमा २२ वर्षीया महसा अमिनीले आफ्नो शिर राम्ररी नढाकेको अभियोगमा धार्मिक प्रहरी हिरासतमा लिइएपछि भएको उहाँको मृत्युको खबर सम्प्रेषण गर्ने निलोफर हमेदी महसाको अन्त्येष्टिको समाचार लेख्ने इलाहे मोहम्मदी हुनुहुन्छ । अमिनीको मृत्युपछि इरानका दर्जनौँ शहरमा महिनौंसम्म विरोध प्रदर्शन भएका थिए ।
तेस्रो विजेता नरगेस मोहम्मदी हुनुहुन्छ । इरानमा लामो समयदेखि काम गर्नुभएकी उहाँ प्रेस स्वतन्त्रता र मानवअधिकारकार रक्षाका खातिर वर्षौंदेखि अग्रमोर्चामा रहेर काम गर्नुभएकी अग्रणी पत्रकार हुनुहुन्छ । पुरस्कृत पत्रकारहरू कारागारमा छन् । उनीहरूलाई अमेरिकासँग मिलेर काम गरेको तथा इरानको राष्ट्रिय सुरक्षा प्रतिकूल गतिविधि गरेको अभियोग लगाइएको छ ।
युनेस्कोका महानिर्देशक अड्रे अजौलेले आक्रमण, धम्की र असुरक्षाका बीच पेशाप्रति प्रतिबद्ध भएर लागेका महिला पत्रकारहरू पुरस्कृत भएका बताउँदै उनीहरूलाई इरान सरकारले कारगारमुक्त नगरेसम्म विश्वभरका पत्रकार एवं स्वतन्त्रतापक्षधरले उनीहरूका पक्षमा आवाज बुलन्द गर्नुपर्नेमा जोड दिनुभएको छ ।
संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संगठन (युनेस्को) विश्व प्रेस स्वतन्त्रता पुरस्कार सन् १९८६ को डिसेम्बर १७ मा हत्या गरिएका कोलम्बियाली पत्रकार गुईलेर्मो कानोको नाममा स्थापना गरिएको हो । पत्रकार गुइलेर्मो आफ्नो पत्रिका एल एस्पेक्टाडोरको कार्यालय अगाडि मारिएका थिए । सन् १९८७ देखि हरेक वर्ष मे ३ मा विश्वभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइने गरेको छ । रासस/एपी ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts