काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले शुक्रवार मध्यरातिबाट अन्त्य भएको संसद अधिवेशनमा प्रधानमन्त्री नियुक्ति बाहेकका काम हुन नसकेको बताउनुभएको छ ।
शनिवार माईतीघर मण्डलामा महावीर पुनको आन्दोलनलाई समर्थन गर्न पार्टीको तर्फबाट धर्नास्थल पुग्नुभएका वरिष्ठ उपाध्यक्ष मिश्रले यस्तो बताउनुभएको हो । उहाँले विवेक हराएर निदाएका नेताहरुलाई विवेक जगाउन महावीर पुनले गरेको आन्दोलनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको पूर्ण समर्थन र साथ रहने प्रतिवद्धता जनाउनु भयो । उहाँले सरकारले आविष्कार क्षेत्रमा पर्याप्त बजेट छुट्याउन र कानून निर्माण गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले आविष्कार क्षेत्रलाई प्रवर्द्धन नगरी कुनैपनि देश आर्थिक रुपमा अघि बढ्न नसक्ने पनि स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘विवेक हराएर निदाएका नेताहरुलाई विवेक जगाउन उहाँ रातभर आएर सडकमा सुत्नुभयो । त्यसको धेरै ठूलो प्रतिकात्मक अर्थ छ । उहाँ युवाको प्रेरणाको पात्र हुनुहुन्छ, सरकारले गर्नुपर्ने काम उहाँले गरिरहनुभएको छ । बजेट आउनुअघि सरकारलाई दबाब दिन आविष्कार क्षेत्रमा पर्याप्त बजेट छुट्याउन र कानून निर्माण गर्न दबाब दिनुभएको छ, यो एकदमै राम्रो छ । हामी राप्रपाका सबै साथीहरु उहाँलाई समर्थन गर्न तयार छौँ ।’
वरिष्ठ उपाध्यक्ष मिश्रले अयोग्य लडाकुलाई सीपको सट्टा पैसा बाँड्ने काम कुनै हालतमा सह्य नहुने बताउनु भयो । उहाँले भएका प्राकृतिक सम्पदाको दोहन गर्न बजेट छुट्याउने तर आविष्कारको प्रवद्र्धनका लागि बजेट नछुट्याउनु सरकारको लापरबाही रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अयोग्य लडाकुलाई सीप दिनुको साटो पैसा दिने, देशमा हुनै नसक्ने ठाउँमा डाँडाकाँडा काट्नलाई हुनै नसक्ने ठाउँमा डोजर चलाउन विभिन्न नेताको दबाबमा डाँडा काट्न पैसा दिने, बजेट छर्ने जुन अवस्था देखियो, त्यसको परिप्रेक्ष्यमा उहाँको माग सान्दर्भिक छ । आविष्कार क्षेत्रलाई प्रवद्र्धन नगरी कुनैपनि देश आर्थिक रुपमा अघि बढ्न सक्दैन । सबै राजनीतिक दलका नेताहरु पनि यहाँ आउनुपर्छ । चलेको संसदमा प्रधानमन्त्री नियुक्ति गर्ने बाहेक कुनै काम भएन । वार्ताबाट अहिले यो विषय कसरी उजागर हुन्छ ।’
राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले राखेका मागहरुको समर्थन गर्नका लागि राप्रपाका पूर्वअध्यक्ष डा.प्रकाशचन्द्र लोहनीसहितका नेताहरु माईतीघर पुग्नुभएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements