कोरोनाका कारण लामो समय सुनसान तानसेन, महोत्सवले बढायो चहलपहल

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 7 mins

पाल्पा । लामो समय कोरोना महामारीका कारण सुनसान बनेको पाल्पाको सदरमुकाम तानसेनमा विहीबारदेखि भने केही चहलपहल देखिएको छ । पाँच वर्षपछि सञ्चालन भएको पाल्पा महोत्सवका कारण यहाँ चहलपहल देखिएको हो ।

बच्चाबच्ची, बूढाबूढी, युवा र युवती, सबैको लागि पाल्पा महोत्सव उत्सवमय बनेको छ । गाउँ–गाउँबाट मेला अवलोकनका लागि विभिन्न व्यक्तिहरुले समय मिलाएर तानसेन आएका छन् । लामो समयको कोरोना महामारीले सुनसान बनेको तानसेन फेरि एक पटक गुञ्जायमान बनेको छ । तानसेनको टुँडिखेल दुलहीझैँ सिँगारिएको छ भने मानिसहरुको चहलपहल बढ्दो छ । पाल्पा उद्योग वाणिज्य संघको आयोजनामा पाल्पामा पहिलोपटक २०६० मा सुरु भएको मेला महोत्सवले अहिले पनि निरन्तरता पाएको हो । ‘सम्मानित निजी क्षेत्रः समुन्नत नेपाल, हामी सबैको उत्सव, पाल्पा महोत्सव’ भन्ने मूल नाराका साथ पाल्पा उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको १३ औं व्यापार महोत्सव विहीबारदेखि सुरु भएको छ ।

महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगततर्फका उपाध्यक्ष हेमराज ढकालले उद्घाटन गर्नुभएको हो । महोत्सवको उद्घाटन गर्दै प्रमुख अतिथि ढकालले कोरोना महामारीका कारण सुस्ताएको व्यापारलाई चलाएमान बनाउन महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताउनुुभयो । उहाँले पाल्पालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न स्थानीय सरकारले निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने बताउनुभयो । महोत्सवको पहिलो दिन तानसेनका विभिन्न विद्यालयका विद्यार्थी, टोल विकास संस्था, संघसंस्था, धार्मिक संघसंस्था, व्यापारिक प्रतिष्ठानको सहभागितामा जनचेतनामूलक ¥याली निकालिएको थियो । -यालीले जनचेतनामूलक प्लेकार्डसहित तानसेन नगरको परिक्रम गरेको हो । महोत्सवमा जिल्लामा उत्पादन भएका वस्तु तथा सेवाको प्रदर्शनी, विक्री, वितरण गरिएको छ । मेलामा घरेलु उत्पादनका साथसाथै स्थानीय उत्पादनका स्टल राखिएको छ । मेला हेर्न गाउँ गाउँबाट दर्शकहरु तानसेन आएका छन् । मेलामा पाल्पाली करुवा, रानीमहलको स्वरुप भित्र सचिवालय निर्माण गरिएको छ । जुन आकर्षणको रुपमा रहेको छ ।

पाल्पाको ऐतिहासिक, धार्मिक तथा पुरातात्विक, पर्यटकीय स्थलको प्रचारप्रसार, घरेलु तथा कुटिर उद्योग प्रवद्र्धन, कला संस्कृतिको संरक्षण लागि महोत्सव आयोजना गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक तथा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले बताउनुुभयो । महोत्सवले चौतर्फी व्यवसायमा सहयोग गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । ‘सुस्ताएको व्यवसाय माथि उठाउन महोत्सवले इँटा थप्नेछ,’ उहाँले भन्नुभयो, ‘यसले व्यवसायीबीच सहकार्य गर्ने समेत अवसर दिन्छ ।’ कोरोना महामारीमा पर्यटन क्षेत्र ज्यादै चुनौतीपूर्ण बनेका बेला पुनः यसमा सुुधार ल्याउन महोत्सवले टेवा पुग्ने उहाँले बताउनुुभयो । ‘अब चाहिँ घुमघाम, व्यापार–व्यवसाय गर्ने वातावरण केही सहज भएको रहेछ भन्ने प्रचार गर्न महोत्सव आयोजना गर्न लागेका हौं,’ अध्यक्ष भट्टराईले भन्नुभयो, ‘हामी लामो समयदेखि मेला–महोत्सव आयोजना गर्दै आएका छौं, यसले यहाँको आर्थिक अवस्था चलायमान बनाउन सहयोग पुगेको छ ।’

महोत्सव अवधिभर पाल्पालाई झल्काउने फोटो प्रदर्शनी धार्मिक तथा ऐतिहासिक स्थलको परिचय, काष्ठकला, स्थानीय घरेलु तथा कुटिर उद्योग, कृषि तथा वन्यजन्तु उत्पादनको प्रदर्शनी तथा विक्री राखिएको छ । मेलामा स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरुको प्रस्तुति पनि रहने छ । मेलामा ३ सय स्टल रहेका छन् । महोत्सवबाट २ लाख बढी दर्शकले अवलोकन गर्ने र १० करोड बराबरको कारोवार गर्ने अपेक्षा संघले राखेको छ ।

रानीमलको स्वरुपमा पाल्पाली ढाकाले सचिवालय सजाइएको छ । महोत्सवमा १६ वटा निशुल्क स्टलहरु रहेका छन् । जसमा सुरक्षा निकाय, स्थानीय तह, कृषि, स्वास्थ्य जस्ता क्षेत्रका स्टल रहने महोत्सव प्रचार–प्रसार समितिका संयोजक विदुर घिमिरेले बताउनुुभयो । उहाँका अनुसार महोत्सवमा संघका सदस्यहरु, जेष्ठ नागरिक, फरक क्षमताका व्यक्तिलाई प्रवेश निःशुल्क गरिएको छ । महोत्सव वैशाख १४ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने छ । यस अघि तानसेन नगर सरकारले मेला, महोत्सव गर्न रोक लगाएपछि संघले बतासेडाँडा, श्रीनगर वा बाँसटारी क्षेत्र मध्ये कुनै एक ठाउँमा गर्ने योजना बनाएको थियो । मेला महोत्सवका लागि यी स्थान उपयुक्त नहुँने र टुँडिखेल नै उपयुक्त स्थान रहने भन्दै चौतर्फी आवाज उठेपछि अन्ततः तानसेन नगर सरकारले टुँडिखेलमा महोत्सव गर्न स्वीकृत दिएको हो । नगर सरकारले दुबो संरक्षण गर्ने गरी महोत्सवका लागि अनुमति दिएसँगै संघले महोत्सव टुँडिखेलमा गर्न लागेको हो । रोपेको दुबोको संरक्षणका लागि वरिपरी बारबन्देज गरी टुँडिखेलको सौन्दर्य नबिग्रीने गरी महोत्सव गरिएको छ ।

 

ADVERTISEMENT

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज